२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

नेपालको नजर अब डच टिमविरुद्ध : अर्को इतिहास दोहोर्याउने मौका
स्टार खेलाडीको पुनरागमन आवश्यक

आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी एकदिवसीय सिरिजमा नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सको सामना गर्दैछ । यी दुई टिमबीचको खेल बुधबार अपरान्ह ३ः४५ देखि स्कटल्याण्डको फोर्थहिल मैदानमा सुरु हुनेछ ।


नेपालले मंगलबार घरेलु टिम स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित दर्ता गर्दै सिरिजमा सानदार सुरुवात गरेको छ । पहिलो खेलको जितले उत्साहित नेपाली टोली अब डच टिमलाई पनि पाखा लगाउन चाहन्छ ।



सोमबारको खेलमा स्कटल्याण्डले दिएको २ सय ९७ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा करण केसीले महत्त्वपूर्ण भूमिका खेले ।



नवौँ नम्बरमा ब्याटिङ गरेका उनले ४१ बलमा चार छक्का र तीन चौकासहित अविजित ६५ रन बनाए । कठिन अवस्थामा टोलीलाई सम्हाल्दै जितसम्म पुर्‍याएका करण ‘म्यान अफ द म्याच’ घोषित भए ।

नेपालका लागि ओपनरद्वारा राम्रो सुरुवात भए पनि मध्यक्रमको धर्मराएको ब्याटिङ लाइनअपलाई करणले संकटबाट उकासे । नेपाल अब सोही लय बुधबार पनि दोहोर्याउन चाहन्छ ।

हेड टु हेड

नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म ओडिआईमा पाँचपटक प्रतिस्पर्धा भएको छ, जहाँ नेदरल्याण्ड्सले तीन र नेपालले दुई खेल जितेको इतिहास छ । यी दुई टिमबीच पहिलो ओडिआई सन् २०१८ मा भएको थियो, जहाँ नेपाल ५५ रनले पराजित भयो । सोही वर्षको दोस्रो खेलमा भने नेपालले नेदरल्याण्ड्सविरुद्ध एक विकेटको रोमाञ्चक जित हात पार्‍यो ।



यी दुई टिमले तेस्रो खेल २४ जनवरी सन् २०२३ मा खेले, त्यस विश्वकप ग्लोबल छनोटको महत्वपूर्ण म्याचमा नेपाल ७ विकेटले पराजित भयो । त्यसपछि सन् २०२३ को फेब्रुअरीमा नेपालले त्रिवि मैदानमा नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । तर, त्यसको आठ दिनपछि लिग–२ कै खेलमा नेपाल डच टोलीविरुद्ध ८ विकेटले पराजित भयो । त्यसयता यी दुई टिमबीच ओडिआई खेल भएको छैन ।  

हालसम्मको प्रदर्शनमा नेदरल्याण्ड्सले लिग–२ मा राम्रो लय कायम राखेको छ । उसले २० म्याचमध्ये १२ खेलमा जित निकाल्दै २६ अंक जोडेको छ । र, नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा रहेको छ । नेपालले १३ म्याचमा तीन जित, आठमा हार र दुई खेलमा अंक बाँडेको छ ।

नेपाल अहिले ८ अंकसहित तालिकाको सातौं स्थानमा छ । जारी स्कटल्याण्ड भ्रमणमा चारवटै खेल जित्ने लक्ष्य लिएको नेपाली टोलीका लागि नेदरल्याण्ड्समाथिको जित महत्त्वपूर्ण हुनेछ । त्यसका लागि नेपालका प्रमुख खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ । 

लयको खोजीमा स्टार 

यदि कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, ओपनर आसिफ शेख र स्पिनर सन्दीप लामिछानेजस्ता टोलीका प्रमुख खेलाडीहरू पनि आफ्नो लयमा फर्किनसके डच टोलीलाई हराउन नेपाललाई कठिन नहुन सक्छ । पछिल्ला केही खेलमा प्रदर्शन मन्द रहेको उनीहरूको प्रदर्शन सुधारिएमा टोलीले थप सन्तुलन पाउनेछ ।

स्कटल्याण्डविरुद्ध २ सय ९७ रनको लक्ष्य पूरा गरेको नेपालले देखाएको संयमता र आत्मविश्वासले टोलीमा नयाँ ऊर्जा थपिएको छ । त्यस ऊर्जा र सामूहिक प्रदर्शनलाई निरन्तरता दिन सक्ने हो भने नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले महत्वपूर्ण दुई अंक प्राप्त गर्न सक्छ । बलिङ र ब्याटिङ दुवै विभागमा ती खेलाडीको लयमा फर्कनु नेपालका लागि निर्णायक साबित हुनसक्छ ।

यद्यपि नेदरल्याण्ड्सको टोली पनि बलियो फर्ममा देखिएको छ । कप्तान स्कट एडवड्र्स, माइकल लेभिट, म्याक्स ओ’दाउद र बास डि लिडे जस्ता अनुभवी खेलाडी नेपालका लागि चुनौती बन्न सक्छन् । उनीहरू विगतमा नेपालविरुद्ध निर्णायक भूमिका खेलिसकेका छन् । त्यसैले यसपालि नेदरल्याण्ड्सका प्रमुख खेलाडीहरू, जसले विगतमा नेपालविरुद्ध प्रभावशाली प्रदर्शन गरेका छन् ।

उनीहरूलाई नियन्त्रणमा राख्ने रणनीति निर्माण गर्नु अत्यन्त जरुरी छ । डच टिमका कमजोरीको सूक्ष्म विश्लेषण गर्दै स्पष्ट योजनासहित मैदान उत्रन सके नेपालले नतिजा आफ्नो पक्षमा पार्ने सम्भावना प्रबल हुनेछ । 

  • प्रकाशित मिति : २० जेठ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया