इरानले अष्ट्रियाको गुप्तचर निकायले प्रकाशित गरेको आणविक कार्यक्रमसम्बन्धी प्रतिवेदनलाई ‘भ्रामक’ भन्दै तीव्र विरोध जनाएको छ । शुक्रबार तेहरानस्थित अष्ट्रियाका कार्यवाहक राजदूत माइकला पाचेरलाई विदेश मन्त्रालयमा बोलाएर आधिकारिक विरोध प्रस्तुत गरिएको हो ।
अष्ट्रियाली गुप्तचर संस्था डिएसएनले आफ्नो वार्षिक प्रतिवेदनमा ‘इरानको आणविक हतियार विकास कार्यक्रम राम्रोसँग अघि बढिरहेको’ उल्लेख गरेपछि विवाद उत्पन्न भएको हो ।
इरानले भने नागरिक प्रयोजनका लागि मात्रै आणविक कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गर्दै आएको छ । तेहरानले उक्त प्रतिवेदन आइएईएका आधिकारिक रिपोर्टहरूसँग मेल नखाने भन्दै अष्ट्रियासँग स्पष्टीकरण माग गरेको हो ।
आणविक ऊर्जा नियामक निकाय आइएईएका अनुसार इरानले हालसम्म ६० प्रतिशतसम्म युरेनियम संवर्द्धन गरिसकेको छ, जुन हतियारस्तरको ९० प्रतिशतभन्दा तल भए पनि २०१५ को सम्झौताअनुसारको ३.६७ प्रतिशत सीमाभन्दा निकै माथि हो ।
अमेरिका र इरानबीच हाल ओमानको मध्यस्थतामा नयाँ आणविक सम्झौताका लागि वार्ता चलिरहेको छ । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुरानो सम्झौताबाट हात झिकेपछि यो विषय पुनः अन्तर्राष्ट्रिय तनावको केन्द्रमा आएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।