करिब सात महिनाको अन्तरालपछि नेपाली टोली फेरि ओडिआई क्रिकेट खेल्न मैदान फर्किँदै छ । नेपाली टिम आइसिसी विश्वकप लिग–२ सिरिजमार्फत मैदान फर्किन लागेको हो ।
सिरिजमा नेपालले आयोजक स्कटल्याण्ड र नेदरल्याण्ड्सको सामना गर्नेछ । श्रृङ्खलाको पहिलो खेलमा नेपाल र स्कटल्याण्ड आमनेसामने हुने छन् । यी दुई टिमबीचको खेल सोमबार अपरान्ह ३ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपाल घरेलु टिम स्कटल्याण्डलाई हराउँदै सिरिजमा सानदार सुरुवात गर्ने दाउमा छ । यद्यपि सिरिजअघिको दुई अभ्यास खेलमा गरेको प्रदर्शन हेर्दा भने स्कटल्याण्डविरुद्ध नेपाललाई जित निकाल्न सहज हुने छैन ।
स्कटल्याण्ड ‘ए’ सँगको पहिलो अभ्यास खेलमा नेपालले १ सय २ रनको फराकिलो हार बेहोरेको थियो । त्यस खेलमा स्कटल्याण्ड ‘ए’ ले दिएको २ सय २१ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल २९.४ ओभरमा १ सय १८ रनमै अलआउट भयो ।
दोस्रो खेलमा नेपालले ब्याटिङमा केही सुधारिएको प्रदर्शन गर्यो । शनिबार भएको उक्त खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर २ सय ५३ रन बनायो ।
मैदान भिजेका कारण ४५ ओभरमा झारिएको उक्त खेलमा नेपालका लागि अलराउन्डर गुलशन झा, कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले अर्धशतकीय पारी खेले । वर्षाका कारण खेल नतिजाविहीन बने पनि नेपालले लयमा फर्किएको संकेत देखाएको छ ।

नेपाली टिम अब सोमबार थप स्तरीय ब्याटिङ गर्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ ।
हेड टु हेड रेकर्ड
एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्याण्डसँगको विगत नतिजा हेर्दा नेपाल अगाडि देखिन्छ । हालसम्म नेपालले स्कटल्याण्डविरुद्ध आठवटा ओडिआई खेलेको छ, जसमा नेपालले चार र स्कटल्याण्डले तीन खेलमा जित निकालेको छ ।
यी दुई टिमबीचको एउटा खेल भने नतिजाविहीन बनेको छ । ओडिआईमा नेपाल र स्कटल्याण्डबीचको पहिलो भेट १३ जुलाई सन् २०२२ मा भएको थियो । उक्त खेलमा नेपालले आयोजक स्कटल्याण्डलाई १ सय ४४ रनमै अलआउट गर्दै ५ विकेटको जित निकाल्यो । नेपाल सोमबार पनि सो ऐतिहासिक जित दोहोर्याउने योजनामा छ ।

यस्तै, नेपाल र स्कटल्याण्डले दोस्रो ओडिआई सोही वर्षको १७ जुलाईमा खेले । त्यस खेलमा भने नेपालको प्रदर्शन निकै खराब रह्यो । १२८ रनमा अलआउट भएको नेपाल ८ विकेटले पराजित भयो । नेपाल र स्कटल्याण्डले तेस्रो ओडिआई ४ डिसेम्बर २०२२ मा खेले ।
नामिबियामा भएको उक्त खेलमा नेपाल तीन विकेटले पराजित भयो । लिग–२ अन्तर्गत नै सोही वर्षको ८ डिसेम्बरमा स्कटल्याण्डसँग नेपालको चौथो भेट भएको थियो । त्यस खेलमा नेपालले ८ विकेटको फराकिलो हार बेहोर्यो । स्कटल्याण्डविरुद्धको पाँचौं खेलमा भने नेपालले उत्कृष्ट प्रदर्शन गर्यो ।
१७ फेब्रुअरी सन् २०२३ मा भएको लिग–२ खेलमा स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा पूरा गरेर तीन विकेटको जित निकाल्यो । नेपाल र स्कटल्याण्डले छैटौँ ओडिआई सोही वर्षको २१ फेब्रुअरीमा खेले ।
त्रिवि मैदानमा भएको उक्त खेलमा रोहितकुमार पौडेलको अविजित ९५ रनको पारीको मद्दतमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हरायो ।

यस्तै, लिग–२ अन्तर्गत नै नेपाल र स्कटल्याण्डबीच सातौं भेट २९ अक्टोबर २०२४ मा अमेरिकाको डालासमा भयो । उक्त खेलमा स्कटल्याण्डविरुद्ध नेपालले ५ विकेटको सहज जित निकाल्यो ।
यी दुई टिमबीचको आठौँ ओडिआई भने नतिजाविहीन बन्यो । गत वर्ष अमेरिकामा तय गरिएको उक्त खेलमा वर्षा बाधक बन्दा दुवै टोलीले अंक बाँडे । हेड टु हेड रेकर्ड हेर्दा पछिल्लो वर्षहरूमा स्कटल्याण्डविरुद्ध नेपाल हाबी देखिन्छ । नेपाली टिम यसपालि पनि स्कटल्याण्डविरुद्धको जित यात्रा जारी राख्दै लिग–२ तालिकामा सुधार गर्ने योजनामा छ ।
तीन श्रृङ्खलाको १२ म्याच खेलिसकेको नेपालले ६ अंक मात्र जोडेको छ । नेपाल अहिले तालिकाको आठौँ स्थानमा छ । स्कटल्याण्ड भने ठीकठाक अवस्थामा छ । उसले १६ म्याच खेल्दा ९ मा जित, पाँचमा हार तथा दुई खेलमा अंक बाँडेको छ ।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको स्कटल्याण्ड अहिले तालिकाको चौथो स्थानमा छ । अब ऊ आफ्नो पाँचौं श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेर तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ ।
यता नेपाली टिम पनि स्कटल्याण्ड भ्रमणमा सानदार पुनरागमन गरेर तालिकामा सुधार गर्ने योजनामा छ । यदि स्कटल्याण्ड सिरिजमा चारवटै खेल जितेमा नेपाल तालिकाको छैटौँ स्थानमा उक्लिने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।