दैनिकरूपमा सेवन गर्दै आएका तरकारी, फलफूल तथा अन्य खाद्य वस्तुहरूमा विषादीको मात्रा छ कि छैन भन्ने कुरा निर्धारण गर्नु सर्वसाधारणका लागि सजिलो कुरा होइन । हामीले आँखाले हेरेर, नाकले सुँघेर वा स्वाद चाखेर ती वस्तुमा विषादी छ वा छैन भन्ने कुरा पत्ता लगाउन सक्दैनौँ । हेर्दा सफा, ताजा र आकर्षक लाग्ने खाद्यवस्तुहरू भित्रभित्रै अत्यधिक विषादीयुक्त हुन सक्छन्, जुन हाम्रो स्वास्थ्यका लागि अत्यन्त घातक हो ।
विषादीको मात्रा थाहा पाउन वैज्ञानिक प्रविधिको प्रयोग अनिवार्य हुन्छ । त्यसका लागि प्रयोगशालामा परीक्षण गर्नुपर्छ । नेपालमा यस्तो परीक्षण प्रणाली अझै पूर्णरूपमा कार्यान्वयनमा आएको छैन । तर, सरकारले भने बजेटमार्फत हरेक वर्षजसो तरकारी तथा फलफूललगायत वस्तुहरूमा विषादी परीक्षणलाई प्राथमिकता दिँदै आएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा पनि खाद्यान्न, तरकारी, फलफूल, मासु र दूधजन्य पदार्थ बजारमा बिक्री गर्नुपूर्व अनिवार्यरूपमा गुणस्तर तथा विषादी परीक्षण गर्नु पर्ने व्यवस्था वाचा दोहोर्याए ।

‘खाद्यान्न, तरकारी, फलफूल, मासु र दूधजन्य पदार्थ बजारमा बिक्री गर्नुपूर्व अनिवार्यरूपमा गुणस्तर तथा विषादी परीक्षण गर्ने व्यवस्था मिलाइनेछ । थोक बजार केन्द्रमा द्रुत विषादी परीक्षण विधिबाट ताजा तरकारी तथा फलफूलमा विषादी अवशेष परीक्षण गरी अखाद्य देखिएमा तत्काल नष्ट गर्ने व्यवस्था मिलाइने छ,’ उनले भने ।
हाल तरकारी, फलफूललगायतका खाद्य वस्तुहरूको विषादी परीक्षण नभएको भने होइन । विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको परीक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतका १२ वटा भन्सार नाकामार्फत गरिँदै आएको छ । यस्तै, स्वदेशी उत्पादनमा प्रयोग गरिएका विषादीको परीक्षण भने केन्द्रीय कृषि प्रयोगशाला तथा प्रदेशस्तरीय प्रयोगशालामार्फत सञ्चालन हुँदै आएको छ ।
यसरी सरकारी संयन्त्रले परीक्षणका कुरा गरे पनि व्यवहारमा त्यो केवल औपचारिकतामा सीमित भएको तर्क गर्छन्, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना ।

‘विषादीको जथाभाबी प्रयोगबाट उत्पादन भएको तरकारी तथा फलफूल खान उपभोक्ता बाध्य भइरहेका छन्,’ उनी भन्छन्, ‘विचौलियाले जम्मा गरेर ल्याउने नमुना तरकारी र फलफूलमा गरिने विषादी परीक्षणको कुनै अर्थ छैन । यसले उपभोक्ताको गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न पाउने अधिकार उपभोगमा समेत असर परेको छ ।’
प्रभावकारी परीक्षण गरी उपभोक्तामाझ गुणस्तरीय तरकारी तथा फलफूल पुर्याउने सम्बन्धित निकायको दायित्व भएको पनि उनले बताए । हाल नेपालमा अधिकांश तरकारी तथा फलफूल कुनै पनि परीक्षण नगरीकनै बजारमा पुग्ने गरेका छन् ।
खासगरी भारतबाट आयात हुने तरकारीमा त झन् विषादीको मात्रा झनै उच्च हुने खतरा हुन्छ । हालसम्म नेपालमा विषादी परीक्षणका लागि अत्याधुनिक प्रविधि नै भित्रिन सकेको छैन । जसले गर्दा सामान्य प्रकारको मात्रै विषादी परीक्षण हुँदै आएको बताउँछन्, केन्द्रीय कृषि प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिल्सिना ।

उनका अनुसार हाल विषादीका जम्मा दुई समूहमा पर्ने केही मात्रामा विषादीहरूको अवशेष मात्रै परीक्षण गरिन्छ । काब्रामाईट र अर्गानोफोस्पेट समूहमा पर्ने विषादी मात्रै हाल परीक्षण हुन्छ । यसबाहेक पनि दर्जनौं नाम तथा समूहका विषादी कृषकले प्रयोग गर्ने गरेका छन् । तर, त्यसलाई नाप्ने यन्त्र नै छैन । नेपालमा हाल १६५ भन्दा बढी प्रकारका विषादी दर्ता भएर प्रयोगमा छन् ।
परीक्षणमा कार्बामेट र अर्गानोफस्फेट दुवै वा कुनै एकको मात्र पनि इन्जाइम रोकावट दर प्रतिशत ४५ भन्दा माथि देखिए उक्त तरकारी खानै हुँदैन । ३५ देखि ४५ प्रतिशतसम्म मात्रा देखिए केही दिन राखेर मात्रै खान मिल्छ ।
कार्बामेट र अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा तल रहेका तरकारी भने उपभोग गर्दा फरक पर्दैन । तर, हाल परीक्षण नहुँदा अत्यधिक विषादीयुक्त फलफूल तथा तरकारी बजारमा खुलेआम बिक्री भइरहेका छन्, जसले क्यान्सर, मिर्गौला रोग, छालाका समस्या, गर्भसम्बन्धी जटिलता जस्ता दीर्घकालीन रोगहरूमा विषादी प्रयोगको असर रहेको पुष्टि भइसकेका छन् । तर, सरकारले यसप्रति संवेदनशीलता देखाएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।