विश्वकै सबैभन्दा लामो केबलकार बन्ने प्रक्रिया औपचारिकरूपमा अघि बढेको छ । लगानी बोर्डको ६४औँ बैठकले मुक्तिनाथ केबलकार निर्माणका लागि ५७ अर्ब ६४ करोड रुपैयाँको लगानी स्वीकृत गर्दै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत स्वीकृत गरेको छ । अब मुक्तिनाथ केबुल कार १३ महिनापछि निर्माण सुरु हुने छ ।
२७ भदौ २०७५ मा मुक्तिनाथ दर्शन प्रालि र लगानी बोर्डबीच केबलकार निर्माण गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म निर्माण गरिने केबलकार ८१.०४१ किलोमिटर लम्बाइको हुनेछ ।
निर्माण सम्पन्न भएपछि यो यात्रु बोक्ने विश्वकै सबैभन्दा लामो केबलकार हुनेछ । केबलकारको सुरुवाती स्टेसन कास्कीको बिरेठाँटीमा हुनेछ भने अन्तिम स्टेसन मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा हुनेछ ।
बिरेठाँटीबाट ३ घण्टा ३६ मिनेटमा मुक्तिनाथ पुग्न सकिनेछ । केबुलकारको गति प्रतिसेकेन्ड सात मिटर हुनेछ । केबलकारमा १९ वटा स्टेसन छन् । ती स्टेसनमा यात्रु झरेर त्यहीँ बासबसी अर्को दिन यात्रा सुरु गर्न सक्ने बताउँछन्, कम्पनीका प्रबन्ध सञ्चालक श्रीधर सापकोटा । उनका अनुसार केबलकार कम्तीमा पनि दैनिक २० हजार यात्रु आवतजावत गर्ने क्षमताको रहेको छ ।
मुस्ताङको धार्मिक गन्तव्य मुक्तिनाथ मन्दिर पुग्न हालसम्म सुविधाजनक सडक बनेका छैनन् । सोही अवस्थालाई लक्षित गर्दै यो परियोजनाको कल्पना गरिएको हो । नेपालमा निजी क्षेत्रबाट बन्न लागेको यो सबैभन्दा ठुलो एकल पूर्वाधार पनि हो ।
मुक्तिनाथ केबलकार सञ्चालनमा आएपछि वार्षिक ३६ लाख यात्रुले सेवा लिने अनुमान गरिएको छ । केबलकार सञ्चालनका लागि १३ मेगावाट बिजुली खपत हुने जनाइएको छ । परियोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यद्यपि परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अझै वन तथा वातावरण मन्त्रालयमा विचाराधीन छ, जसले गर्दा समस्या भइरहेको कम्पनीका प्रबन्ध सञ्चालक सापकोटा बताउँछन् ।

‘सरकारी प्रक्रियाको ढिलाइले निर्माणको काम पछि धकेलिएको छ,’ उनी भन्छन्, ‘आयोजनाको वातावरणीय मूल्याङ्कन प्रतिवेदन (इआइए) हालसम्म पास हुन सकेको छैन । त्यसलाई छिट्टै स्वीकृत गरेर सरकारले सहजीकरण गर्नुपर्छ ।’
नेपालको धार्मिक तथा पर्यटकीय महत्व बोकेको मुक्तिनाथ मन्दिरसम्म पुग्न अब छिट्टै विश्वकै लामो केबलकारमार्फत सहज यात्रा सम्भव हुने भएको छ । यो केबलकारको निर्माण कार्य सुरु भएपछि देशलाई बहुआयामिक फाइदा पुग्ने बताउँछन्, यातायात तथा पूर्वाधारविज्ञ आशिष गजुरेल ।
‘मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल हो,’ उनी भन्छन्, ‘बर्सेनि हजारौं पर्यटक मुक्तिनाथको दर्शन गर्न पुग्छन् । तर, सडक पूर्वाधार राम्रो नहुँदा कति पर्यटक चाहेर पनि जान सकिरहेका छैनन् । केबलकार बनेपछि यात्रा सहज र सुरक्षित हुनेछ, जसले पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि ल्याउनेछ ।’
पर्यटकको चाप बढेपछि होटल, रेस्टुरेन्ट, गाइड, यातायात र हस्तकला उद्योगमा रोजगारी र आयको स्रोत बढ्नेछ । जसबाट स्थानीय आर्थिक विकासमा टेवा पुग्नुका साथै समग्र देशको विकासलाईसमेत गति दिने उनी बताउँछन् । विश्वकै लामो केबलकार बन्नुले नेपाललाई नयाँ कीर्तिमान दिलाउने छ । जसले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको प्रचार–प्रसारमा सहयोग पुर्याउने आशा गरिएको छ ।

अर्कोतर्फ मुक्तिनाथ केबलकारले अन्नपूर्ण चक्रीय पदमार्ग संकटमा पार्न सक्ने भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । यस्ता विकास परियोजनामा यस्ता समस्या बारम्बार देखिँदै आएका छन् । तर, यस्ता आयोजना मार्फत थप अवसरहरू सिर्जना हुने विश्वास यातायात तथा पूर्वाधारविज्ञ गजुरेल व्यक्त गर्छन् ।
‘केबलकार परियोजना अगाडि बढ्नु पर्यटन तथा विकासका हिसाबले राम्रो पक्ष हो,’ उनी भन्छन्, ‘तर, स्थानीय जनताको गुनासा र समस्या पनि आयोजनाले सम्बोधन गर्नुपर्छ । पदमार्गलाई पनि असर पुर्याउनु हुँदैन । केबलकारले यस क्षेत्रको नयाँ पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्दछ ।’
सबै पर्यटक केबलकार चढ्दैनन् । केबलकारले पैसावाल पर्यटकलाई यस क्षेत्रमा आकर्षित गर्छ, जसको फाइदा पर्यटन व्यवसायीलाई हुने उनी बताउँछन् । यसरी मुक्तिनाथ केबलकार केवल यातायातको साधन मात्र नभइ आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन विकासको सशक्त माध्यम बन्ने देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।