तीसको दशकमा प्रेमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा रेडियो नेपालमार्फत प्रसारित यो गीत कालान्तरमा सुर्खेतको सांस्कृतिक पहिचान बन्यो । मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल नहुँदा पनि रेडियोको माध्यमबाट यो गीत देशभर फैलिएको थियो । बुलबुले तालको नाम र भावनात्मक सम्बन्ध नेपाली जनताको मनमस्तिष्कमा बस्न पुगेको थियो ।
त्यो समयमा न त पर्याप्त यातायात सुविधा थियो, न त आन्तरिक पर्यटनको चलन । त्यसैले बुलबुले तालबारे प्रत्यक्ष अनुभवभन्दा रेडियोमा गुञ्जिरहने गीतकै माध्यमबाट धेरैले चिने । एउटा सरल गीतले एउटा स्थानको राष्ट्रिय पहिचान निर्माण गर्न सक्ने स्पष्ट उदाहरण यही बन्यो । आज पनि सुर्खेत जाने अधिकांशको ‘बकेट लिस्ट’मा बुलबुले ताल पहिलो रोजाइमा पर्ने गर्छ ।
झण्डै ५० वर्षअघि रेकर्ड भएको यस गीतपछि बुलबुले ताललाई लिएर धेरै गीत र चलचित्र निर्माण भए । वि.सं. २०६२ मा रिलिज भएको चलचित्र ‘बन्धकी’को एक दृश्य यहीँ छायांकन गरिएको थियो । तर, समयक्रमसँगै संरक्षणको अभावमा तालको अस्तित्व नै संकटमा पर्न थाल्यो । पछिल्लो समय मोटरबोट सेवा सुरु भएपछि भने बुलबुले तालले पुनःजीवन पाएको छ ।
वि.सं. २०२९ मा राजा वीरेन्द्रको भ्रमणपछि यसको संरक्षणमा चासो दिइएको थियो । बुलबुले ताल आज पनि प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेहरूको गन्तव्य मात्र होइन, चराचुरुङ्गीको बासस्थान र स्थानीय जीवनशैलीसँग जोडिएको स्रोत पनि हो । धेरै स्थानीय अझै पनि कपडा धुन र नुहाउन यही पानीमा निर्भर छन् ।
वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल (भण्डारी) का अनुसार मोटरबोट सञ्चालनसँगै बुलबुले तालले पर्यटकीय मात्रै होइन, आर्थिक दृष्टिले पनि जीवन्तता पाएको छ । उहाँ भन्छन्, ‘सुर्खेत नआएका धेरैले पनि बुलबुले तालको नाम सुनेका छन्, त्यसैले जो कोही पनि एकपटक ताल पुग्ने प्रयास गर्छन् ।’
मोटरबोट चल्न थालेपछि नगरपालिकाको आम्दानी उल्लेख्य रुपमा बढेको छ । पहिले वार्षिक २५ लाख हाराहारीको राजस्व संकलन हुने गरेकोमा हाल त्यो एक करोडसम्म पुगेको छ । मोटरबोटबाट मात्रै १३ लाख, फोटो खिच्नेबाट बोलकबोल प्रणालीमार्फत १२ लाख रुपैयाँ आम्दानी हुने गरेको नगरप्रमुख ढकालको भनाइ छ ।
पर्यटकको आगमनसँगै बुलबुले परिसरमै फोटोग्राफी पेशामा संलग्न युवा संख्या पनि बढेको छ । करिब १० देखि १५ जना युवाले क्यामेरा बोकेर दिनभरि काम गर्ने गर्छन्, जसबाट उनीहरूले राम्रो आम्दानी गरिरहेका छन् ।
सुर्खेतमा अध्ययनरत करिब ८० हजार विद्यार्थीका लागि बुलबुले ताल पहिलो रोजाइको गन्तव्य बनेको नगरप्रमुख ढकाल बताउँछिन् । यहाँ आउने पर्यटकले ऐतिहासिक काँक्रेबिहार, लाटिकोइली, देउती बज्यै जस्ता धार्मिक तथा पर्यटकीय स्थलसमेत भ्रमण गर्न थालेका छन् । पहिले समय बिताउन काक्रेविहार जानुपर्थ्यो, अहिले बुलबुले परिसरमै घण्टौं रमाउन सकिने अवस्था बनिसकेको छ ।
स्थानीय जानकारहरूका अनुसार जमिनमुनीबाट बुलबुले गर्दै आउने पानीका कारण यसको नाम ‘बुलबुले ताल’ रहन गएको हो । मानिसहरू नुहाउन, कपडा धुन यहीँ आउँथे । पछि पानी जम्दै गएपछि पोखरी बन्यो र पर्यटकीय गन्तव्यको रूपमा विकास भयो । तर, संरक्षण नहुँदा फोहोर बढ्दै गयो र पोखरीको अस्तित्व नै मेटिने अवस्थामा पुग्यो ।
नगरप्रमुख ढकालका अनुसार अहिले नुहाउने तथा कपडा धुने ठाउँ अन्यत्र सार्ने योजना बनाइएको छ । त्यहाँ पिकनिक स्थल विकास गर्ने योजना पनि अघि सारिएको छ । यसले पर्यटन विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
ताल संरक्षणको अवस्था जर्जर हुँदै जाँदा बोटेबोरा कम्पनीका सञ्चालक बीबी ढकालले मोटरबोट सञ्चालनको योजना अघि सारे । यसअघि नारायणी र नेपालगञ्जमा मोटरबोट सञ्चालन गरिसकेका ढकालले बुलबुले ताल सफा गर्न जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरे । सकारात्मक जवाफ पाएपछि उनी ताल सफा गर्न जुटे ।
सुरुमा डोजर प्रयोग गरेर ताल सफा गर्ने प्रयास असफल भयो । ढकालका अनुसार लामो समय ‘डेड लेक’ बनेको ताल अहिले ‘भाइब्रेन्ट’ तालको रूपमा विकसित भएको छ । दैनिक सयौं मानिस घुम्न, रमाउन, तस्बिर खिच्न र अध्ययन गर्न आउन थालेका छन् ।
ताल सफा गर्न १,८६० जनाको श्रम लाग्यो । सुरुमा लगानी फिर्ता हुन्छ कि हुँदैन भन्ने अनिश्चितता थियो, तर आज सरर मोटरबोट चलिरहेको देख्दा त्यो संकल्प सार्थक देखिएको ढकाल बताउँछन् ।
बोटेबोरा कम्पनीले आफ्नै लगानीमा ताल सरसफाइ गरी मोटरबोट सञ्चालनमा ल्याएको हो । कम्पनीले नगरपालिकासँग वार्षिक १३ लाख राजस्व बुझाउने सम्झौता गरेको छ । हाल नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक ‘नेपाल सिप एण्ड बोट बिल्डिङ कम्पनी’ले निर्माण गरेको ११ सिटे दुईवटा फिस्टेल ब्रान्डका मोटरबोटमार्फत सेवा दिइरहेको छ ।
बोटेबोरा कम्पनी बोलपत्र प्रक्रियामार्फत छनोट भएको हो । पहिलो स्थानमा रहेको कम्पनीले कागजपत्र बुझाउन नसकेपछि दोस्रो स्थानमा रहेको बोटेबोरा कम्पनीले अनुमति पाएको थियो ।
बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङका अनुसार मोटरबोट सञ्चालनपछि बुलबुले तालको आकर्षण झनै बढेको छ । जनसंख्या र चहलपहल बढ्दै जाँदा दैनिक रमाइलोका लागि ठाउँको अभाव महसुस भइरहेका बेला बुलबुले तालले त्यो अभाव पूरा गरेको छ ।
गुरुङका अनुसार पहिले फोहोरको कारण कमै मानिस ताल जान्थे । तर, अहिले दैनिक हजारौं व्यक्ति ताल पुग्छन् । मोटरबोट सुरु भएपछि केवलस्वरूप मात्र होइन, बुलबुले तालको समग्र पहिचान फेरिएको छ ।
सुर्खेत प्रदेश राजधानी र कर्णालीको प्रवेशद्वार पनि भएकाले यहाँको चहलपहलमा बुलबुले तालले विशेष भूमिका खेलेको गुरुङ बताउँछन् । यस्ता गन्तव्यले पर्यटकलाई बसाइ लम्ब्याउने प्रेरणा दिइरहेका छन् ।
‘विगतमा ताल विस्तार गर्ने प्रयास भए तापनि त्यो सफल हुन सकेन’, गुरुङले भने, ‘ताल संरक्षित नभएपछि फुटबल मैदानजस्तो देखिन्थ्यो । सामाजिक सञ्जालमा व्यंग्य हुने गर्थ्यो । अहिले नगरप्रमुखको सक्रियतामा ताल संरक्षणको अभियानले गति लिएको छ ।’ रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।