२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

स्कटल्याण्ड भ्रमणमा पहिलो खेलमै धक्का : नेपाललाई सुधारको चेतावनी
ब्याटिङमा पुरानै समस्या

बेलायत भ्रमणमा क्लबस्तरीय पाँच अभ्यास खेलमा लगातार जित निकाल्दै आत्मविश्वासले भरिएको नेपालले स्कटल्याण्ड टूरको सुरुवात भने निराशाजनक ढंगले गर्न पुगेको छ । बिहीबार सम्पन्न पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्ड ‘ए’ सँग १ सय २ रनको लज्जास्पद हार बेहोर्दै कमजोर सुरुवात गर्न बाध्य भयो ।


टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ‘ए’ ले वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाएर २ सय २० रन बनायो । उसका लागि कप्तान क्रिस्टोफर म्याकब्राइडले ७२ रनको उत्कृष्ट पारी खेले ।



यस्तै, जिमी डंकले ४८, ओवेन गोल्डले २८ र लियाम नायलरले २५ रन बनाए । नेपालका लागि बलिङतर्फ सोमपाल कामीले ८ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै, रिजन ढकालले दुई तथा गुलशन झा र ललितनारायण राजवंशीले समान एक विकेट हात पारे । 



२ सय २१ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाली टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक रह्यो । नेपाल २९.४ ओभरमै १ सय १८ रनमा समेटियो । आरिफ शेखले ५६ बलमा ४४ रन बनाउँदै केही संघर्ष गरे । 

कप्तान रोहितकुमार पौडेलले १७ र गुलशन झाले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । स्कटल्याण्डका फास्ट बलर जैनुल्लाह इहसानले नेपाली ब्याटिङ लाइन ध्वस्त पार्न मुख्य भूमिका खेले । उनले ५ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । 

इहसानसँगै अन्य बलरले पनि निरन्तर दबाब कायम राख्दै नेपाललाई सहजै अलआउट गर्न सफल भए । 

प्रमुख खेलाडीलाई विश्राम



यो अभ्यास खेलमा नेपालले केही प्रमुख खेलाडीलाई विश्राम दिएको थियो । उपकप्तान दीपेन्द्रसिंह ऐरी, ओपनर आसिफ शेख, तीव्र गतिका बलर करण केसी र लेग स्पिनर सन्दीप लामिछानेजस्ता महत्वपूर्ण खेलाडी मैदानमा थिएनन् । 

सम्भवतः टोली व्यवस्थापनले आगामी महत्वपूर्ण सिरिजलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो । 

पहिलो अभ्यास खेलमा देखिएको कमजोरीले नेपाली टोलीलाई वास्तविक चुनौतीबारे गम्भीर आत्ममूल्यांकन गर्न बाध्य पारेको छ । ब्याटिङतर्फ देखिएको पुरानै समस्या, कमजोर साझेदारी र शीर्ष क्रमको अस्थिरताले स्पष्टरूपमा संकेत गर्छ कि नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न अझ धेरै तयारी आवश्यक छ । यिनै कमजोरीलाई समयमै सुधार गर्दै नेपालले दोस्रो अभ्यास खेलमा सशक्त पुनरागमन गर्ने अपेक्षा गरिएको छ ।

अभ्यास खेललाई केवल प्रयोगात्मक मान्नुभन्दा पनि टोलीले ती अवसरलाई रणनीतिकरूपमा उपयोग गर्नुपर्ने आवश्यकता छ । खेलाडीको व्यक्तिगत प्रदर्शनसँगै टोलीको समन्वय, रणनीति र मानसिक तयारी पनि परीक्षणमा पर्ने समय यही हो ।

आसन्न आइसिसी विश्वकप लिग–२ जस्तो महत्त्वपूर्ण सिरिजलाई मध्यनजर राख्दा नेपालले अहिलेका अभ्यास म्याचलाई पूर्ण गम्भीरता र प्रतिबद्धतासाथ लिनु अत्यावश्यक छ । निरन्तर सुधार र स्पष्ट जिम्मेवारी बोधबाट मात्र नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा स्थायित्व र सफलताको यात्रा तय गर्न सक्छ । 

आगामी खेल तालिका

नेपालले अब स्कटल्याण्ड ‘ए’ सँग दोस्रो अभ्यास खेल शनिबार खेल्नेछ । त्यसपछि टोलीले लिग–२ अन्तर्गतको सिरिज खेल्ने तयारी गरेको छ । लिग–२ श्रसंखलामा नेपालले २ र ८ जुनमा स्कटल्याण्ड तथा ४ र १० जुनमा नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ । जारी लिग–२ मा नेपाल संघर्ष गरिरहेको छ । 

नेपालले १२ म्याच खेल्दासम्म आठमा हार, दुईमा जित र दुई खेलमा अंक बाँडेको छ । नेपाल अहिले ६ अंकका साथ तालिकाको आठौँ स्थानमा छ ।

  • प्रकाशित मिति : १६ जेठ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया