२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

भन्सारको सर्भर २ महिनादेखि डाउन, मारमा व्यवसायी

भैरहवा भन्सार कार्यालयको सर्भर डाउन हुँदा भन्सार कर्मचारी, भन्सार एजेन्टका साथै यहाँका उद्योगी व्यवसायी मारमा परेका छन् । करिब २ महिना अघिदेखि नै भैरहवा भन्सार कार्यालयको सर्भर डाउन भए पनि कार्यालयले यस विषयमा कुनै पहल गरेको छैन । 


भैरहवास्थित भन्सार कार्यालय मुलुककै दोस्रो ठूलो भन्सार नाकाको रूपमा रहेको छ । वार्षिक १ खर्ब रुपैयाँको हाराहारीमा राजस्व असुल गर्ने भैरहवा भन्सार कार्यालयबाट आयत गर्ने उद्योगी व्यवसायी मारमा परेका हुन ।



भन्सार कार्यालयको आशिकुँडा वर्ड सिस्टममा पटक–पटक समस्या आउने गरेको कारण समयमा जाँचपास नहुने, उद्योगमा कच्चा पदार्थको अभाव हुने तथा कतिपय सामान त कुहिएर जाने गरेको व्यवसायीको गुनासो छ । भन्सार कार्यालयले प्रयोग गर्ने सफ्टवेयर समयअनुकूल अपग्रेड नगरेको कारण यस्तो समस्या आउने गरेको व्यवसायीको भनाई छ । 

गाडी भित्रिएपछि भन्सार एजेन्टले त्यसको इन्ट्री गर्ने हो, त्यहीदेखि समस्या सुरु हुन्छ । सामान बोकेको सवारीसाधनको इन्ट्री नै हुँदैन, इन्ट्री भइहाले आईपिएस भुक्तानीमा समस्या देखिन्छ । भन्सार एजेन्ट संघ, भैरहवाका अध्यक्ष मधु पन्थीले पटक पटकको सर्भर डाउन हुने समस्याले हैरानी भोग्नुपरेको बताए ।  



भन्सार कार्यालयको सर्भरमा अहिले भन्सार, इन्टरमोडल, बैंक लगायत यस सँग सम्बन्धित ५२ क्षेत्र इन्टरलिंक रहेको र यो केन्द्र देखि नै खराब भएको छ । सिस्टम करिब १० वर्ष पुरानो रहेको र यसलाई अपग्रेड गर्नुपर्नेमा त्यसो नभएकोले नै समस्या आएको नेपाल भन्सार एजेन्ट महासंघका अध्यक्ष प्राचीन थैव बताउँछन् ।   

भैरहवा भन्सारमा सास्ती पाएकै कारण भैरहवा भन्सार हुँदै आयात गर्ने व्यवसायीहरू भने अहिले अन्यत्र भन्सार प्रयोग गर्न बाध्य भई रहेका छन् । व्यवसायीहरूले भैरहवा नभई कृष्णनगर, खुनुवा, महेशपुर लगायतका नाकाहरूबाट आयात भइरहेको छ । 

भैरहवाका उद्योगी सिद्धार्थ अग्रवालले सर्भर डाउनका कारण व्यवसायीहरूले दैनिक लाखौँ रुपैयाँ जरिवाना तिर्न बाध्य भएको र यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पारेको बताए । 

विशेषगरी तयारी पोशाक, इलेक्ट्रोनिक्स सामान, मेसिनरी पार्ट्स तथा दैनिक उपभोग्य वस्तुका आयातकर्ता बढी प्रभावित भएका छन् । उनीहरूका अनुसार, समयमै मालसामान बजारमा पुर्याउन नसक्दा व्यापारिक चक्र बिथोलिएको छ भने गोदाम खर्च समेत बढ्दै गएको छ ।



भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरीले प्राविधिक टोलीले सर्भरको समस्या समाधानका लागि युद्धस्तरमा काम गरिरहेको बताए । यद्यपि, कहिलेसम्म सेवा पूर्ण रूपमा सुचारु हुन्छ भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन । 

यस किसिमका प्राविधिक समस्याहरू बारम्बार दोहोरिनुले सरकारी निकायको सूचना प्रविधि पूर्वाधारमा सुधारको खाँचो रहेको स्पष्ट पारेको छ । व्यवसायीहरूले दिगो समाधानका लागि भरपर्दो र अत्याधुनिक सर्भर प्रणालीको विकास गर्न सरकारसँग माग गरेका छन् । अन्यथा यसले देशको आयात निर्यात व्यापारमा मात्र नभई समग्र आर्थिक वृद्धिमा समेत ठूलो धक्का पुग्ने निश्चित छ ।

राधेश्याम विश्वकर्मा/रासस

  • प्रकाशित मिति : २३ जेठ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया