कुनै समय नेकपा एमालेमा माधवकुमार नेपालको दबदबा यस्तो थियो कि पार्टीभित्र उनीविरुद्ध आवाज उठाउन सानो झुण्ड पनि थिएन । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली जसरी पार्टीमा हाबी छन्, त्यसरी नै नेपालले करिब १५ वर्षसम्म एमालेमा निर्णायक नेतृत्व सम्हालेका थिए ।
पार्टी बनाउनेदेखि सञ्चालन गर्ने र आन्दोलन चर्काउनेदेखि सरकार चलाउनेसम्म माधवले आफ्नो जीवनको ऊर्जाशील समय वाम आन्दोलन र एमालेलाई सुदृढ गर्न खर्चिए । तर, समयक्रममा उनी त्यही पार्टी छोड्नुपर्ने अवस्थामा पुगे ।
२०२८ सालको अन्त्यतिरको कुरा हो । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत माधव नेपाल वामपन्थी विचारप्रति झुकाव राख्थे । भूमिगत नेता तथा कार्यकर्ताहरू समय समयमा उनलाई भेट्न आउँथे । यस्तैक्रममा पहिलो पटक नेपाल र ओलीबीच परिचय भयो । २०२९ सालमा झापा आन्दोलन सुरु भयो । त्यस आन्दोलनमा अग्रपंक्तिमा रहेका ओली प्रहरीको निगरानीमा परेपछि लुक्दै मोरङ पुगे । त्यतिबेला माधवले नै उनलाई सुरक्षित आश्रय दिए । उनले करिब तीन महिनासम्म डेरामा राखे । त्यसबेलादेखि नै उनीहरूको सम्बन्ध गहिरिँदै गयो ।
झण्डै दुई दशकसम्म उनीहरू एकअर्काका भरपर्दाे सहयात्री बने । एमालेका महाधिवेशनहरू, सरकारमा सहभागिता र पार्टीभित्रका संघर्ष सबैमा उनीहरूको साथ र समझदारी देखिन्थ्यो । २०५४ सालमा एमाले विभाजित हुँदा पनि नेपाल र ओली एउटै पक्षमा उभिए । नेपालको नेतृत्वमा एमालेले सरकार बनायो, उनले प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हाले । ओलीले पनि पार्टी र संसद् दुवैमा महत्वपूर्ण भूमिका निभाए । तर, २०५५ सालपछि पार्टीभित्र शक्ति सन्तुलनको लडाइँ तीव्र बन्दै गयो ।
एमालेको सातौँ महाधिवेशन (२०६० साल) बाट ओलीले नेतृत्वमा जाने आकांक्षा राखे । उनले माधवबाट त्यसका लागि सहयोगको अपेक्षा गरे । तर, नेपाल अझै आफैं नेतृत्वमा रहने सोचमा थिए । आठौँ महाधिवेशनसम्म पुग्दा पनि ओलीलाई स्थान नदिएपछि उनीहरूबीचको सम्बन्धमा चिसोपन सुरु भयो । ओलीको नजरमा नेपाल अब एक अवरोध बन्न थाले । र नेपालका लागि ओली अब सहयोगी होइन, सत्ताको लोभी प्रतिस्पर्धी थिए । आठौँ महाधिवेशनमा नेपालले ओलीको विकल्पका रूपमा झलनाथ खनाललाई अघि सारे । त्यति बेलासम्म ओलीले स्पष्ट बुझे– नेपालबाट अब समर्थन आउँदैन । त्यसैले नवौँ महाधिवेशनमा उनी योजनाबद्ध ढंगले अघि बढे ।
ओलीले राष्ट्रपतिको लोभ देखाएर खनाललाई पन्छ्याए, प्रधानमन्त्री भएपछि पार्टी अध्यक्ष पद छाड्ने आश्वासन दिएर वामदेव गौतमलाई पनि साथमा ल्याए । गुठगत राजनीतिमा चतुरता देखाएका ओली नवौँ महाधिवेशनमा माधव नेपाललाई ४२ मतले हराउँदै एमालेको नेतृत्वमा आए । त्यही दिनदेखि ओलीको एकछत्र पार्टी राज सुरु भयो र नेपालको हैसियत क्रमशः कमजोर बन्दै गयो ।
५ पुस २०७७ मा ओलीले संसद् विघटन गरेपछि नेपाल खुलेर त्यसको विरोधमा उत्रिए । संसद् विघटन असंवैधानिक भन्दै उनी सर्वोच्च अदालतसम्म पुगे । २०७८ वैशाखमा ओलीले पार्टीको नियम मिचेको आरोपमा नेपालनिकट ३२ सांसदलाई स्पष्टीकरण माग गरे । यसले ओली–नेपालबीचको सम्बन्ध थप संकटमा पर्यो । २०७८ भदौमा आफूसँग सहमत केही नेतासहित नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरे । त्यसपछि यी दुई नेताबीचको सम्बन्ध झनै चिसियो ।
अहिले यो टकराव नयाँ मोडमा पुगेको छ । पतञ्जली आयुर्वेदको नाममा भएको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपालमाथि १८ करोड ५८ लाख रुपैयाँको भ्रष्टाचार बिगो मागदाबी गरिएको छ । नेकपा (एस) ले यसलाई राजनीतिक प्रतिशोध को रूपमा व्याख्या गरेको छ ।
त्यस्तै, अध्यक्ष नेपालले प्रधानमन्त्री ओली सुरुदेखि नै आफूविरुद्ध लागेको दाबी गरेका छन् । आफूलाई राजनीतिकरूपमा समाप्त पार्ने ओलीको नियत रहेको उनको आरोप छ ।
साथ र विश्वासबाट सुरु भएको ओली–नेपालको सम्बन्ध अहिले आरोप, शंका र बदला खोज्ने राजनीतिमा फसेको छ । यो उनीहरूबीचको व्यक्तिगत दूरी मात्रै होइन, यो दलगत राजनीति र पार्टीभित्रको लोकतन्त्र कसरी कमजोर बन्दै गएको छ भन्ने चिन्ताजनक संकेत पनि हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।