२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

गणतन्त्रका आलोचक सडकमा : विकल्पको खोजी कि वितृष्णाको विस्फोट ?
अवसर खोज्दै राजावादी

गणतन्त्र दिवसकै दिन राजधानीको माइतीघरसम्म आइपुगेको राजावादी आन्दोलनले नेपालको राजनीतिक यात्रा र जनअसन्तोषको स्वर फेरि एकपटक सतहमा ल्याएको छ ।


राजसंस्था पुनःस्थापना, हिन्दु राष्ट्र घोषणा र संघीयता खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाललगायतका राजावादी र हिन्दुवादी समूहले संयुक्त जनआन्दोलन समितिको संयोजनमा सुरु गरेको प्रदर्शन माइतीघरसम्म आइपुगेको छ । किन आन्दोलन भन्ने प्रश्नमा राजावादीको भनाइ छ- गणतन्त्र व्यवस्थाप्रतिको वितृष्णा भएकोले ।



आन्दोलनमा सहभागी भएकाहरूले सरकारका कारण बाध्य भएर सडकमा आउनुपरेको बताएका छन्  । गणतन्त्र फाल्नका लागि सडकमा आएको उनीहरूको प्रतिक्रिया छ । आन्दोलनमा सहभागी रामकुमार रिजालले आन्दोलन राज्यले नै उत्पादन गरेको बताए । उनले देशमा अत्याचार बढेकाले नेपाली जनता सडकमा आएको बताए ।



जनकपुरका विक्रम झा राजतन्त्र हुँदा नेपालमा स्वाधीनता भएको उल्लेख गर्दै गणतन्त्रले देश बिगारेको बताउँछन् । उनले कृषिदेखि भौतिक तथा जीविकोपार्जनमा समेत जनतासँग सरकार नभएकाले गणतन्त्र नचाहिने बताए ।

त्यस्तै, भक्तपुरका नानिराम लामिछानेले गणतन्त्रले नेपालको धन सम्पत्ति, मान मर्यादा, धर्म-संस्कृति सबै नास गरेको आरोप लगाए । यी सबै कुरा जीवित गर्न सडकमा आएको उनको भनाइ छ । 

बानेश्वरबाट सहभागी भएकी सस्मिता सुवेदीले हिन्दु धर्मको लागि एजेन्डा बोकेर सडकमा आएको सुनाइन् । उनले गणतन्त्रवादीले दिएको दुःख, गरेको भ्रष्टाचारका कारण नै सडकमा आउनुपर्ने बाध्यता रहेको बताइन् ।

अर्का सहभागी सोमराज सिंह गणतन्त्रको नाममा भ्रष्टतन्त्र मौलाएको बताउँछन् । अहिलेको गणतन्त्रले देशलाई बेचिसकेको उनले आरोप लगाए ।



झापा बिर्तामोडबाट आएका देवी काफ्लेले गणतन्त्रवादीले जनतालाई सही गणतन्त्रको परिभाषा दिएको भए नेपाली जनता सडकमा आउने अवस्था नहुने बताए । उनले विकासका नाममा लुटतन्त्र फैलिएको बताए ।

राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफूहरूको संयुक्त प्रयास भएको आन्दोलनकारीको भनाइ थियो । प्रदर्शनमा सहभागीहरूले हिन्दु ‘राष्ट्र कायम गर, राजसंस्था कायम गर, भ्रष्ट व्यवस्था चाहिँदैन’ लगायतका नारा लगाउँदै आएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनता मक्किएको गणतन्त्रको पक्षमा नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेताहरूले जनतालाई शोषण गरेको र नेपाली जनता भोकभोकै बस्नु परेको बताउँछन् ।

गणतन्त्रको विकल्प राजतन्त्र हो ? धर्मनिरपेक्षताको विकल्प हिन्दु राष्ट्र हो ? के संघीयता घाँडो नै भएको हो ? राजावादी आन्दोलनले यो मुद्दालाई कहाँ पुर्‍याउँछ र यसमा आम नेपाली जनताको प्रतिक्रिया के होला ? त्यो भने हेर्न बाँकी छ ।

  • प्रकाशित मिति : १६ जेठ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया