२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

नेपाललाई पनि पत्याउन थाले टेस्ट राष्ट्र, वेस्ट इण्डिजसँग फक्रिँदै क्रिकेट सम्बन्ध
नेपाललाई ऐतिहासिक अवसर

नेपाली क्रिकेटले फेरि एउटा ऐतिहासिक मोड लिने संकेत देखाएको छ । नेपालले पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इण्डिजको मुख्य टिमसँग अन्तर्राष्ट्रिय टी–२० श्रृंखला खेल्न लागेको छ, जुन नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रामा एक विशेष उपलब्धि हो ।


अहिलेसम्म एकदिवसीय र ‘ए’ टिमस्तरमै सीमित रहेको यो प्रतिस्पर्धा अब पहिलोपल्ट टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको रूपमा विस्तार हुँदैछ । खेल सेप्टेम्बर २७, २८ र ३० मा यूएईको चर्चित शारजाह क्रिकेट स्टेडियममा हुने तालिका छ ।



दुईपटकको टी–२० विश्व च्याम्पियन, समृद्ध क्रिकेट परम्पराको धनी वेस्ट इण्डिजसँगको यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक मात्र होइन, सम्भावनाले भरिएको नयाँ सुरुवात पनि हो ।



नेपाल-वेस्ट इण्डिज विगत भेट

अहिलेसम्म वेस्ट इण्डिज र नेपालबीच टी–२० अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएको छैन । यद्यपि सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा यी दुई राष्ट्र भिडेका थिए ।

जिम्बाब्वेमा भएको उक्त खेलमा नेपालले प्रतिस्पर्धात्मक प्रदर्शन गरेपछि वेस्ट इण्डिजको ध्यान नेपालतर्फ तानिएको थियो । त्यसपछि उसले आफ्नो ‘ए’ टोली नेपाल पठायो र त्रिवि मैदानमा पाँच खेलको सिरिजमा प्रतिस्पर्धा गर्‍यो ।

त्यही श्रृंखलामा नेपालले वेस्ट इण्डिज ‘ए’ लाई दुई खेलमा हराउँदै आफूलाई प्रमाणित गर्‍यो । अब भने नेपाल र वेस्ट इण्डिजबीचको प्रतिस्पर्धा अभ्यास सिरिजमा मात्र सीमित रहेन ।



वेस्ट इण्डिज नेपालविरुद्ध आफ्नो मुख्य टिम उतार्दै शारजाहमा भिड्न तयार भएको हो । क्यानले वेस्ट इण्डिजसँगको श्रृंखलालाई आउँदो अक्टोबरको सुरुतिर ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीको रूपमा लिएको छ ।

त्रिवि मैदान निर्माणाधीन अवस्थामा भएकाले नेपालले विदेशी मैदान रोजेको हो । यूएई र ओमानको पिच र कन्डिसन मिल्दोजुल्दो छ । त्यसैले पनि नेपालको लागि अभ्यासका हिसाबले वेस्ट इण्डिजजस्तो प्रतिद्वन्द्वी र यूएईको मैदान अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ ।

नेपालसँग किन खेल्न चाह्यो वेस्ट इण्डिज ?

वेस्ट इण्डिज क्रिकेट बोर्डले श्रृंखला घोषणासँगै नेपालजस्ता उदीयमान राष्ट्रहरूप्रति आफ्नो समर्थन व्यक्त गरेको छ । उसले यो श्रृंखलालाई ‘क्रिकेटको पहुँच र सहकार्य विस्तार गर्ने प्रतिबद्धताको प्रतीक’ भनेको छ । 

क्रिकेट वेस्ट इण्डिजका सिइओ क्रिस डेहरिङले यो सिरिजलाई ‘क्रिकेटको विश्वव्यापी प्रभाव र एकताको उत्सव’ को उपमा दिएका छन् । नेपालको क्रिकेट यात्रामा साथ दिनु आफ्नो जिम्मेवारी र गौरव भएको उनको भनाइ छ ।

‘नेपालसँगको सहकार्य केवल अन्तर्राष्ट्रिय खेलमा साथ दिने विषय होइन, यसले क्रिकेटको मूल्य र साझा भविष्यलाई प्रतिबिम्बित गर्छ,’ डेहरिङले भनेका छन् ।

क्रिस डेहरिङ

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशजस्ता छिमेकी मुलुकहरूले नेपालसँग कहिल्यै यस्ता अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने चासो देखाएनन् । भौगोलिकरूपमा नजिक भएर पनि उनीहरूले आफ्नो ‘ए’ टिमलाई समेत नेपाल पठाएनन् । तर, सात समुन्द्र पारीको वेस्ट इण्डिजले भने नेपाली क्रिकेटको भविष्य देख्यो । र, साथ पनि दियो । उसको यो समर्थनले नेपाली क्रिकेटमा आत्मविश्वास बढाएको छ ।

वेस्ट इण्डिजविरुद्धको सिरिजले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउनेछ भने दर्शकलाई प्रतिस्पर्धात्मक क्रिकेटको वास्तविक स्वाद चखाउनेछ । खेलमार्फत दुई टाढा देशबीच बनेको यो सम्बन्ध अब सम्भावनाको नयाँ पुल बन्न थालेको छ । 

नेपालले आगामी विश्वकप छनोटमा शीर्ष तीनमा पर्नु अनिवार्य छ । त्यो लक्ष्य हासिल गर्न अहिलेबाटै क्यानले गरेको तयारी प्रशंसायोग्य छ । यो श्रृंखला नेपालका लागि जित–हारको मापदण्डभन्दा धेरै माथि छ ।

यो एउटा स्वर्णिम अवसर हो, जसले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको विश्वमञ्चमा पुनः आफ्नो पहिचान बनाउन मद्दत गर्नेछ । वेस्ट इण्डिजजस्तो क्रिकेटको समृद्ध इतिहास बोकेको टिमसँग प्रतिस्पर्धा गर्नु केवल खेल मात्र होइन, नेपाली क्रिकेटको दीर्घकालीन विकास यात्रामा एक महत्वपूर्ण र निर्णायक मोड पनि हो ।

  • प्रकाशित मिति : ३० जेठ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया