राष्ट्रिय सभाबाट भन्सार विधेयक, २०८० स्वीकृत भएको छ । राष्ट्रिय सभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रतावमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले प्रस्तुत विधेयकले भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।
‘राजस्व चुहावट रोक्न, भन्सार प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउन, अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न विधेयकले योगदान दिनेछ,’ उनले भने ।
सो प्रस्तावमाथिको छलफलमा सांसदहरू गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, डा. बेदुराम भुसाल, तुलसाकुमारी दाहाल, मायाप्रसाद शर्मा र गोपाल भट्टराईले भाग लिएका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि संशोधन राख्न चाहने सांसदले सभाअन्तर्गतको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने बताए ।
त्यसअघि बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन पेस गरे । बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘जलस्रोत विधेयक, २०८१’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरे ।
त्यस्तै, राष्ट्रिय सभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा भैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्माले भाग लिएका थिए ।
सो प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले प्रस्तुत विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न मार्गप्रशस्त गर्ने तथा जलमार्गमार्फत नेपालको पहुँच समुद्रसम्म पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार बस्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।