२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

निजगढ विमानस्थल : हवाई पूर्वाधारको ‘गेम चेन्जर’ कि पर्यावरणीय संकटको कारक ?
निर्माण अलपत्र, रणनीति अस्पष्ट : अन्योलमा निजगढको भविष्य

विगत लामो समयको अध्ययन, योजना र प्रतिबद्धतापछि सुरु गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना यतिबेला सरकारको लागि निल्नु न ओकल्न भएको छ । ‘गेम चेन्जर’ आयोजनाको रूपमा लिइएको यो परियोजना विगत तीन वर्षदेखि पूर्णरूपमा अलपत्र अवस्थामा छ । 


विकासको मेरुदण्ड ठानिएको निजगढ विमानस्थल निर्माणका लागि सरकारबाट करिब १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर, अझै पनि विमानस्थलको निर्माण कार्य कहिले र कसरी अघि बढ्ने स्पष्टता छैन । 



यो अन्योलताकाबीच सरकारले भने बजेट विनियोजन गर्न छाडेको छैन । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा पनि बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउने वाचा दोहोर्याए । उनले वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रिया अघि बढाइने बताए । 



यसअघि चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा वातावरणीय अध्ययन गर्ने घोषणा गरिएको थियो । त्यसअघिको बजेटमा २०७९÷८० पनि निर्माण कार्य अघि बढाउने भनिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा निजगढसहित अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर १९ अर्ब ४२ करोड रुपैयाँ विनियोजन नै गरिएको थियो ।

यसरी हरेक वर्षको बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता दिइए पनि यसको निर्माणमा देखिएको मुख्य समस्या समाधान हुन सकेको छैन । निजगढ विमानस्थलको निर्माण प्रक्रियामा सुरुदेखि नै विविध झमेलाहरू देखा पर्दै आएको छ । सबैभन्दा विवादास्पद पक्ष भनेको वन विनाश र वातावरणीय प्रभाव हो । उक्त विमानस्थल क्षेत्र निजगढको घना वन क्षेत्रमा पर्ने भएकाले यसले लाखौं रुख फडानी गर्नुपर्ने स्थिति सिर्जना भयो । यसै सन्दर्भमा पर्यावरणीय प्रभाव मूल्यांकन प्रक्रिया विवादमा आयो । उक्त विवाद सर्वोच्च अदालतसम्म पुग्यो । 

विमानस्थल बनाउँदा धेरै रुख काट्न लागिएको भन्दै वातावरणविद्हरूले दिएको रिटमा असार २०७९ मा सर्वोच्च अदालतले निर्माण कार्य अघि नबढाउन अल्पकालीन आदेश दिएयता कामकारबाही ठप्प छ । आदेशमा स्पष्टरूपमा निजगढमा विमानस्थल नबनाउनु भनेको छैन । बरु विज्ञहरूको टोली बनाएर विकल्प खोज्न निर्देशन दिएको छ ।

त्यसयता सरकारले विकल्पका सम्भावना खोज्ने नाममा अनेकौं संयन्त्र बनायो, अध्ययन समितिहरू गठन गर्‍यो । तर, अहिलेसम्म निर्माण कसरी अघि बढाउने भन्ने विषयमा स्पष्ट खाका तयार पार्न सकेको छैन ।



हाल नेपालमा पूर्ण रूपमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय स्तरको एक मात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो ।  यद्यपि, हामीसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार छन् । तर, ती विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । 

पछिल्लो समय जब हालका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलबाटै पर्याप्त अन्तर्राष्ट्रिय उडान छैनन्, निजगढ फेरि किन आवश्यक भन्ने तर्क उठ्दै आएको छ । अर्कोतर्फ नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरजस्ता विज्ञहरूले भने नेपालको दिगो विकास, समृद्धि र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि निजगढ विमानस्थल अपरिहार्य रहेको तर्क गर्छन् ।

‘निजगढ विमानस्थल तत्कालका लागि आवश्यक नहोला तर यो दीर्घकालीन आवश्यकता हो,’ उनी भन्छन्, ‘यो विमानस्थल पोखरा र भैरहवा भन्दा धेरै फरक विमानस्थल हो । निजगढ विमानस्थल नेपालको उन्नती र प्रगतिका लागि अपरिहार्य हो ।’

मध्य तराईमा पर्ने निजगढ क्षेत्र काठमाडौंबाट करिब ८० किलोमिटर दक्षिणमा अवस्थित छ । जहाँदेखि पूर्व, पश्चिम र राजधानी तीनै दिशामा सस्तो र सहज सडक निर्माण सम्भव छ । त्यहाँबाट ठूलो आकारका जहाज अवतरण गराउन सकिने, २४ घण्टा सञ्चालन हुन सक्ने र टर्मिनल सुविधाहरू सन्तुलितरूपमा विस्तार गर्न सकिने सम्भावनाका साथै मौसमीय चुनौतीका दृष्टिकोणबाट पनि निजगढ तुलनात्मक रूपमा सुरक्षित मानिने नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक मानन्धर बताउँछन् । 

उनका अनुसार छिमेकी मुलुकको विकसित क्षेत्रसँग नजिकै रहेको बारा जिल्लामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन सकेमा अन्तर्राष्ट्रिय व्यापारिक दृष्टिकोणबाट नेपालले निकै लाभ लिन सक्छ । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हाल अलपत्र अवस्थामै रहे पनि नेपालमै सबैभन्दा ठूलो क्षमताको विमानस्थल बन्ने योजना हो । तर, भैरहवा र पोखरामा निर्माण भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलको सीमित उडान र प्रयोगको अनुभवले स्पष्ट देखाएको छ– विमानस्थल निर्माण गर्नु मात्र पर्याप्त हुँदैन । 

यदि रणनीति, स्थानको उपयुक्तता, बजारको पहुँच, पूर्वाधारको तयारी र नीतिगत स्पष्टता सुनिश्चित गर्न सकिएन भने त्यस्तो ठूलो लगानीको पूर्ण उपयोग सम्भव हुँदैन । यस सन्दर्भमा निजगढ विमानस्थल अझै पनि साँच्चै आवश्यक छ या छैन भन्ने विषयमा गहिरो विश्लेषण र दूरदृष्टिपूर्ण निर्णय अपरिहार्य देखिन्छ ।

  • प्रकाशित मिति : २३ जेठ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया