निरन्तर शनिबारमा सुनिए प्रोल्लास सिन्धुलीय र रूपक अलंकार

काठमाडौं– कवि प्रोल्लास सिन्धुलीय र गजलकार रूपक अलंकार निरन्तर शनिबारको यसपटकको शृंखलामा अतिथिका रूपमा उपस्थित भए । कार्यक्रममा बोल्दै कवि सिन्धुलीयले कविता कहिल्यै पुरानो नहुने र राम्रो कविता कालजयी हुने बताए । 

कहिलेकाहीँ आफूले राम्रो लेखेँ भनेको कविता अरूले वास्ता नगरेको, तर मध्यम स्तरकै होला ठानेको कविताले खुब ताली पाउने गरेको अनुभव सुनाउँदै उनले पाठक वा स्रोताको काव्यिक चेतनाले कविताको मापनमा फरक पार्ने बताए । उनले अर्जीपत्र, सहरको वृद्धालय, म मर्न यहाँ आएको होइन, श्रीमतीको ड्राइभिङ लाइसेन्स र फाल्गुणी गुरुको फेसबुक एकाउन्ट गरी पाँचवटा कविता सुनाए ।

त्यसैगरी गजलकार अलंकारले हरेक हप्ता कार्यक्रम गर्नु निकै चुनौतीपूर्ण भएता पनि निरन्तर शनिबारले यसलाई सम्भव गराएकोमा बधाई दिए । वाल्मीकि विद्यापीठले विभिन्न साहित्यिक संघ–संस्थालाई आफ्ना साहित्यिक गतिविधि सञ्चालन गर्नका आँगन उपलब्ध गराउँदै आएको बताउँदै उनले यो आफ्नो कर्मभूमि रहेको बताए । उनले नदी थियो आज कुलो हुँदै छ, पातभन्दा पनि मान्छे हलुंगो किन, म आज काग भइसकेँ नगर बेलका कुरा, स्वभाव आफ्नै विचार आफ्नै र झोलमा कठै जात फाल्नुभयो गरी पाँचवटा व्यंग्य गजल सुनाए । 

यसपटकको शृंखलामा इन्द्र लम्साल, पूर्णिमा प्रतिविम्ब, केवल कार्की,  सुवास पराजुली, ईश्वर थापा, सुदर्शन शर्मा, पदम दाहाल, राजबाबु श्रेष्ठ सागर, विमला अधिकारी, प्रकाश बस्नेत गफाडी, प्रकाश पुडासैनी, गोविन्द गजुरेल, शैलेन्द्र अधिकारी,  सोझो गाउँलेलगायतले कविता, गीत, गजल, मुक्तक सुनाएका थिए । 

वाल्मीकि विद्यापीठमा सम्पन्न उक्त कार्यक्रमको अडियो रेडियो अन्नपूर्ण ९४ मेगाहर्जबाट आगामी शनिबार बिहान सात बजे प्रसारण हुने आयोजकले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : जेठ १८, २०७६ शनिबार १७:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया