गणतान्त्रिक नेपाल विफलताको दिशातर्फ उन्मुख हुँदै गर्दा, यस देशका प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा ‘पृथ्वीपथ पोखरा जाने बाटो हो’ भन्ने अभिव्यक्तिबाट इतिहासप्रतिको अज्ञानता उजागर गरे । त्यतिमा मात्रै नरोकीइ, आफूलाई सर्वज्ञ ठान्ने वर्तमान कार्यकारी प्रमुखले राष्ट्र निर्माता पृथ्वीनारायण शाहमाथि ‘काटमार गर्ने शासक’ को आरोप लगाउँदै थप घृणास्पद टिप्पणी गरे।
यस्तो संवेदनशील र ऐतिहासिक जिम्मेवारीमा बसेको व्यक्तिबाट आएको यस्ता गैरजिम्मेवार अभिव्यक्ति केवल व्यक्तिगत अज्ञानता होइन — यो नियोजित वैचारिक प्रहार हो, जुन नेपालको इतिहास, अस्मिता र गौरवमाथि गरिएको अपमान हो।
उक्त टिप्पणीबाट प्रधानमन्त्रीले न केवल २५० वर्ष पुरानो एकीकरण युगको योगदानमाथि अपमानित गरेका छन्, तर आजको गणतान्त्रिक विफलताको छायामा एक सफल राष्ट्र निर्मातामाथि दोष थोपर्ने दुस्साहस पनि देखाएका छन्। यस्तै किसिमको सिलसिला गणतन्त्र घोषणा गरिने वर्षहरूमा अति तीव्र रूपमा भएका थिए। यो अत्यन्त खेद जनक छ।
यो विशेष लेख पृथ्वीपथ शृंखलाको एउटा सजग उत्तर हो — यस्ता अभिव्यक्तिहरूको खण्डन गर्न, इतिहासको संरक्षण गर्न, र नेपाली जनताको स्मृतिमा पुनः सत्यस्थापना गर्न। साथै पृथ्वीपथ माथि विश्वास राख्ने नागरिकको पंक्तिमा उभिने प्रयास पनि हो यो। वर्तमान नेपालका शासकले पृथ्वीपथ त्यागेकै कारण नेपालको अवस्था अहिलेको जस्तो जर्जर र दुखलाग्दो बनेको हो, यो वोध गराउने प्रयास पनि हो।
पृथ्वीनारायण शाहको “काटमार” होइन, राष्ट्र एकीकरण थियो। त्यो ‘रक्तपात’को यात्रा होइन, राष्ट्रिय अस्तित्व, स्वाभिमान र एकताको शिलान्यास थियो। यो गहिरो ऐतिहासिक सत्य बुझ्न आजका केही नेताहरू असमर्थ देखिन्छन्। १८औं शताब्दीमा जब दक्षिण एसियामाथि उपनिवेशवादको आँधी चलेको थियो, त्यही एकता अभियानले नेपाललाई भारतजस्तो उपनिवेश बन्नबाट जोगायो।
आज जसलाई “काटमार” भनेर निन्दा गरिन्छ, त्यो संघर्ष, त्याग र दूरदृष्टिको परिणामस्वरूप हामी आज “नेपाल” नाम गरेको सार्वभौम, स्वतन्त्र राष्ट्र भएर अस्तित्वमा छौं। पृथ्वीनारायण शाहको एकीकरण यात्रा खण्डित नेपाललाई एक सूत्रमा बाँध्ने अभियान थियो, जसले हाम्रो इतिहासलाई गौरव र हाम्रो भूगोललाई सुरक्षा दियो।
त्यस्तो राष्ट्रिय गौरवको इतिहासमाथि वर्तमान प्रधानमन्त्रीबाट आएको तुच्छ टिप्पणी अत्यन्तै निन्दनीय, भत्सर्नायोग्य र इतिहासको अपमान हो। भारत, बर्मा, भुटानजस्ता उपनिवेश बनेका देशहरूलाई सोध्न सकिन्छ - उपनिवेशको पीडा के हो भनेर। अनि थाहा हुन्छ — पृथ्वीनारायण शाहको एकता अभियान ‘काटमार’ होइन, स्वतन्त्रताको अन्तिम किल्ला थियो। समयक्रममा त्यो किल्ला क्रमशः विभिन्न शासनकालहरूमा मक्किंदै र भत्किँदै गयो।
पृथ्वीनारायण शाहको पालामा “संविधान”, “लोकतन्त्र” वा “गणतन्त्र” भन्ने शब्द चलनमा थिएनन्। तर उहाँको शासनमा आजका लोकतान्त्रिक मूल्यहरू गहिरो रूपमा प्रतिविम्बित देखिन्छन् - जसको बलमा गोरखाजस्तो सानो राज्यबाट राष्ट्र-एकीकरणको महाअभियान सम्भव भएको थियो।
आजका कतिपय गणतान्त्रिक शासकहरू पृथ्वीनारायण शाहको शासनलाई निरंकुशताको रूपमा चित्रित गर्न खोज्छन्। तर वस्तुगत रूपमा हेर्दा उहाँको राजकाज सहभागितामूलक, समावेशी र उत्तरदायित्वमा आधारित देखिन्छ। “राजा र प्रजा मिलेर देश बनाउनुपर्छ” भन्ने उहाँको वाणी, आजको लोकतन्त्रको ‘सहभागितामूलक शासन’ सिद्धान्तसँग प्रत्यक्ष मेल खान्छ।
उहाँले सत्तालाई कुनै एक जात, वर्ग वा गुटको सम्पत्ति बनाउनुभएन। बरु “नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो” भनेर समावेशिता, सामाजिक सद्भाव र समानताको जग बसाल्नुभयो — यो भनाइ आजको समावेशी लोकतन्त्रको आदर्शसँग मेल खान्छ। वास्तवमा, पृथ्वीनारायण शाहको शासन लोकतान्त्रिक मूल्यहरूको ऐतिहासिक आधारभूमि हो।
“प्रजा मोटा भए दरबार बलियो हुन्छ” भन्ने भनाइबाट स्पष्ट हुन्छ - राज्यशक्तिको मूल आधार जनता हुन् भन्ने उहाँको बुझाइ थियो। यो अवधारणा आजको “लोकबाट शक्ति उत्पन्न हुने” गणतान्त्रिक मूलधारसँग सिङ्गो रूपले जोडिन्छ।
साथै, उहाँले शासनमा सुशासन र न्यायको संयोजन गर्नुभयो। “घुस लिन्या र दिन्या दुबै देशका दुस्मन हुन्” भन्ने दिव्य उपदेशले भ्रष्टाचारविरोधी नीति निर्माणको ऐतिहासिक उदाहरण स्थापित गर्छ। आजको गणतान्त्रिक नेपालमा जब नेतृत्व स्वयं भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबेको छ, त्यस्तो समयमा पृथ्वीनारायण शाहको नीति झनै प्रासंगिक देखिन्छ।
उहाँको अर्को दिव्य उपदेश - “असाहाय र गरीब प्रजालाई हेरेर न्याय देऊ” - आजको न्यायमा पहुँच, उत्तरदायित्व र राज्यप्रतिको जन–विश्वासको आधार बन्न सक्ने दृष्टान्त हो। पृथ्वीनारायण शाहले भू–राजनीतिक आत्मनिर्णयमा मात्रै होइन, प्रजाप्रति उत्तरदायी शासनमार्फत राष्ट्रिय एकता, सुरक्षा र सम्मानलाई उच्चतम प्राथमिकता दिनुभयो। यही त हो — साँचो लोकतन्त्र, जसमा नेतृत्व राष्ट्रको आत्मा हो, र जनता यसको हृदय।
इतिहासको सत्य के हो भने - यो राष्ट्रको निर्माणको आधारशिला राख्ने, राष्ट्रिय अस्मिता जगाउने र स्वतन्त्रताको ज्योति प्रज्वलित गर्ने कार्य राजा पृथ्वीनारायण शाहले गर्नुभयो। यो पृथ्वीनारायण शाहको अनुपम योगदान हो। केवल त्यो कालखण्डमा हैन, अनन्तकालसम्मका लागि नेपाललाई एक सार्वभौम, एकीकृत र स्वाभिमानी राष्ट्रको रूपमा बचाइराख्ने शक्ति उहाँकै “पृथ्वीपथ” हो। पृथ्वीपथ लेखमालाको पाँचौं भागको सुरुआत यस वाक्यबाट गरिएको थियो - “पृथ्वीनारायण शाहको नाम उच्चारण गर्दा नेपालीको मनमा एक स्वतन्त्र, स्वाभिमानी र एकीकृत नेपालको भाव जागृत हुन्छ।” यही नै शाश्वत सत्य हो।

तर विडम्बना, रुसी, चिनियाँ वा अन्य बाह्य वादहरूबाट प्रेरित आजका सर्वज्ञानी शासकहरूलाई आफ्नै राष्ट्र निर्माताको ऐतिहासिक योगदान थाहा छैन — वा बुझेर पनि बुझ पचाउने दुस्साहस गरिरहेका छन्। पृथ्वीनारायण शाहले नेपाल एकीकरणको संकल्प त्यतिबेला गर्नुभयो, जब गोरखा एक सानो, सीमित स्रोतसाधन भएको राज्य थियो। तर उहाँको राष्ट्र–निर्माणको दूरदृष्टि, संगठन क्षमता, र जनताको आत्मबलमा आधारित नेतृत्त्वले आजको नेपालको जग खडा गर्यो।
उहाँको प्रसिद्ध दिव्योपदेश - “नेपाल दुई ढुंगाबीचको तरुल हो, सधैं सावधानीसाथ कूटनीतिक सन्तुलन राख्नुपर्छ” - आज भारत र चीनजस्ता शक्तिशाली छिमेकीहरूबीच परेकाले अझ प्रासंगिक भएको छ। तर आजका नेतृत्वकर्ताहरूले त्यो सन्तुलन होइन, परनिर्भरता रोजेका छन्।
“घर हटाएर पनि खेत बनाउनु, गाउँ हटाएर पनि खानी चलाउनु” भन्ने उहाँको आत्मनिर्भरताको मार्गनिर्देशन आज देशलाई ऋणमा डुबाउने शासकहरूका लागि ठाडो चुनौती हो। तर दुर्भाग्य, आजका शासकहरूले विकासको नाममा विदेशी ऋणमा देश डुबाइरहेका छन् - न आत्मनिर्भरता बाँकी छ, न राष्ट्रिय गर्व।
पृथ्वीनारायण शाहले केवल फौजी विजय होइन - प्रशासन, न्याय, कर प्रणाली, कुटनीति र धार्मिक सहिष्णुताको आधार तय गर्नुभयो। उहाँको ‘दिव्योपदेश’ आज पनि सुशासन र स्वाभिमानयुक्त नेतृत्त्वका लागि मार्गदर्शक दस्तावेज हो। त्यस्तो ऐतिहासिक योगदानलाई “काटमार” भनेर खारेज गर्ने प्रधानमन्त्रीको भनाइ मात्र अज्ञानताको होइन - यो मुर्खताको पराकाष्ठा, राष्ट्रिय स्मृतिप्रति अपमान र भावी पुस्तालाई दिशाविहीन बनाउने गम्भीर दुस्साहस हो।
२०६५ सालमा नेपालले गणतन्त्रको यात्रा प्रारम्भ गर्यो। त्यो यात्रा जनआकांक्षा, समानता र उत्तरदायित्वप्रतिको आशाले भरिएको थियो। बहसको विषय यो होइन कि गणतन्त्र ठीक थियो वा होइन; बहसको विषय हो - के गणतन्त्रका ध्वजावाहकहरू राष्ट्रलाई सही दिशामा डोर्याउन सफल भए?
१७ वर्षपछि आजको यथार्थ हेर्दा देशमा राजनीतिक स्थायित्वको अभाव छ। शासन व्यवस्थामा तानाशाही प्रवृत्ति मौलाउँदै गएको छ, भ्रष्टाचार संस्थागत हुँदै गएको छ, र राज्यसत्ता जनभावनाको होइन, सत्ता गठबन्धन र नैतिकतामा आधारित नभइ नम्बरको आडमा बार्गेनिङको औजार बनेको छ। एक कार्यकाल पनि पूरा नगरी प्रधानमन्त्री फेरिने प्रवृत्तिले निर्णय प्रणालीलाई कमजोर बनाएको छ। जनविश्वासको ह्रास भएको छ। फलतः गणतन्त्रको नाममा विशेषाधिकार भोग्ने नेतृत्वप्रति जनताको मोहभंग भएको छ।
जनताको अपनत्व त छैन, तर संविधानलाई ‘जनताको दस्तावेज’ भनिन्छ, र व्यवहारमा सिट बाँडफाँड र गठबन्धनकै खेल चलिरहेको छ। स्वाभिमान क्षतविक्षत छ; विदेशीसँगको सम्बन्धमा आत्मनिर्भरता होइन, परनिर्भरताको प्रवृत्ति हावी हुँदै गएको छ। संविधान कार्यान्वयनमा असफलता छर्लंगै छ।
यदि जीवनभर राजनीतिक संघर्ष गरेका आजका शासकहरू राष्ट्रनिर्माणमा यति नै सफल छन् भने, उनीहरूले ऐतिहासिक विभूतिहरूको अपमान गर्नु किन आवश्यक ठान्छन्? त्यसको कारण स्पष्ट छ — किनभने उनीहरूको शासनबाट राष्ट्रिय गौरव निर्माण भएको छैन। त्यसैले इतिहासलाई भत्काएर, असल उदाहरणहरूलाई कलंकित गरेर आत्मसन्तुष्टि लिने प्रवृत्ति जन्मिन्छ, आफूलाई स्थापित गर्न खोजिन्छ।
यो लोकतन्त्र होइन, जहाँ प्रधानमन्त्रीहरू जनताप्रति उत्तरदायी हुनुभन्दा बढी एकअर्कालाई गाली गर्न व्यस्त छन्। असफलताका ‘एक्सक्युज’ हरू अन्यत्रै तेर्साउँछन्।
यो गणतन्त्र होइन, जहाँ जनताले मतदान गरेपछि पाँच वर्षसम्म केवल निराश भएर हेरेर बस्नुपर्ने हुन्छ। आजका प्रधानमन्त्रीहरू एकातर्फ जनतालाई ‘संविधानको मालिक’ भन्छन्, अर्कोतर्फ संविधानको मर्मविपरीत जनताकै भविष्यमाथि खेलबाडमा रमाउँछन्।
यसको परिणामस्वरूप देशको भू–रणनीतिक हैसियत कमजोर बनेको छ, आन्तरिक प्रशासन दिगो छैन, र विदेश नीतिमा गम्भीर अन्योल छ। यही सन्दर्भमा आजको नेपालमा पृथ्वीनारायण शाहको दृष्टि, उत्तरदायित्वमा आधारित शासन दृष्टिकोण र स्वाधीन राष्ट्र–निर्माणको अभियान अझ प्रासंगिक बन्न गएको छ।
पृथ्वीपथको वर्तमान सान्दर्भिकताका सन्दर्भमा, पृथ्वीनारायण शाहले आफूलाई “नेपालको राजा” होइन, “देशको सेवक” का रूपमा देख्नुभयो - र २० वर्षको उमेरदेखि मृत्युसम्म यही भावनाले देशको सेवा गर्नुभयो। तर गणतान्त्रिक नेपालका नेताहरू भने, राजनीतिक परिवर्तनको फल भोग्नमा मस्त देखिन्छन् — राष्ट्रनिर्माण त उनीहरूका लागि जिम्मेवारी नै रहेन।
उहाँले “नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो” भनी समावेशिताको बीउ रोप्नुभयो, तर आजका नेताहरू समावेशीताको नाममा जात, क्षेत्र, धर्म र भाषाको राजनीति गरेर समाजलाई झन विभाजित बनाइरहेका छन्। “फूलवारी दर्शन” त सम्झिन्छन्, तर व्यवहारमा उतार्न असफल छन्।
“भाषा, भेष, धर्म, संस्कृति आफ्नै हो, टुट्न नदिनू” भन्ने उहाँको वाणी सांस्कृतिक आत्मपहिचान र राष्ट्रवादको मेरुदण्ड हो। तर आज गणतान्त्रिक शासनमा राष्ट्रिय पहिचान क्रमशः विस्थापित हुँदैछ।
उहाँको कूटनीतिक चेतावनी - “विदेशीसँग मित्रता राख, तर देशको हित हेरी मात्र गर” - आजको अन्ध–परनिर्भर विदेश नीतिमा विलय भइसकेको छ। कूटनीति स्वाभिमानमा होइन, अनुदान र ऋणमा आधारित हुँदै गएको छ। त्यसैले पृथ्वीपथ आज झन् सान्दर्भिक छ। यो केवल अतीतको गौरव होइन, आजको दिशाहीन देशका लागि कोर्स करेक्सनको मार्ग पनि हो।
एकता भनेको खाली सत्ता बाँडफाँड होइन। पृथ्वीनारायणले जात, वर्ग, क्षेत्रको सीमाभन्दा माथि उठेर “एकीकृत नेपाल” को सपना देख्नुभयो - तर आजको राजनीति अझै त्यही विभाजनकारी पहिचानको खेलमै रमाइरहेको छ।
नैतिक नेतृत्व पृथ्वीपथको मूल आत्मा हो - जहाँ राजा स्वयं देशसेवक थिए। आजको नेतृत्त्व स्वार्थ, व्यक्तिगत सुरक्षा र सत्तामोहमा केन्द्रित छ। नैतिकता खोज्न बत्ति बाल्नुपर्ने परिस्थिति आएको छ। जनताको नाम जपेर ‘जजमानी भूमिका’ निर्वाह गरिरहेका छन्।
पृथ्वीनारायणको “रणनीतिक सोच” - चाहे त्यो विदेश नीति होस् वा प्रशासन सुधार- आजको दिन–प्रतिदिनको द्वन्द्व, भ्रम र अराजकता ग्रस्त गणतान्त्रिक नेतृत्वका लागि उदाहरणीय छ। नकारात्मकताले समाजमा सीमा नाघिसक्यो, त्यसको नेतृत्व नेताहरूले नै गरिरहेका छन्। हरेक बोली व्यवहारमा विभाजन र दुराग्रह भेटिन्छ। पृथ्वीपथमाथि प्रहार गरेर, त्यसको उपहास गरेर, इतिहास भत्काएर देश बनाउँछु भन्ने कल्पना नै अज्ञानताको पराकाष्ठा हो।
यो लेख कुनै राजसंस्थाको आन्दोलनको समर्थनका लागि होइन - पृथ्वीनारायण शाहको योगदानमाथि भइरहेको असंवेदनशील प्रहारप्रति चेतना जगाउन लेखिएको हो, ताकि देशले सही दिशा पहिल्याओस्।
जब वर्तमान प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीहरू पृथ्वीनारायण शाहविरुद्ध बयान दिन्छन्, त्यो केवल इतिहासप्रतिको आत्महीनताको प्रतिविम्ब हो।
मार्क्स, माओ वा चे-ग्वेभेराका अनुयायीहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहविरुद्ध उत्रनु सुहाउने कुरा होइन - किनभने राष्ट्र निर्माणको सन्दर्भमा उनीहरूको योगदान नाङ्गो शून्यसरह छ। त्यस रिक्ततालाई ढाक्न उनीहरू इतिहासका स्तम्भ र भविष्यका सम्भावनाहरू माथि प्रहार गरिरहेका छन्।
पृथ्वीनारायण शाहमाथिको हमला केवल पृथ्वीनारायण शाह वा पृथ्वीपथ विरोधी होइन - त्यो देशविरोधी र आत्मविरोधी विचार हो। इतिहास मेटाएर वर्तमानको कमजोरी छोप्न सकिन्न। हामीले गणतन्त्र स्थापनाको पूर्वसन्ध्यामा पृथ्वीनारायण शाहको शालिक ढाल्न खोज्ने, फोटो हटाउन खोज्ने, राष्ट्रिय झण्डा परिवर्तन गर्न चाहने प्रवृत्तिप्रति सजग रहनुपर्छ। यस्ता कदमहरू केवल असफलताबाट ध्यान मोड्ने कुत्सित प्रयास हुन् - जसले राष्ट्रको आत्मासँगै जनताको विश्वासमाथि पनि घात गर्छ।
गणतन्त्रको विकल्प राजा नहुन पनि सक्छ — तर जब गणतन्त्र असफल हुन्छ, जनता इतिहासको गौरव र स्थायित्वको खोजीमा फर्किन्छन्। पृथ्वीनारायण शाह त्यो नेपाली गौरवका प्रतीक हुन् — जसले राष्ट्र, धर्म, संस्कृति र शासनलाई एक सूत्रमा बाँध्नुभयो। अहिलेका कतिपय नेताहरू भने ती सबै मूल्यहरूबाट पूर्णतः विमुख छन्।
राजाको आलोचना गर्नु सजिलो छ। तर ती आलोचक नेताहरूले आफैंलाई सोध्नुपर्छ - के तपाईंहरूले राज्य बलियो बनाउन सक्नुभयो? के जनताको जीवन सहज बनायौं? के सीमाना, संस्कृति, सुरक्षा र पहिचान सुदृढ बनायौं? यदि यी प्रश्नको उत्तर ‘होइन’ हो भने, इतिहास खोस्रिने होइन, तपाइहरूले गम्भीर आत्मसमीक्षा गर्ने समय भयो।
आजको आवश्यकता गर्विलो इतिहासप्रति कटाक्ष होइन - आत्ममूल्याङ्कन हो। त्यसैले, हामीलाई आज आवश्यक छ - राष्ट्रका शिल्पीहरू प्रति श्रद्धा, पृथ्वीनारायणको दूरदृष्टि अनुरूपको आत्मनिर्भर सोच, विदेशी निर्देशन होइन, स्वदेशी नेतृत्वमा आधारित नीतिहरू, अवसरसँगै उत्तरदायित्व बाँध्ने लोकतन्त्र, र शासकहरू जो साँचो अर्थमा जनतामुखी हुन्, भाषणमुखी होइनन्।
पृथ्वीनारायण शाहको विचार र दृष्टिकोणमा आज पनि भविष्यको सम्भावना सजीव छ। त्यसलाई अपमान होइन, प्रेरणाको रूपमा लिन सक्नु नै साँचो राष्ट्रप्रेम हो। राष्ट्रप्रेम गर्न सकिन्छ भने गरौं, सकिँदैन भने - कम्तीमा जन्म दिने आमाजस्तै मातृभूमिलाई नसरापौं। राष्ट्रनिर्मातालाई नदुत्कारौं, उहाँका भविष्यप्रतिको दूरदृष्टिको थप अवमूल्यन नगरौं।
निष्कर्षमा के भन्न सकिन्छ भने - “पृथ्वीपथ” नेपालको भविष्यको मार्ग हो। आज नेपाललाई फेरि एकपटक आत्मनिर्भरता, राष्ट्रप्रेम, अनुशासन, दीर्घदृष्टि र आत्मगौरवको आवश्यकता छ - यी सबै तत्त्वहरू पृथ्वीनारायण शाहको विचार र कार्यशैलीमा गहिरो रूपमा समावेश छन्।
पृथ्वीपथ न त साम्राज्यवाद हो, न कट्टर राष्ट्रवाद, न एकाधिकारवाद - यो सम्मानमा आधारित स्वाभिमानी राष्ट्र निर्माणको सपना हो। यो देश न कुनै राजनीतिक प्रयोगशाला हो, न त राजनेताहरूको ‘करिअर’ बनाउने जागिर स्थल। कसैले बिर्सनु हुँदैन - इतिहासको मूल धरातलमा उभिएर मात्र भविष्य निर्माण गर्न सकिन्छ।
पृथ्वीनारायण शाहले ‘काटमार’ होइन - राष्ट्र निर्माण गर्नुभयो। तर आजका नेताहरू देशलाई टुक्र्याउने, विभाजित गर्ने, जात, वर्ग, भूगोल र स्वार्थका नाममा साना–साना असिमित खाल्डाहरूमा फसाउने काम गरिरहेका छन्। त्यसैले “पृथ्वीपथ” आजको संविधान, सरकार, नेतृत्व, सोच र नीति–निर्माणको सुधारको अनिवार्य सन्दर्भ हो।
देशको समृद्धिका लागि व्यवस्थालाई स्थिर र संस्थागत गर्नु आवश्यक छ - तर त्यो पृथ्वीनारायण शाहको योगदानलाई अस्वीकार गरेर होइन, उहांको मूल्य र मार्गदर्शनलाई आत्मसात् गरेर मात्र सम्भव छ। आज गणतन्त्र र नेतृत्व दुवै संकटमा छन् - किनभने हामी शासक र जनता सबैले “पृथ्वीपथ” बिर्सियौं।
पृथ्वीपथ आज पनि मार्गदर्शक हाम्रो छ - राष्ट्रभक्तिको, सुशासनको, आत्मनिर्भरताको र राष्ट्रिय गौरवको। जसले त्यो देख्दैन, बुझ्दैन वा स्वीकार्दैन - उसले देश चलाउने नैतिक हैसियत वास्तवमा गुमाइसकेको हुन्छ।
यो पनि
पृथ्वीपथ र नेपालको आधुनिक कूटनीति
पृथ्वीपथ र नेपाली स्वाभिमानको पुनर्जागरण
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।