युक्रेन र रुसबीच जारी युद्धमा भूभागको विषय फेरि केन्द्रमा आएको छ ।
रुसले युक्रेनलाई आफ्ना नियन्त्रणमा रहेका भू-भागलाई रुसी क्षेत्रको रूपमा मान्यता दिन आग्रह गरेको छ । तर, युक्रेनले उक्त प्रस्ताव पुनः अस्वीकार गर्दै आफू आत्मसमर्पण नगर्ने स्पष्ट पारेको छ ।
तीन वर्षदेखि जारी युद्धमा हजारौँको ज्यान गइसकेको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । पूर्वी युक्रेनका शहर र गाउँहरूमा निरन्तर आक्रमणका कारण ठूलो क्षति पुगेको छ ।
रुसका पूर्वराष्ट्रपति तथा राष्ट्रिय सुरक्षा परिषदका उपाध्यक्ष दिमित्री मेदभेदेभले वार्तामा यथार्थ नस्वीकार्नेहरूलाई युद्धमै परिणाम देखिने चेतावनी दिएका छन् ।
रुसी सेनाले हालै दोनेत्स्कको जोर्या गाउँमा झण्डा फहराएको तस्बिर सार्वजनिक गरेको छ ।
युक्रेनको प्रमुख औद्योगिक क्षेत्र डिनिप्रोपेत्रोभ्स्कमा रुसी सेनाको गतिविधि बढ्दो छ । विश्लेषकहरूका अनुसार यहाँको समथर भूभागले रुसी सेनालाई छिटो अगाडि बढ्न सजिलो बनाएको छ ।
यदि यो क्षेत्रमा रुसले ठोस प्रगति गर्यो भने युक्रेनको सुरक्षा र अर्थतन्त्रमा गम्भीर असर पर्ने अनुमान गरिएको छ ।
युद्धबन्दी साटासाटको तयारी
इस्तानबुलमा भएको पछिल्लो वार्तामा युद्धबन्दीहरूको साटासाटमा सहमति जुटेको छ । साटासाट प्रक्रिया अर्को साता सुरु हुने तयारीमा छ ।
तर दुबै पक्षले एकअर्कामाथि प्रक्रिया अवरुद्ध गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।
रुसले युक्रेनले आफ्ना सैनिकका शव लिन नमानेको भन्दै १२०० शव सिमानातर्फ पठाएको दाबी गरेको छ । युक्रेनी गुप्तचर प्रमुख किरिलो बुदानोभले भने प्रक्रिया योजना अनुसार अघि बढ्ने र भ्रमपूर्ण प्रचारप्रति सतर्क रहनुपर्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।