२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

लिग-२ मा चौथो जितको खोजीमा नेपाल, आज नेदरल्याण्ड्ससँग भिड्दै
डच टिमविरुद्ध बदला लिने मौका
फाइल तस्बिर

स्कटल्याण्डमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय सिरिजमा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दैछ ।


यी दुई टिमबीचको प्रतिस्पर्धा अपरान्ह ३ः४५ देखि स्कटल्याण्डको फोर्थहिल ग्राउन्डमा सुरु हुनेछ । नेपाल श्रृंखलामा लगातार दोस्रो जितको खोजीमा छ । सोमबार राति सम्पन्न पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराउँदै सिरिजमा उत्साहजनक सुरुआत गरेको छ ।



स्कटल्याण्डले दिएको २ सय ९७ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा करण केसी नायक बने । उनले ४१ बलमा तीन चौका र चार छक्कासहित अविजित ६५ रनको उल्लेखनीय पारी खेले ।



कठिन अवस्थामा नेपालको इनिङलाई सम्हाल्दै जितसम्म डोहोर्‍याएका करणको चर्चा अहिले शिखरमा छ । पहिलो खेलमा देखाएको आत्मविश्वास र लयलाई कायम राख्दै नेपाल आज डच टोलीलाई पनि स्तब्ध पार्न चाहन्छ ।

अर्कोतर्फ नेदरल्याण्ड्सको टोली नेपालविरुद्ध जित निकाल्दै सिरिजमा सशक्त सुरुवात गर्ने लक्ष्यमा हुनेछ । नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा अहिलेसम्म पाँचपटक भिडन्त भएको छ । तीमध्ये दुईमा नेपाल र तीन म्याचमा नेदरल्याण्ड्स विजयी भएको विगत छ ।

पछिल्लोपटक यी दुई टोलीले २५ फेब्रुअरी सन् २०२४ मा त्रिवि मैदानमा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपाल ८ विकेटले पराजित भयो । त्यो हारको पुनरावृत्ति टार्दै नेपाल बुधबार इतिहास बराबरी गर्ने तथा आत्मबल उच्च बनाउने प्रयासमा हुनेछ ।



जारी लिग–२ मा नेदरल्याण्ड्स राम्रो लयमा छ । उसले खेलेका २० म्याचमध्ये १२ मा जित, ६ मा हार तथा दुई खेलमा अंक बाँडेको छ । कुल २६ अंकका साथ डच टोली तालिकाको दोस्रो स्थानमा छ ।

नेपाल १३ म्याच खेल्दासम्म तीनमा जित, आठमा हार तथा दुई खेलमा अंक बाँडेर तालिकाको सातौं स्थानमा छ ।

नेपाली टोली स्कटल्याण्ड सिरिजमा अब बाँकी तीनवटै खेल जित्ने लक्ष्य लिएको छ । त्यसो गर्न सके नेपाल छैटौँ स्थानमा उक्लिनेछ । त्यसैले आजको खेल नेपाली टोलीका लागि मनोबल बढाउन निर्णायक खेल बन्न सक्छ ।

प्लेइङ-११ मा एक परिवर्तनको सम्भावना

नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले बुधबार रिजन ढकालको स्थानमा नन्दन यादवलाई मौका दिने सम्भावना रहेको हो ।

स्कटल्याण्डविरुद्ध महत्वपूर्ण २ विकेट लिएका रिजनले अनुशासित बलिङ भने गर्न सकेनन् ।

रिजन ढकाल

पटकपटक नो बल फ्याँकेका उनले १० ओभरमा ७८ रन दिएका थिए । त्यसकारण रिजनले नेदरल्याण्ड्सविरुद्ध विश्राम पाउन सक्छन् । उनको ठाउँ लिन सक्ने नन्दन पनि पछिल्लो समय राम्रो लयमा छन् ।

नन्दनसँग तल्लोक्रममा ब्याटिङ गर्न सक्ने क्षमता पनि छ । यस्तो अवस्थामा सोमबारको खेलमा उनी प्रशिक्षकको नजरमा पर्न सक्छन् । 

प्लेइङ–११ मा अरू खेलाडी परिवर्तनको सम्भावना भने कम छ । यसरी हेर्दा डच टिमविरुद्ध ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख, तेस्रोमा भीम सार्की, चौथो स्थानमा कप्तान रोहितकुमार पौडेलले मौका पाउने सम्भावना छ ।

यस्तै, पाँचौंमा गुलशन झा, छैटौँमा दीपेन्द्र सिंह ऐरी, सातौँमा आरिफ शेख, आठौँमा सोमपाल कामी, नवौँमा करण केसी, दसौँमा सन्दीप लामिछाने र ११औँ नम्बरमा नन्दन यादवले मौका पाउन सक्छन् । 

  • प्रकाशित मिति : २१ जेठ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया