रोयल च्यालेन्जर्स बेंगलुरु अर्थात् आरसिबी फेरि एकपटक इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति क्वालिफायर–वानमा पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै आरसिबी ९ वर्षपछि आइपिएल फाइनलमा स्थान बनाएको हो ।
उसले पछिल्लोपटक सन् २०१६ को आइपिएल फाइनल खेलेको थियो । समग्रमा भने आरसिबी चौथोपटक फाइनल पुगेको हो । यद्यपि उसले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन ।

आरसिबीले पहिलोपटक दोस्रो सिजन अर्थात् सन् २००९ को आइपिएल फाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिकामा भएको उक्त फाइनल प्रतिस्पर्धा आरसिबी डेक्कन चाजर्ससँग ६ रनले स्तब्ध भयो । त्यस फाइनलमा डेक्कनले दिएको १४३ रनको सामान्य लक्ष्य पछ्याउनेक्रममा आरसिबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।
आरसिबीले दोस्रोपटक आइपिएल फाइनल सन् २०११ को संस्करणमा खेल्यो । उक्त फाइनल खेलमा ऊ चेन्नई सुपर किंग्ससँग ५८ रनले पराजित भयो । त्यस फाइनलमा चेन्नईले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको आरसिबीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।
आरसिबीले तेस्रोपटक सन् २०१६ को संस्करणमा फाइनल खेलेको थियो । उक्त म्याचमा आरसिबीले सनराइजर्स हैदराबादसँग ८ रनको हार बेहोर्यो । त्यस फाइनल प्रतिस्पर्धामा हैदराबादले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको आरसिबीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय रन बनायो ।

यसरी विगत तीन सिजनको उपाधि भिडन्त हेर्दा आरसिबी लक्ष्य पछ्याउनेक्रममा पराजित भएको छ । तीनपटक उपाधि नजिक पुगेर पनि ट्रफी चुम्न चुकेको आरसिबी विगतको हिसाबकिताब यसपालि चुक्दा गरेर झन्डै दुई दशक लामो उपाधि खडेरी तोड्न चाहन्छ । त्यसका लागि आरसिबीले फाइनलको दबाब झेल्ने क्षमता अभिवृद्धिका साथै उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्न सक्नुपर्छ ।
आइपिएल २०२५ को फाइनलसम्मको यात्रा हेर्दा आरसिबीले उपाधि जित्ने सम्भावना बलियो देखिन्छ । किनकी उसका केही खेलाडीले निरन्तर प्रभावशाली प्रदर्शन गरिरहेका छन् । विशेषरी ओपनिङ ब्याटरद्वय विराट कोहली र फिल साल्टले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।
ओरेन्ज क्यापको दौडमा समेत रहेका कोहलीले १४ खेलमा १४६.५३ को स्ट्राइक रेटमा ६ सय १४ रन बनाएका छन्, त्यसक्रममा उनले ८ अर्धशतकीय पारी खेलेका छन् ।

कोहली आफ्नो लय फाइनलमा पनि जारी राख्दै पहिलोपटक आरसिबीलाई च्याम्पियन बनाउन पूरा कोसिस गर्ने छन् । यस्तै, अर्का ओपनिङ ब्याटर फिल साल्टले १२ खेलमा १७५.९० को उत्कृष्ट स्ट्राइक रेटमा ३ सय ८७ रन बनाएका छन् ।
उनले क्वालिफायर वानमा आक्रामक अर्धशतकीय पारी खेल्दै आरसिबीलाई सहजै फाइनल पुर्याएका थिए । यदि फाइनलमा पनि साल्ट चलेमा आरसिबीले उपाधि जित्न सक्छ ।
बलिङतर्फ आरसिबीका लागि अस्ट्रेलियन स्टार जोश हेजलउड नायक साबित भइरहेका छन् । उनले ११ खेलमा ८.३० को इकोनमीमा २१ विकेट लिएका छन् । हेजलउड पर्पल क्यापको दौडमा समेत छन् ।

यस्तै, कृणाल पाण्ड्या र भुवनेश्वर कुमार पनि लयमा छन् । उनीहरूले समान १५ विकेट लिएका छन् । यस्तै, आरसिबीका अर्का फास्ट बलर यश दयाल पनि ठिकठाक प्रदर्शन गरिरहेका छन् ।
उनले १४ खेलमा १२ विकेट लिएका छन् । यदि उनीहरूले फाइनलमा प्रभावशाली प्रदर्शन गर्न सके आरसिबीले वर्षौंदेखिको उपाधि खडेरी नतोड्ला भन्न सकिँदैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।