आजभोलि प्रतिभावान् व्यक्तिलाई प्रतिभा देखाउन खासै गाह्रो छैन । गाउन जान्नेलाई गायन ‘रियालिटी सो’ का अनेक मञ्च उपलब्ध छन् । अनि नाच्न जान्नेलाई नृत्यका रियालिटी सो पनि । हँसाउनेदेखि साहसिक काम रुचाउने व्यक्तिहरूका लागि पनि त्यसैगरी फरक–फरक प्लेटफर्म उपलब्ध छन् ।
रियालिटी सो मा पुगेका प्रतियोगीहरूको चाहना हुन्छ– ‘आफूले गर्न सकूँ, र आफूलाई चिनाउन सकूँ’
त्यो दौरानमा कतिपयले आफ्नो सपना पूरा गर्न सक्छन् त कतिपयको चाहना सपना मात्र बनिदिन्छ । अरू प्रतियोगीजस्तै नेपाल आइडलको पहिलो सिजनमा भाग लिन पुगेकामध्ये एक थिए, चितवनका सुजन चापागाईं । तर, प्रतिस्पर्धामा भिड्न नपाउँदै बाहिरिनुपर्दा सुजनलाई रियालिटी सोको भोक भने मरेको थिएन । डिजिटल अडिसनमा राम्रो तारिफ पाएर छनोट पनि भए । तर, विडम्बना, तेस्रो सिजनको अन्तिम ३० मा पुगेपछि उनी बाहिरिए ।
रियालिटी सोको प्रतिस्पर्धामा फ्लप बनेका उनै सुजन हुन्, जो अहिले सांगीतिक क्षेत्रमा आफूलाई अब्बल गायकका रूपमा प्रस्तुत गरिरहेका छन् ।
‘तीनपाते’, ‘गाला पुक्क’, ‘लजाएर’, ‘वाफ’ ‘फुलथुङ्गे रानी’, ‘घुमी घुमि’, ‘एक्लै भएनि’, ‘उनको स्विटर’ जस्ता गीत सार्वजनिक गरेका सुजन सांगीतिक करिअरमा सुपरहिट भइसकेका छन् ।
उनका गीतले युट्युबमा करोडौं भ्युज बटुलिसकेको छ । सुजनले ‘तीनपाते’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा डेब्यु गरेका थिए । उनको डेब्यु नै धमाकेदार भइदियो । ‘तीनपाते’ को म्युजिक भिडियो युट्युबमा अपलोड भएसँगै यसको चौतर्फी चर्चा सुरु भयो ।

उनका गीतहरूमा गहिरो भावना, सरल तर गम्भीर शब्दहरू, र सजीव संगीत संयोजन पाइन्छ । उनी गीतमार्फत प्रेम, पीडा, जीवनका यथार्थ पक्षहरू र सामाजिक सन्देश उजागर गर्छन्, जसले आम मानिसको मन छोइरहेको छ ।
उनका गीत सजीव कथा जस्तै लाग्छन्, जुन सुन्दा दर्शकले आफ्नै जीवनसँग तुलना गर्न सक्छन् । साथै, उनको मिठासपूर्ण स्वर र आत्मीयता भरिएको गायन शैलीले गीतलाई झनै प्रभावशाली बनाउँछ ।
उनको स्वर, शब्द र गायनशैलीले युवापुस्ता मात्र होइन, सबै पुस्ताका श्रोताहरूको मन जित्न सफल भएका छन् । सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर हुने र लाखौं भ्युज पाउने उनका गीतहरू अहिलेको नेपाली सांगीतिक क्षेत्रमा विशेष स्थान बनाउन सफल भएका छन् ।
यही कलात्मकता, सरलता र भावना नै उनको गीतको लोकप्रियताको मूल कारण हुन् । सुजनको संगीतले केवल मनोरञ्जन मात्र होइन, नेपालीपन र भावनात्मक गहिराइ पनि समेटेको छ ।

यस्तै पछिल्लो समय नेपाली चलचित्र ‘ऊनको स्वीटर’को संगीत पक्षले पनि अत्यन्त चर्चा बटुलिरहेको छ, जसको प्रमुख श्रेय संगीतकार तथा गायक सुजनलाई नै जान्छ ।
उनले तयार पारेका गीत न केवल भावनात्मकरूपमा सशक्त छन् । तर, संगीतको दृष्टिले पनि अत्यन्तै आकर्षक र मौलिक छन । चलचित्रमा समावेश गीतहरू ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ तीनवटै भिन्न भाव, शैली र श्रोतावर्गका प्रतिनिधि गीत हुन् ।
यी सबै गीतको सफलताले चलचित्रको सम्पूर्ण अनुभवलाई समृद्ध बनाएको छ । उनका गीतहरूमा भाव, कथा र सांगीतिक उत्कृष्टताको संयोजन पाइन्छ, जसले दर्शक र श्रोतालाई लामो समयसम्म स्मरण रहने अनुभूति दिन्छ ।
यो सफलताले सुजन नेपाली संगीत उद्योगका एक प्रमुख सिर्जनशील संगीतकारका रूपमा स्थापित हुँदै गएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।