सरकारले नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई अध्ययन अवधिभर निःशुल्क भिसा दिने नीति ल्याएसँगै शैक्षिक क्षेत्रका व्यवसायी र विज्ञ उत्साहित भएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै विदेशी विद्यार्थीलाई अध्ययन अवधिभर निःशुल्क भिसा दिने घोषणा गरेका थिए । यससँगै शैक्षिक पर्यटन र नेपाललाई ‘शैक्षिक गन्तव्य’ बनाउने सम्भावनामा पुनः आशा पलाएको शैक्षिक क्षेत्रका प्रतिनिधिहरू बताउँछन् ।
विद्यार्थी मात्र नभई, उनीहरूका अभिभावकलाई समेत बहुप्रवेश (मल्टिपल इन्ट्री) भिसाको व्यवस्था गरिने सरकारको योजनाले शिक्षा मात्र नभई समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । यसले नेपालमा पढ्न आउने विद्यार्थी र उनका परिवारलाई सहजता मिल्नेछ । योसँगै नेपालको शैक्षिक क्षेत्रसँगै अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास शैक्षिक व्यवसायीहरूमा छ ।
नेपाल चेम्बर अफ कमर्सका आईटी सफ्टवेयर तथा टेक्नोलोजी समिति सभापति विज्ञान श्रेष्ठ विदेशी विद्यार्थीलाई अध्ययन अवधिभर निःशुल्क भिसा दिने सरकारको नीति स्वागतयोग्य रहेको बताउँछन् ।

अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)को तर्फबाट यसका लागि सरकारलाई लामो समयदेखि पहल गरेको उनले बताए । अन्य देशको तुलनामा नेपालमा अध्ययन गर्दा र बस्दा लाग्ने खर्च कम भएका कारण पनि धेरै विदेशी विद्यार्थी नेपाल आउने सम्भावना रहेको उनी बताउँछन् । अन्य देशमा एक वर्षमा लाग्ने खर्चले नेपालमा तीन वर्षसम्म अध्ययन गर्न सकिने सभापति श्रैष्ठको भनाइ छ ।
नेपालमा आफ्नै विश्वविद्यालयसँगै बेलायत, मलेसिया अमेरिकालगायत देशका सम्बन्धन प्राप्त कलेजहरू भएकाले विदेशको शिक्षा नेपालबाट लिन सकिने उनको भनाइ छ । अधिकांश देशमा नेपालको दूतावास रहेकाले ती दूतावासमार्फत विद्यार्थी भिसा दिने वा अनलाइन माध्यमबाट विद्यार्थी भिसा लिन मिल्ने व्यवस्था गर्न सके विदेशी विद्यार्थीलाई थप सहज हुने श्रेष्ठको बुझाइ छ ।
बौद्ध धर्ममा आस्था राख्ने जापान, चीन, दक्षिण कोरियालगायतका देशबाट बौद्ध विश्वविद्यालयमा अध्ययन गर्न नेपाल आउने उनले बताए । सरकारको यो कदमले नेपालको शैक्षिक क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने श्रेष्ठको विश्वास छ । यसअघिसम्म नेपालमा विद्यार्थी भिसा लिने प्रक्रिया झन्झट हुनुका साथै महँगो भएका कारण केही समस्या भएपनि सरकारले अब निःशुल्क उपलब्ध गराउने नीति लिएका कारण अध्ययनका लागि नेपाल आउने विद्यार्थीलाई निकै सहयोग पुगेको उनको भनाइ छ ।
नेपाल सुरक्षित र शान्त देश भएकाले पनि विदेशी विद्यार्थीको रोजाइमा पर्ने उनले बताए । विदेशी विद्यार्थी नेपाल भित्रिने क्रम बढेसँगै त्यसले नेपालको अर्थतन्त्रमा समेत सहयोग पुग्ने सभापति श्रेष्ठले बताए ।
सरकारले आइप्यानको नेतृत्वमा ‘स्टडी इन नेपाल’ कमिटी गठन गरेको खण्डमा आफूहरूले पनि विदेशी विद्यार्थी नेपाल ल्याउन सक्ने उनले बताए ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला सरकारले शिक्षाको गुणस्तर ग्यारेन्टी गर्न सकेको खण्डमा नेपालमा विदेशी विद्यार्थी आउने सम्भावना रहेको बताउँछन् । युरोप, अमेरिकालगायतका देशबाट आउने विद्यार्थीले आफ्नो देश बराबरको गुणस्तर खोज्ने भएका कारण नेपालमा शिक्षाको गुणस्तर ग्यारेन्टी गर्न सकेको खण्डमा त्यसको सम्भावना रहेको उनको भनाइ छ ।
विश्वविद्यालय तहमा विदेशी विद्यार्थी आउने भएका कारण विदेशी विश्वविद्यालय र नेपालका विश्वविद्यालयबीच मित्रताका साथ काम गर्न सक्ने वातावरण सिर्जना गर्न सकेको खण्डमा पनि विदेशी विद्यार्थी नेपाल आउन सक्ने कोइराला बताउँछन् । त्यसरी विदेशबाट नेपालमा अध्ययन गर्न आउने क्रम बढेको खण्डमा नेपालबाट अध्ययनका नाममा विदेश पलायन हुने क्रम पनि घट्दै जाने उनको बुझाइ छ ।
गलत सोचका मानिस अध्ययन भिसामा नेपाल आएर गलत क्रियाकलाप सञ्चालन हुन सक्ने सम्भावना पनि उत्तिकै भएका कारण त्यसमा सजग हुनुपर्ने पनि कोइरालाले बताए ।

नेपाललाई प्राचीन सम्भाव्यता, बौद्ध दर्शन, किराँत, संस्कृत शिक्षा, मेडिकल शिक्षा, प्राविधिक शिक्षा, आयुर्वेद, योग शिक्षालगायत विषय अध्ययन, अनुसन्धान गर्न विदेशी विद्यार्थीलाई नेपाल ल्याउन सकिने तर्कसहितका बहस त चल्छन् । तर, यी विषयका दक्ष जनशक्ति तथा गुणस्तरीय विश्वविद्यालय छ वा छैनन् भन्नेतर्फ पनि हामीले ध्यान दिन आवश्यक छ ।
नेपालमा विदेशी विद्यार्थी ल्याउन नसकिने हैन सकिन्छ । तर, प्रश्न उठ्छ, हामीसँग विदेशी विद्यार्थी ल्याउने आधार र पूर्वाधार के छन् ? त्यस्तै, विदेशी विद्यार्थीको रोजाई तथा आकर्षण कुन विषयमा छ भन्ने पहिल्याउन पनि उत्तिकै जरुरी हुन्छ । विश्वभरका विश्वविद्यालयले दिने शिक्षा र हामीले दिने शिक्षामा के फरक छ ? जसको लागि विदेशी विद्यार्थी नेपाल आउने ? त्यसको स्पष्ट खाका हामीसँग तयार हुनुपर्छ ।
नेपालको जेठो र गुणस्तरीय शिक्षामा अब्बल भनिएको त्रिभुवन विश्वविद्यालय विश्ववरियतामा खस्किने क्रम जारी छ । अन्य विश्वविद्यालयको कन्तबिजोग पनि कतैबाट लुकेको छैन । नेपालका विश्वविद्यालय वर्षाैसम्म पदाधिकारीविहीन हुन्छन् । विद्यार्थीले समयमा भर्ना, परीक्षा र नतिजा पाउँदैनन् । शैक्षिक तालिका अनुसार विश्वविद्यालय चल्दैनन् । हरेक दिन जसो विश्वविद्यालयमा आन्दोलन, नाराबाजी र तालाबन्दी हुन्छ । विभिन्न बहानामा विद्यार्थीले शिक्षकलाई मोसो दल्छन् । मरणासन्न हुने गरी कुटपिट गर्छन् । यस्ता विश्वविद्यालयमा विदेशी विद्यार्थी कुन आधार र विश्वास लिएर आउने ? त्यसैले विदेशी विद्यार्थी नेपाल ल्याउने हो भने हामीले हाम्रा विश्वविद्यालयका पद्धति र प्रणालीमा परिवर्तन ल्याउन आवश्यक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।