७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

सानी : जसले बुझ्नै सकिन कहाँ, कहिले र के गल्ती भयो

'फेरि आइपुगिस् !'  सानीलाई देख्ने बित्तिकै आमाले भन्नुभयो। ऊ केही नबोली लुसुक्क कुनामा गएर बसी, निन्याउरो अनुहार लिएर ।  

'के भयो  ? फेरि किन आएकी? ' आमाको प्रश्न।



 'मलाई स्कुलबाट यतै जानु भन्नुभएको थियो बिहान।  उनी घरमा छैनन्, त्यसैले...,' सानी डराउँदै डराउँदै बिस्तारै बोल्छे।  

'अनि जा भन्दैमा लुसुक्क यता आउने हो त? उतै जानु पर्थ्यो नि। तैँले नि कहिल्यै सुख नदिने भइस्' आमा फतफताउँदै यता उता गर्न थाल्नु भयो। 



सानी स्कुलको झोला खोलेर गृहकार्य गर्न थाली । यस्तैमा भाइहरू हल्ला गर्दै भित्र पसे। 'ए, दिदी पनि आउनु भएछ। हामी सबै जना खेल्न जाने है।' ठुलो भाइले भन्यो।

"भोक लाग्यो आमा खाजा दिनुस् न" सानो भाइले भन्यो । आमाले दुवै जनालाई खाजा' घिउ चिनी चिउरा' दिनुभयो। सानीले हेरि रही। "ला त पनि खा" भन्दै चिनी चिउरा दिनुभयो। दिनभरी भोकाएको पेटमा त्यो चिनी चिउरा अमृत समान भयो सानीका लागि। 


खाजा खाइसकेपछि भाइहरू फेरि खेल्न गए चौर तिर । दिदी पनि आउनु न, लक्ष्मी दिदी, रमा दिदीहरू पनि खेल्दै छन् चौरमा । भन्दै थिए। दिदी जान्न खेल्न, अहिले घर जानु पर्छ। आमाले भन्नुभयो। उनीहरू उफ्रिँदै निस्किए । सानी चुपचाप गृहकार्य गर्न थाली। 

कहिबेर पछि बुवा आइपुग्नु भयो अफिसबाट। सानीलाई देखेर "कति बेला आइस् नानी?" भन्नुभयो। सानीले जवाफ दिनु अघि नै आमाले भन्नुभयो "अघि नै आएकी हो। अब तपाईँ पनि चिया खाजा खानुस् अनि यसलाई पुर्‍याएर आउनुस्। अबेर नगर्नुस्।"    बुवा भित्र पस्नु भयो। 



भित्र कहिबेर बुवा आमा बीच के के छलफल भयो। अलिअलि आवाज सानीको कानसम्म आइपुग्दै थियो। 'आज बसोस् न त, साँझ पर्न लागी सक्यो, भोलि पुर्याइदिउला।' बुवा भन्दै हुनुहुन्थ्यो।' 

घर बिगार्नु अब यस्तै कुरा गरेर, सबै कुरा बिस्तारै बानी पर्दै जान्छ , सबैको यस्तै हो। पछि जान मानिन भने के गर्नुहुन्छ?।' आमाको आवाज।   यस्तै यस्तै...अरू आवाज पनि।

गृहकार्य गर्दा गर्दै सानीको हात लुलो भयो। कापीमा कताबाट पानीको थोपा झर्‍यो, लेखेको अक्षर धमिलो भयो। कठै ! त्यो पानीको थोपा त आँखाबाट पो झरेको रहेछ।

सानी नौ कक्षामा पढ्दै छे अहिले। उमेरले तेह्र वर्ष पूरा भई। घरकी जेठी छोरी भएर होला, ऊ सानै देखि समझदार र परिपक्व। पढाइ लेखाइमा पनि राम्रै थिई। आमा बाबुको कुनै वचनको कहिल्यै नाइँ नास्ति नगर्ने। जसले जे भने पनि आज्ञाकारी भएर पालना गर्ने। आफ्नो कारणले कहिल्यै कसैलाई गारो अप्ठेरो नपार्ने। उमेरभन्दा धेरै गुणाले परिपक्व भइसकेकी थिई बालखकाल देखि नै। 

सानीलाई याद छ, जाडो महिनाको बिदा चलिरहेको थियो, पुस माघको महिना थियो। ऊ कक्षा आठ को परीक्षा दिएर बसेकी थिई। एक दिन घरको बरण्डामा बसेर मामाघरबाट ल्याएको अमलाको तितौरा बनाउँदै थिई। त्यत्तिकैमा बुवासँग दुई जना पाहुना आए घरमा। बुवाले चिया बनाउन भन्नुभयो। अघिपछि पनि पाहुना आउँदा चिया बनाउन ऊ अघि सर्थी, आज पनि बनाई। 

ती मान्छेहरू बुवा आमा सँग केही कुरा गरेर चिया पिएर गए। दिनहरू बित्दै थिए। फागुन महिनामा लाग्यो, फागुन सात गते प्रजातन्त्र दिवस पछि नयाँ शैक्षिक सत्र सुरु भयो। सानी पनि नौ कक्षामा पढ्ने भई। स्कुल जान थाली छिमेकी घरका दिदीहरू शुभा दिदी र रमा दिदी सङ्गै।  डिल्लीबजार स्थित  पद्मकन्या विद्याश्रमको स्कुल ड्रेस हरियो रंगको घाघर सुरुवालमा सेतो पछ्यौरी अनि कपाल दुई चुल्ठी बाटेर रातो रिबन लगाएर।

अलि दिन पछि ती पाहुनाहरू घरमा फेरि आए । यस पटक तिनका साथमा एक जना महिला पनि थिइन् होचो कद, मोटो शरीर र ठूला ठूला आँखा भएकी।  सानी फेरि चिया खाजा बनाउन गई आमा सङ्गै भान्छामा। कहिबेर पछि चिया लिएर बैठक कोठामा आउँदा त सानीको झण्डै सातो गएको  डरले ती महिलालाई देखेर। तिनी त ऊ पढ्ने स्कुलकै शिक्षिका पो रहिछन्। साह्रै कडा स्वभाव र खरो व्यक्तित्व भएकी शिक्षिका का रूपमा चिनिन्थ्यो उनलाई पूरै स्कुलमा।  

यस्ती खरी शिक्षिका किन आफ्नो घरमा आएकी हुन सानीले बुझ्नै सकिन। 'मैले स्कुलमा केही गल्ती पो गरेछु की, गृहकार्य गर्दा पो बिगार गरेछु की, पढाइमा अल्छी पो भएछु कि...? मेरो बारेमा कुरा लगाउन मेरै घर सम्म पो आइछन् यिनी त, अब के भनेर हप्काउने  हुन्, हे भगवान् !,  सानीको डर बढ्दै गयो।  ऊ डराएर निहुरी रही।  तर... तर तिनले त नाम कक्षा र सेक्सन मात्र सोधिन् । 

सानीको डर केही कम भयो। तिनीहरू गएपछि आमाबुवा दुवै जना सानीको मुख तिर हेरेर केही बोलूँ कि नबोलूँ झैँ गर्न थाल्नु भयो। सानीको डर फेरि बढ्न थाल्यो ' लौ मार्‍यो, तिनीहरूले त बुवा आमालाई पो कुरा लगाएर गएछन्। अब कति गाली खानु पर्ने हो ? 'मुटुको धड्कन बढ्ने क्रममा थियो।' मैले केही गल्ती गरेको छैन, सधैँ गृहकार्य गर्ने गरेको छु। अनि अरू केही बिगार गरेकी पनि छैन आमा' सानीले काँपेको स्वरमा भनी। 

"उनीहरू तेरो कुरा लगाउन आएका होइनन्। छोराको बिहेका लागि केटी हेर्न आएका हुन्। ' आमाले भन्नुभयो । 'अनि किन यहाँ आएका त? ' सानीले अलमल्ल पर्दै सोधी।  " तँलाई हेर्न आएका हुन्। तेरो बिहे हुँदै छ अब!" "ए...!" अब अरू के भन्नु पर्ने हो सनीलाई थाहा थिएन, त्यसैले ऊ चुप लागी। उसलाई एउटै मात्र कुरा थाहा थियो की आमाबुवाले भनेको कुरा चुप लागेर सुन्नुपर्छ अनि मान्नुपर्छ। आमा भन्दै हुनुहुन्थ्यो " भाग्यमानी रैछेस्, ठूला घरबाट माग्न आएका छन्। अनि उनीहरूको घर तेरो स्कुल नजिकै छ। तँलाई स्कुल जान सजिलो हुन्छ, धेरै हिँड्नु पर्दैन। " 
" ए, त्यसो भए अब स्कुल जान धेरै हिँड्नु नपर्ने भएछ।" सानीले यति मात्र बुझी।

    केही दिन पछि ईश्वर मामा आउनुभयो घरमा। बुवा आमा सँग के के कुरा भयो थाहा भएन।  पछि एक्लै बोलाएर भन्नुभयो " भान्जी! नमान है तिमी। एसएलसी पास नगरी बिहे गर्दिनँ भन है। " सानी अन्योलमा परी ' आमाबुवाको कुरा मान्ने कि मामाले भनेको मान्ने?'   

 भित्र मामा भन्दै हुनुहुन्थ्यो "भान्जी बालखा छिन्, ज्ञानी छिन्, पढाइमा पनि राम्रै छिन्। किन यस्तो हतार गरेको ? " अर्को आवाजले भन्दै थियो"  केही पनि दिनु पर्दैन भनेका छन्,  यसरी केही चाहिँदैन भनेको बेलामा नदिए पछि कसले खर्च गर्छ।  अनि अर्को कुरा, रजस्वला नहुँदै कन्यादान गर्न पाएँ पुण्य प्राप्त हुन्छ। त्यसैले... ।"

अर्को दिन साबित्री सानीमा सँग पनि यस्तै तर्क वितर्क हुँदै थियो आमाबुवाको। तर अन्त्यमा जीत उहाँहरूकै भयो। किनकि सानी  माथी वाहाहरुकै अधिकार त थियो।  आखिर, वैशाख महिनामा बागमती नदीको किनारामा गौरी घाटमा सानीको बिहे भयो त्यो 'अन्जान केटा' सँग। तेह्र वर्षकी नाबालक छाेरीकाे बिहे गर्न लागेको भनेर काकाले पनि विरोध गर्नु भएको थियो।

त्यसैले सानीलाई पहिले नै सिकाइएको थियो यदि कसैले उमेर सोधेमा तेह्र वर्ष नभन्नु, '१६ वर्ष भए भन्नु है।' सानीले मुन्टो हल्लाएर सहमति जनाएकी थिई। बुवा आमाका वचन र आदेश ढुङ्गामा खोपिएका अक्षर झैँ थिए उसका लागि।  

तर बिहे भएको केही दिन पछि नै थाहा भयो, केटो त दुर्व्यसनमा नराम्ररी फसेको रहेछ। सुधार भइहाल्छ कि भनेर बिहे गरिदिएको रहेछ।  बाइस तेइस वर्ष उमेर पुगेको केटोलाई त कमसेकम बीस वर्ष पुगेकी केटी बिहे गरिदिएको भए पो सुध्रेला भन्ने अपेक्षा गर्न सकिन्थ्यो होला । यति सानी बालिका बिहे गरिदिएर...

केटोको बानी झन् झन् बिग्रँदै थियो। उनका बुबा आमाले सुधार्न नसकेको त्यो दुर्व्यसनको लत र अन्य गलत आदत त्यो सानी बालिकाले कसरी सुधार गरोस्। तै पनि गल्ती सानीको नै देखिन्थ्यो सबैको नजरमा चारैतिर बाट। यसै क्रममा ती केटा कहिले काहीँ त घरबाटै गायब हुने गर्थें केही सामान सहित।  

जति जति उसको बदमासी बढ्दै गयो उति उति सानी माथि आक्रामक हुन थाल्यो परिस्थिति।  सानीको मुख देख्ने बित्तिकै सबैलाई रिस उठ्न थालिसकेको थियो। अनि एक दिन त्यस घरकी आमाले भनिन् " आज स्कुलबाट उता जा अनि उतै बस् केहीदिन"।  उनको आज्ञाको पालना गर्दै सानी उता गाएकी थिई त्यस दिन... ।

"उठ् अब, कति किताबमा घोप्टिएकी। झोला बोक, बुवाले पुर्‍याइदिनु हुन्छ। "आमाको आवाजले सानी झसङ्ग भई।   आमतिर फर्केर निहुरिँदै बिस्तारै भनी "आमा, म यहीँ बस्छु नि है, भाइहरू सङ्गै। त्यहाँ मलाई सबै जनाले के के भनेर गाली गरिरहनु हुन्छ। मलाई कस्तो रुन मन लाग्छ।"

" गाली गरे सुनिरहनु, केही नबोल्नु। जसले जे भने पनि मान्नु । कुटेका त छैनन् नि तँलाई। कतिका घरमा त कुट्छन् पनि। भाग्यमानी रहिछस्, गाली मात्र गर्छन्। कुटाई खानबाट बचेकी छस्। " आमा अरू पनि खै के के भन्दै हुनुहुन्थ्यो। सानीले मनमनै सोची 'म त कति भाग्यमानी रहेछु, गाली मात्र खान्छु कुटाई खानु परेको छैन।'

सानीले बुझ्न सकिन  ऊ बाट कहाँ , कहिले र के गल्ती भयो।  तर सानी फूटबल झैँ कहिले वल्लो गोल पोस्ट त कहिले पल्लो गोल पोस्ट गर्दै गुडी रही, धेरै... धेरै अवधि (वर्ष) सम्म ।

बुबा ढोकासम्म पुगिसक्नु भएको थियो। सानी किताबको झोला बोकेर उभिई अनि बिस्तारै ढोकाबाट बाहिर निस्किई। बाहिर झमक्क साँझ परिसकेको रहेछ। चरा चुरुङ्गी र जनावर पनि आआफ्नो बासस्थान तर्फ फर्किँदै थिए। तर सानीको बासको टुङ्गो लागेको थिएन।

बुबा अघि अघि, सानी पछि पछि, आधा घण्टाको पैदल यात्रा पछि 'त्यो मान्छेको घर' अर्थात् सानीको कथित घर पुग्ने गल्ली आइपुग्यो। गल्ली भित्र छिराएर बुबा फर्किनु भयो। सानी डराउँदै घर भित्र छिरी। उसलाई देख्ने बित्तिकै त्यो घर की आमाले ठूला ठूला आँखा पार्दै भन्नुभयो "फेरि आइस्: अलि दिन पनि राख्न सकेनन्।" अरू पनि खै के के भन्दै हुनुहुन्थ्यो...।

सानीले बुझ्न सकिन  ऊ बाट कहाँ , कहिले र के गल्ती भयो।  तर सानी फूटबल झैँ कहिले वल्लो गोल पोस्ट त कहिले पल्लो गोल पोस्ट गर्दै गुडी रही, धेरै... धेरै अवधि (वर्ष) सम्म । ...तर सानीले बुझ्न सकिन ऊ बाट कहाँ, कहिले र के  गल्ती भयो  र कसरी गल्ती सुधार्ने भनेर । यस्तो कहिले सम्म र किन...? कसैले भनिदिन सक्नहुन्छ कि...? 

  • प्रकाशित मिति : २४ जेठ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया