२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

गंगा सोनाम अर्थात् नेपाली संगीतकी नयाँ आशा
गाउँबाट आइडलको मञ्चसम्म गंगाको प्रेरक यात्रा

सांगीतिक‘ रियालिटी सो’ नेपाल आइडलले नेपाली संगीत उद्योगमा नयाँ प्रतिभा फेला पार्ने र उनीहरूलाई स्थापित गराउने माध्यमका रूपमा आफूलाई प्रमाणित गरिसकेको छ । यस कार्यक्रमका प्रतियोगीले केवल गायनमा प्रतिस्पर्धा गर्नु मात्र होइन, स्टेजमा कसरी उभिने, आफ्ना प्रस्तुति कसरी आत्मविश्वासका साथ दिने, मिडियासँग कसरी संवाद गर्ने जस्ता व्यावसायिक सीप पनि सिक्ने मौका पाउँछन् ।


बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं, रचना रिमाल, अस्मिता अधिकारी, बेनिशा पौडेलजस्ता कलाकारले यहीँबाट सांगीतिक यात्रा सुरु गरेर आज छुट्टै पहिचान बनाएका छन् । अहिले सिजन ६ को प्रसारण भइरहँदा नेपाल आइडलमा थुप्रै प्रतिभाशाली प्रतिस्पर्धी देखिएका छन् । तीमध्ये एउटा उज्यालो नाम हो- सिन्धुपाल्चोककी गंगा सोनाम ।



गाउँको साधारण परिवेशबाट सुरु भएको उनको यात्रा अहिले लाखौँ नेपालीको नजरमा परेको छ । उनले प्रस्तुत गरिरहेका गीतले श्रोताको मन छुने मात्र होइन, नेपाली मौलिक संगीतप्रतिको अभिरुचि र गर्वलाई झनै गहिरो बनाइरहेका छन् ।

‘खेलौँला देउडा’ र ‘साँघुरी बारी’ जस्ता परम्परागत भाकालाई उनले प्रस्तुत गर्दा जुन आत्मीयता झल्किन्छ, त्यो केवल स्वरको गहिराइ मात्र होइन, संस्कृतिप्रतिको माया पनि हो । उनका ती प्रस्तुति केही घण्टामै सामाजिक सञ्जालमा भाइरल भए, जसले दर्शकको प्रतिक्रिया कत्तिको तातो र सकारात्मक छ भन्ने स्पष्ट देखाउँछ ।



उनको संगीत यात्रा सजिलो भने कहिल्यै रहेन । न त उनको गाउँमा संगीत सिक्ने वातावरण थियो, न त औपचारिक प्रशिक्षण । तर, आवाजमा भएको सादगी र मौलिकताले नै उनलाई यहाँसम्म ल्याएको हो । निर्णायकहरूले खुलेर उनको प्रशंसा गर्दै ‘भविष्यको लोकसंगीतको स्वर’ को संज्ञा दिएका छन् ।

स्टेजमा उभिँदाको गंगाको आत्मविश्वास, सरल बोली, सौम्य हाँसो र आफ्नो पहिचानप्रतिको गर्व, यी सबैले उनलाई फरक बनाइदिएको छ । गंगाले पहिरन र प्रस्तुति दुवैमा आफ्नो थलो, भाषा र संस्कृति झल्काइरहेकी छन्, जसले दर्शकको आँखामा उनी एक सांगीतिक प्रतिनिधिका रूपमा स्थापित भएकी छन् ।

उनको लोकप्रियता राजधानीदेखि गाउँसम्म फैलिएको छ । सामाजिक सञ्जालमा गंगाका समर्थनमा हजारौं पोष्ट भइरहेका छन् । विशेषतः ग्रामीण क्षेत्रका दर्शक उनलाई लोकगीतको पुनर्जागरणकर्ताको रूपमा हेर्न थालेका छन् । संगीत निर्माता र स्टुडियोहरूले उनलाई रेकर्डिङका प्रस्ताव दिन थालेका छन् । साथै विभिन्न कन्सर्ट तथा कार्यक्रमका लागि पनि गंगालाई अफर आइरहेका छन् । यो उनको जीवनको एउटा नयाँ मोड हो, जहाँ गाउँको स्टेज पार गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने सम्भावना बलियो देखिन्छ ।



नेपाल आइडलको यो सिजन अझै बाँकी छ । तर, अहिले नै भन्न सकिन्छ- गंगा प्रतिस्पर्धी मात्र होइनन्, प्रेरणाकी स्वर पनि हुन् । उनका गीतमा नेपाली माटोको सुगन्ध छ, आत्मीयताको झल्को तथा संस्कृति र पहिचानको गर्व छ । संगीतले जब मौलिकताको बाटो समाउँछ, त्यसले जनताको मन जित्छ । गंगा सोनाम अहिले त्यही बाटोमा छिन्, एक गाउँकी चेली, जसको स्वर देशैभर गुञ्जिन थालेको छ ।

  • प्रकाशित मिति : ३१ जेठ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया