नेपाली क्रिकेट टिम आज स्कटल्याण्ड ‘ए’ विरुद्ध दोस्रो अभ्यास म्याच खेल्दैछ, जसलाई नेपालका लागि प्रतिष्ठा जोगाउने अवसरको रूपमा हेरिएको छ ।
पहिलो अभ्यास खेलमा लज्जास्पद हार बेहोरेको नेपालले दोस्रो तथा अन्तिम अभ्यास म्याचमार्फत आत्मविश्वास फर्काउने लक्ष्य लिएको छ ।
शनिबार अपरान्ह ३ः४५ बजेदेखि सुरु हुने खेल स्कटल्याण्डको स्थानीय मैदानमा हुनेछ । यस म्याचमा नेपाली टिमको रणनीति र टोली संयोजनमा केही महत्वपूर्ण परिवर्तन हुनसक्ने अनुमान गरिएको छ, जसले खेलको परिणाममा निर्णायक असर पार्न सक्छ ।

नेपाली टिमले पहिलो अभ्यास म्याचमा निकै कमजोर ब्याटिङ गर्याे । स्कटल्याण्ड ‘ए’ ले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २९.४ ओभरमै ११८ रनमा समेटियो । आरिफ शेखले ५६ बलमा सर्वाधिक ४४ रन बनाए पनि अन्य ब्याटर विफल भए ।
शीर्ष तथा मध्यक्रमका ब्याटरको प्रदर्शन चिन्ताजनक रह्यो । यद्यपि बलिङ विभागमा नेपालले केही हदसम्म सन्तुलित प्रदर्शन गर्यो । विशेषगरी सोमपाल कामीले ८ ओभरमा ३५ रन खर्चिएर चार विकेट लिँदै आफूलाई प्रमाणित गरे । अन्य बलरहरूले समेत अपेक्षाकृत अनुशासित बलिङ गरे, जसले विपक्षीलाई ५० ओभरमै २ सय २१ रनमै रोक्न सके ।
पहिलो खेलमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, पूर्वकप्तान सन्दीप लामिछाने, विकेटकिपर ब्याटर आसिफ शेख र तीव्र गतिका बलर करण केसीलाई विश्राम दिइएको थियो । दोस्रो खेल भने निर्णायक अभ्यास म्याच भएकाले यी अनुभवी खेलाडी प्लेइङ–११ मा फर्किने सम्भावना बलियो छ । उनीहरूो उपस्थितिले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
टिम म्यानेजमेन्टको रणनीतिक सोच अनुसार दोस्रो म्याच नेपालले विश्वकप लिग–२ श्रृंखलाका लागि अभ्यासमात्र नभएर आत्मबल निर्माण गर्ने मञ्चका रूपमा प्रयोग गर्नुपर्नेछ । नेपाल अहिले आइसिसी विश्वकप लिग–२ मा कमजोर स्थितिमा रहेको छ ।

तीनवटा सिरिज खेलिसकेको नेपालले १२ खेलमा जम्मा ६ अंक मात्र जोडेको छ । नेपालले दुईमा जित, आठमा हार र दुई खेलमा अंक बाँडेको छ । तालिकाको पुछारमा रहेको नेपालका लागि अबको प्रत्येक खेल महत्वपूर्ण छ ।
यता, नेपालविरुद्ध खेल्ने नेदरल्याण्ड्स र स्कटल्याण्ड भने बलियो स्थितिमा छन् । डच टिमले २० खेलमा १२ जित निकाल्दै दोस्रो स्थानमा रहेको छ । यस्तै, स्कटल्याण्ड १६ म्याचमा ९ जितसहित चौथो स्थानमा छ । नेपालले आगामी श्रृंखलामा यी दुवै टोलीलाई हराउँदै अंक तालिकामा सुधार गर्ने लक्ष्य दिएको छ ।
नेपालले स्कटल्याण्ड सिरिजमा चारवटै खेल जित्न सकेमा ८ अंक थपिनेछ, जसले नेपाललाई छैटौँ स्थानमा उक्लने सम्भावना बनाउँछ । तर, त्यसका लागि ब्याटिङ लाइनअपको पुनर्संरचना, शीर्षक्रमको स्थायित्व, स्पिन–पेस सन्तुलन र रोहित पौडेलले उत्कृष्ट कप्तानी गर्नुपर्छ ।

स्कटल्याण्ड भ्रमणअघि नेपालले बेलायतमा विभिन्न क्लबसँग पाँच अभ्यास म्याच खेलेको थियो। त्यहाँ प्रदर्शन सन्तोषजनक रहन गए पनि त्यो लय स्कटल्याण्ड आइपुग्दा हराएको देखिन्छ ।
विदेशी भूमिमा निरन्तरता कायम राख्न नसक्नु नेपाली टिमको पुरानो समस्या हो, जुन समस्याबाट मुक्त नहुन्जेल विश्व मञ्चमा नेपालको प्रतिस्पर्धा सीमित नै रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।