आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा नेपाली टिमले ऐतिहासिक सुरुआत गर्दै चारवटै खेल जित्ने लक्ष्यतर्फ कदम चालेको छ । स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध लगातार दुई खेलमा हासिल गरेको जितले नेपाललाई आत्मविश्वासको शिखरमा पुर्याएको छ ।
स्कटल्याण्डले दिएको २ सय ९७ रनको लक्ष्य नेपालले ४९.५ ओभरमा पूरा गर्दै एक विकेटको रोमाञ्चक जित निकालेको थियो । नेपालले पहिलोपटक यति ठूलो स्कोर पूरा गरेको हो । त्यस जितले नेपाली ब्याटिङको गहिराइ र दबाबमा पनि संयमता देखाउने क्षमतालाई स्पष्ट पार्यो ।
दोस्रो खेलमा नेदरल्याण्ड्सले दिएको २ सय २६ रनको मध्यम लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा सहजै पूरा गर्यो । यस खेलमा आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रन बनाए ।

ओडिआई उनको यो करियरको उच्च स्कोर हो । आरिफका साथै उपकप्तान दीपेन्द्र सिंह ऐरीको अविजित ३८ रन जोडे । ब्याटिङ मात्र होइन, बलिङतर्फ पनि नेपालले दोस्रो खेलमा आफूलाई प्रमाणित गर्यो ।
सोमपाल कामीले तीन, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले दुई/दुई विकेट लिएर डच टिमलाई २ सय २५ रनमै अलआउट गराए । स्कटल्याण्डविरुद्धको पहिलो खेलमा कमजोर देखिएको बलिङ आक्रमण नेदरल्याण्ड्सविरुद्ध भने अनुशासित र धारिलो देखियो ।
युरोपियन पिचमा नेपाली टिमको यस्तो खालको प्रदर्शन अघिल्ला अनुभवहरूलाई उल्ट्याउने खालको छ ।
विदेशी मैदानमा फेरिएको प्रदर्शन
लामो समयसम्म नेपाली खेलाडी विदेशी मैदान, विशेषगरी युरोपेली पिचमा संघर्षरत देखिन्थे । तर, यसपटक भने ती चुनौतीलाई टिमले आत्मसाथ गर्दै प्रदर्शनमा रूपान्तरण गरेको छ ।

जारी सिरिज नेपाली टिमका लागि मात्र नभई नयाँ प्रशिक्षक स्टुअर्ट लका लागि पनि विशेष छ । उनले यही श्रृङ्खलाबाट नेपाली टिमको हेडकोचको रूपमा औपचारिक सुरुआत गरेका थिए । हेडकोच लको नेतृत्वमा टिमले देखाएको अनुशासन, रणनीति र आत्मबल प्रशंसायोग्य मात्र छैन, आशावादी पनि देखिएको छ ।
हालसम्म लिग–२ मा नेपालले १४ खेल खेलेको छ, जसमा नेपालले चारमा जित, आठमा हार तथा दुई खेलमा अंक बाँडेको छ । नेपालले अझै २२ म्याच खेल्न बाँकी छ । तालिकाको सातौं स्थानमा रहेको नेपाल शीर्ष चारमा पुग्ने सम्भावना जीवितै छ ।
लिग–२ सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितासमेत हो । लिगको समापनपछि शीर्ष चार टोलीले ओडिआई मान्यता जोगाउनुका साथै ग्लोबल छनोटमा सिधा स्थान बनाउने छन् । तल्लो स्थानमा रहने चार टोलीले प्लेअफ खेल्नुपर्ने छ । त्यसैले प्रत्येक जितले नतिजामा मात्र होइन, विश्वकप छनोट यात्रामा पनि मद्दत पुर्याउने छ ।
लिग-२ मा पाँचाैँ जितको खोजी
नेपाल अब पुनः स्कटल्याण्डविरुद्ध मैदान उत्रने तयारीमा छ । आइतबार हुने उक्त खेलमा नेपालले पहिलो खेलमा देखाएको आत्मबल दोहोर्याउने लक्ष्य लिएको छ ।
यदि स्कटल्याण्डको बाँकी दुई खेलमा पनि यस्तै प्रदर्शन गर्न सक्यो भने लिग–२ को यो भ्रमण नेपाली क्रिकेट इतिहासमै सशक्त मोड बन्नेछ । नेपालले पछिल्लो एक–डेढ वर्षमा लगातार हार र अस्थिर प्रदर्शनको सामना गरिरहेको थियो ।

कहिले ब्याटिङ कमजोर, कहिले बलिङ असफल, टिम सन्तुलनमै संघर्षरत देखिन्थ्यो । तर, अहिलेको प्रदर्शनले त्यो अवस्थाबाट नेपाल टाढा आएको देखिन्छ । मैदानमा देखिएको आत्मबल, रणनीति र खेलाडीबीचको समन्वयले टिममा ठूलो परिवर्तन ल्याएको छ ।
यसले नेपाली क्रिकेट समर्थकलाई मात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेट समुदायलाई पनि सन्देश दिएको छ- अब नेपाल आफ्नो भूमिमा मात्रै होइन, विदेशी मैदानमा पनि प्रतिस्पर्धा गर्न र जित निकाल्न सक्ने टिम बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।