२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

आरिफ शेख अर्थात् ‘साइलेन्ट फिनिशर’
नेपाली मिडल अर्डरका मेरुदण्ड

धैर्य, अनुशासन र शान्त स्वभाव- यिनै तीन गुणले ब्याटिङ अलराउन्डर आरिफ शेखलाई नेपाली क्रिकेटमा एक स्थापित र विश्वासिलो नाम बनाएको छ ।


उनी न त निकै आक्रामक शैलीका खेलाडी हुन्, न त मिडियामा बारम्बार आउने चर्चाका पात्र । तर, जब नेपाली टोली अप्ठ्यारोमा पर्छ, आरिफको संयमित ब्याटिङले खेलको मोड परिवर्तन गर्ने गरेको छ ।



यही निरन्तरता र समर्पणका कारण टिममा उनको परिचय अलग्गै बनिरहेको छ । पछिल्लो उदाहरण नै लिऊँ- गत बिहीबार आइसिसी विश्वकप लिग–२ अन्तर्गतको नेदरल्याण्ड्सविरुद्धको खेल । 



शीर्षक्रम धराशायी भएपछि नेपालको इनिङ अप्ठ्यारोमा परेको थियो । टिमको स्कोर ६८ रन हुँदा तीन विकेटको स्थितिमा ब्याटिङ गर्न आएका आरिफले एकछिन मैदानमा मौन साधना गरेजस्तो लाग्यो । तर, त्यो मौनता वास्तवमा आत्मविश्वासको तयारी थियो ।

उनले ९९ बलमा सात चौका र दुई छक्का प्रहार गर्दै ७८ रनको सशक्त पारी खेले । आरिफले कप्तान रोहितकुमार पौडेलसँग ५५ र दीपेन्द्र सिंह ऐरीसँग ८९ रनको साझेदारी गर्दै नेपाललाई जितको सहज बाटोमा डोर्‍याए​ । जतिबेला उनी आउट भएका थिए, नेपाल जित नजिक पुगिसकेको थियो ।

आरिफको ‘म्याच विनिङ’ उपस्थितिको यो एकमात्र उदाहरण होइन । सन् २०२३ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा उनले टेस्ट राष्ट्र वेस्ट इण्डिजविरुद्ध ९३ बलमा ६३ रनको पारी खेले ।

योसँगै उनी वेस्ट इण्डिजविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने । त्यति मात्रै होइन गत वर्ष अमेरिकामा लिग–२ अन्तर्गतको सिरिजमा स्कटल्याण्डविरुद्धको खेलमा पनि आरिफले संकटको घडीमा अर्धशतक प्रहार गरेर टोलीलाई जितमा डो¥याएका थिए । 



दायाँ हाते ब्याटिङ गर्ने २७ वर्षीय आरिफको यात्रा स्कुल क्रिकेट हुँदै जिल्ला, त्यसपछि यू–१९ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा कतै सजिलो थिएन । सन् २०१४ मा एसिसी प्रिमियर कपमा यू–१९ उपकप्तानको जिम्मेवारी सम्हाल्दै उनले नेतृत्व क्षमता पनि देखाइसकेका थिए । त्यसको एक वर्षपछि सन् २०१५ मा आरिफले सिनियर राष्ट्रिय टोलीबाट डेब्यू गरे ।

हालसम्म उनले ५९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आठ अर्धशतकसहित १ हजार २०३ रन बनाएका छन् । यस्तै, टी–२० आईमा उनको नाममा ४१ खेलमा ४९४ रन छ । पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने र रोहित पौडेलको कप्तानीमा खेलेका आरिफले पछिल्लो समयमा रोहितकै नेतृत्वमा सबैभन्दा धेरै ३३ म्याच खेलेका छन् । यो आँकडाले उनीप्रति रहेको कप्तानको भरोसा प्रष्ट पार्छ ।

आरिफ मिडियाको आकर्षणभन्दा टाढा रहने तर मैदानमा टिमसँग नजिक रहने खेलाडीमा पर्छन् । साथै उनी ‘साइलेन्ट फिनिशर’ का रूपमा चिनिन्छन् अर्थात् आरिफ अन्तिम क्षणमा आएर पनि खेल सम्हाल्न सक्छन् । तर, उनी कहिले पनि ठूलो स्वरमा आफ्ना योगदानको चर्चा गर्दैनन् । यही विनम्रता र निरन्तरताले उनी टोलीका भरोसायोग्य ब्याटर बनिरहेका छन्, विशेष गरी ओडिआई टिममा ।

आरिफको क्रिकेट यात्रा उनको भाइ आशिफ शेखसँग पनि जोडिएको छ । राष्ट्रिय टोलीमा यो दाजुभाइको उपस्थिति नै नेपाली क्रिकेटको सौन्दर्य बनेको छ । विकेटकिपर/ब्याटर आशिफ दाजु आरिफलाई आफ्नो ‘मेन्टर’ मान्छन् । खेल प्रदर्शनका हिसाबमा आरिफभन्दा आसिफले बढी मौका पाएका छन् । उनी हाल दुवै फर्म्याटमा पहिलो रोजाइका ओपनर हुन् । 

आसिफले हालसम्म ओडिआईमा ५८ खेलमा १ हजार ५६१ रन बनाएका छन्, त्यसक्रममा उनले सर्वाधिक १३ अर्धशतक प्रहार गरेका छन् । आसिफ ओडिआईमा सर्वाधिक रनकर्ता नेपाली ब्याटरको सूचीमा दोस्रो स्थानमा छन् । यस्तै, यो सूचीमा आरिफ चौथो स्थानमा छन् ।

यस्तै, टी–२० आईमा पनि आसिफको प्रदर्शन सन्तोषजनक नै छ ।

उनले हालसम्म यस फर्म्याटमा ५७ इनिङ्समा सात अर्धशतकको मद्दतमा १ हजार ३५२ रन बनाएका छन् । आसिफ क्रिकेटको महारथी भारतविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन् ।

उनले सन् २०२३ को एसिया कपमा ९७ बलमा ५८ रनको पारी खेलेका थिए । 

  • प्रकाशित मिति : २४ जेठ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया