अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी कर वृद्धिसँगै आयातमा आएको गिरावटका कारण अमेरिकी व्यापार घाटा अप्रिलमा आधाभन्दा बढीले घटेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।
ट्रम्पले लगभग सबै व्यापारिक साझेदारहरूमाथि १० प्रतिशत कर लगाउने घोषणा गरेकै महिना विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भनिने अमेरिकाले ६१.६ अर्ब डलरको व्यापार घाटा बेहोरेको थियो। मार्चको तुलनामा यो घाटा ५५.५ प्रतिशतले घटेको वाणिज्य विभागले जनाएको छ ।
व्यवसायहरूले ट्रम्पको प्रतिज्ञा गरिएको कर कार्यान्वयनमा आउनु पहिले विदेशी वस्तुको आयातमा व्यापक लगानी गरेपछि मार्चमा समग्र अमेरिकी व्यापार घाटा १३८.३ अर्ब डलर पुगेको थियो । अमेरिकी सहयोगी र प्रतिस्पर्धीहरूमाथि समान रूपमा १० प्रतिशत आधारभूत कर लगाएपछि अप्रिलमा आयात १६.३ प्रतिशतले घटेर ३५१ अर्ब डलरमा झरेको छ ।
आधारभूत १० प्रतिशत करबाहेक ट्रम्पले चीन, युरोपेली सङ्घ र जापानसहितका दर्जनौं अर्थतन्त्रमा उच्च कर दरको घोषणा पनि गर्नुभएको थियो यद्यपि, ती दर व्यापार वार्ताका लागि ठाउँ दिने शर्तमा जुलाईको सुरुसम्म लागू नहुने सहमति ती मुलुकले गरेका छन् ।
विश्वका दुई ठूला अर्थतन्त्रले एकअर्काको उत्पादनमा दुवै पक्षको कर तीन अङ्कमा पु¥याएपछि चीनबाट आउने सामान ट्रम्पको सबैभन्दा ठूलो निशाना बनेको थियो ।
अमेरिका र चीनबीच स्थितिलाई कम गर्न अस्थायी सम्झौतामा पुग्नुअघि चीनबाट धेरै ढुवानीहरू रोकिएको थियो ।
तत्कालका लागि सबैका आँखा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको फोन वार्तामा केन्द्रित छन् । उनीहरूबीच बिहीबार नै फोन वार्ता भएको छ । फोनवार्ताले विवादको दीर्घकालीन समाधान खोज्न मद्दत गर्न सक्ने आशा गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।