२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

विश्वकप छनोटलक्षित तयारीमा नेपाल, टी-२० सिरिजमा पनि लय कायम रहला ?
विश्वकपको हारको बदला लिने मौका

स्कटल्याण्डमा नेपाल फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ अध्याय लेख्ने लक्ष्यमा छ । आइसिसी विश्वकप लिग–२ को आत्मविश्वासले भरिएको नेपाली टोली सोमबार टी–२० अन्तर्राष्ट्रिय शृंखलाका नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ ।


खेल बेलुका ७:४५ देखि सुरु हुनेछ । नेपालले यस शृङ्खलालाई खेल कौसल, संयोजनको प्रयोग र आगामी विश्वकप छनोटको तयारीका हिसाबले निर्णायक मोडको रूपमा लिएको छ । नेपाली टिम अहिले उच्च लयमा छ ।



हालै सम्पन्न एकदिवसीय लिग–२ श्रृंखलामा नेपालले चारमध्ये तीन खेल जित्यो, तीमध्ये दुईवटा नेदरल्याण्ड्सविरुद्ध थिए । लिग–२ मा डच टिमलाई दुईपटक लगातार हराएको नेपाल सोमबार तेस्रो जितको खोजीमा छ । यो जितले टी–२० शृंखलाको राम्रो सुरुवात मात्र होइन, नेपाललाई मनोवैज्ञानिकरूपमा पनि फाइदा दिलाउनेछ । तर, यो खेल सहज भने हुने छैन ।



डच टोली हाल एक पुनरुत्थानको चरणमा छ । लिग–२ को अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध उसले ३ सय ७० रनको लक्ष्य ४९.२ ओभरमा पूरा गर्दै कीर्तिमानी जित दर्ता गर्‍यो ।

यसरी उच्च स्कोर पछ्याएर खेल जित्न सक्ने क्षमताले उसलाई गम्भीर प्रतिस्पर्धी बनाएको छ । नेपालले त्यसरी पुनर्जीवित टोलीसँग भिड्न आफ्नो सबै रणनीति तिखार्नुपर्नेछ ।

हेड टु हेड



हालसम्म नेपाल र नेदरल्याण्ड्सले टी–२० आईमा पाँच म्याच खेलेका छन्, जसमा नेपालले दुई र नेदरल्याण्ड्सले तीन खेल जितेको छ । सोमबारको खेलमा नेपाललाई ‘हेड टु हेड’ रेकर्ड बराबरी गर्ने अवसर पनि छ ।

यी दुई टिमले टी–२० मा पछिल्लोपटक गत वर्षको विश्वकपमा एकअर्काको सामना गरेका थिए । उक्त खेलमा नेपाल ६ विकेटले पराजित भयो । नेपाल सोमबार उक्त हारको बदला लिने योजनामा पनि छ । 

खेलाडीको विगत प्रदर्शन

नेदरल्याण्ड्सविरुद्धको विगत नियाल्दा केही नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । हालसम्म टी–२० मा डच टिमविरुद्ध उत्कृष्ट ब्याटिङ गर्ने नेपाली खेलाडीको रेकर्ड ओपनर कुशल भुर्तेलको नाममा छ ।

उनले सात खेलमा १३५.५९ को स्ट्राइक रेटमा २ सय ४० रन बनाएका छन्, त्यसक्रममा कुशलले तीन अर्धशतकीय पारी खेलेका छन् । डच टिमविरुद्ध उनको उच्च स्कोर ७७ रन हो ।

यस्तै, नेदरल्याण्ड्सविरुद्ध उपकप्तान दीपेन्द्र सिंह ऐरीको विगत पनि राम्रो छ । उनले हालसम्म सात इनिङ्समा १७४.५२ को स्ट्राइक रेटमा १८५ रन बनाएका छन्, त्यसक्रममा दीपेन्द्रले दुई अर्धशतकीय पारी खेलेको विगत छ ।

यस्तै, बलिङतर्फ नेदरल्याण्ड्सविरुद्ध सर्वाधिक विकेट लिने नेपाली बलरको सूचीमा करण केसी शीर्ष स्थानमा छन् । उनले हालसम्म १३ खेलमा ७.८६ को इकोनमीमा १६ विकेट लिएका छन् । डच टिमविरुद्ध करणको उत्कृष्ट बलिङ स्पेल १७ रन दिएर ४ विकेट लिनु हो । 

यस्तै, यो सूचीको दोस्रो स्थानमा स्पिनर सन्दीप लामिछाने रहेका छन् । उनले अहिलेसम्म ५ इनिङमा ७.९५ को इकोनमीमा १२ विकेट लिएका छन् । टी–२० आईमा नेदरल्याण्ड्सविरुद्ध सन्दीपको उत्कृष्ट बलिङ २० रन दिएर ४ विकेट लिनु हो ।

नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट विगत बनाएका कुशल, दीपेन्द्र, करण र सन्दीप यसपालि पनि टिममा छन् । उनीहरूले अघिल्ला अनुभव र आत्मविश्वासलाई मैदानमा उतार्न सके नेपाललाई ठूलो फाइदा पुग्नेछ ।

यो शृंखला नेपालका लागि जित–हार मात्र नभइ टी–२० विश्वकप एसिया छनोटको पूर्वतयारीको महत्वपूर्ण अवसर पनि हो । अक्टोबरमा ओमानमा आयोजना हुने छनोट प्रतियोगितालाई लक्षित गर्दै नेपालले स्कटल्याण्ड भ्रमणलाई रणनीतिक अभ्यासको रूपमा लिएको छ ।

यस सिरिजमा नेपालले नयाँ खेलाडीलाई मौका र मिडल अर्डर ब्याटिङलाई थप स्थायित्व दिने तथा बलिङ संयोजन मिलाउनेजस्ता पक्षमा ध्यान केन्द्रित गर्नेछ । नेपालले जारी टी–२० श्रृंखलामा केही नयाँ अनुहारलाई मौका दिने सम्भावना छ ।

चोटका कारण अलराउन्डर सोमपाल कामी र गुल्शन झा बाहिरिएसँगै प्रशिक्षक स्टुअर्ट लले युवा खेलाडीलाई स्थान दिने देखिएको हो । यस सिरिजमा भीम सार्की, किरण ठगुन्ना र रुपेश सिंहले डेब्यू गर्ने सम्भावना छ ।  

  • प्रकाशित मिति : १ असार, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया