पछिल्लो समय नेपालमा सवारी दुर्घटना भयावह बन्दै गएको छ । सवारी दुर्घटनामा परी हरेक वर्ष २ हजार ३ सयभन्दा बढीले ज्यान गुमाउँदै आएका छन् । आर्थिक वर्ष २०८० असारदेखि २०८२ वैशाखसम्ममा ६९ हजार ७६२ सवारी दुर्घटना भएको थियो । जसमा ५५ हजार ५८७ मोटरसाइकल मात्रै दुर्घटना भएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक २०७६/७७ देखि २०८१/८२ को वैशाखसम्म अर्थात् पछिल्लो ६ वर्षमा दुई लाख चार हजार ५९ दुर्घटना भएका छन् । जसमा १४ हजार २३५ जनाले ज्यान गुमाएका छन् । अर्थात् प्रत्येक दिन औसत सात जनाले सवारी दुर्घटनामा ज्यान गुमाइरहेका छन् ।
त्यस्तै, यो अवधिमा भएका सवारी दुर्घटनाबाट मृत्यु, गम्भीर घाइते र सामान्य घाइते गरी एक लाख ८५ हजार १९२ जना प्रभावित भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा देशभर २३ हजार ५९७ वटा सवारी दुर्घटना भएको थियो । जसमा दुई हजार ३७६ जनाले ज्यान गुमाएका थिए भने पाँच हजार ७३८ गम्भीर घाइते र २४ हजार ४८८ जना साधारण घाइते भएका थिए ।
यसरी नेपालमा सवारी दुर्घटनाका कारण दिनहुँ धेरैले अकालमा ज्यान गुमाइरहेका छन् । सवारी दुर्घटना हुनुमा धेरै कारण जिम्मेवार हुने यातायात तथा पूर्वाधारविज्ञ आशिष गजुरेल बताउँछन् । उनका अनुसार सडक दुर्घटनाको मुख्य कारकका रूपमा सडक, सवारी र चालक मुख्य गरी जोडिन्छन् ।
त्यसमा पनि सबैभन्दा धेरै सडक पूर्वाधारका कारण दुर्घटना हुने गर्छ । ‘नेपाल कठिन भौगोलिक अवस्था भएको देश हो । त्यसमाथि राम्रो सडक पूर्वाधार निर्माण गर्न नसक्दा अझ धेरै दुर्घटना भइरहेको छ,’ उनी भन्छन्, ‘सडक पूर्वाधारको अवस्था राम्रो हुने बित्तिकै सवारी दुर्घटनामा केही हदसम्म कमी आउँछ । साँघुरा तथा जोखिमयुक्त सडक सुधार तथा विस्तार गर्ने, सडक सङ्केत, स्ट्रिट लाइट, स्पिड बम्प आदिको प्रभावकारी व्यवस्था गर्ने, अत्यधिक दुर्घटनाग्रस्त क्षेत्रको पहिचान र सुधार गर्नुपर्दछ ।’
साथै सवारी साधनको अवस्था र प्रयोगकर्ताको लापरबाहीले पनि धेरै सवारी दुर्घटना भइरहेको उनी बताउँछन् । ‘सवारी दुर्घटना घटाउन अब चालकको योग्यतासँगै दायित्व पनि तोक्ने कानुनको खाँचो छ,’ उनी भन्छन्, ‘चालकले मापसे गरेर सवारी साधन चलाउने, तीव्र गतिमा चलाउने, जहाँ पायो त्यहीँबाट ओभर टेक गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका कारणबाट अधिकांश दुर्घटना भएका छन् ।’
यस्तै, सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक व्यवस्थापनमा पनि सुधार गर्नु आवश्यक छ । ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्ने, सिसिटिभी क्यामेरा, स्पिड गन तथा अन्य प्रविधिको प्रयोग गर्ने र ट्राफिक प्रहरीको सङ्ख्या वृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने गजुरेलको तर्क छ ।

नेपालमा सडक दुर्घटना कम गर्न सरकार, ट्राफिक प्रहरी, चालक, यात्रु, सडक निर्माण निकाय सबैको उत्तिकै दायित्व हुन्छ । नियमको कडाइका साथ कार्यान्वयन, प्रविधिको प्रयोग, पूर्वाधार सुधार र सचेतनाले सवारी दुर्घटना कम गर्न सकिने यातायात तथा पूर्वाधारविज्ञ गजुरेल बताउँछन् ।
‘दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गरिएको छैन,’ उनी भन्छन्, ‘सवारी दुर्घटना न्यूनीकरण गर्नु सरकारको दायित्व हो । सरकार यो विषयमा गम्भीर हुनुपर्छ ।’
विकसित तथा केही विकासशील मुलुकहरूले सडक दुर्घटना न्यूनीकरणका लागि अत्याधुनिक प्रविधि र नवीन अवधारणा अपनाउँदै आएका छन् । यी प्रविधिले दुर्घटनाको रोकथामका साथै दुर्घटनापछि तुरुन्तै उद्धार तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुर्याइरहेका छन् ।
सडक दुर्घटना रोक्न सरकार, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकारवाला निकायले केही पहल गर्दै आएका छन् । तर पनि दुर्घटना रोक्ने प्रयास सफल हुन सकिरहेको छैन । विशेष गरी वर्षा याम र चाडपर्वका बेलामा सवारी दुर्घटना बढी हुने गरेका छन् ।
यद्यपि, साना-ठूला दुर्घटना भने सधैँ नै भइरहेका हुन्छन् । प्रस्तुत छ, यही सन्दर्भमा सवारी दुर्घटना हुनुका कारण र समाधानका उपायबारे यातायात तथा पूर्वाधारविज्ञ गजुरेलसँग गरिएको कुराकानी :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।