असारको झरीसँगै देशभर रोपाइँको चहलपहल सुरु भएको छ । वर्षाको सिजनसँगै किसान खेतबारीमा खटिन थालेका छन् ।
बाजुराको बडिमालिका नगरपालिका–३ रजालीका किसान अहिले धान रोपाइँको खेतबाट सुरु भएको समय साँझ पनि त्यही खेतमै टुंगिन्छ ।
ग्रामीण परिवेशको यथार्थ झल्काउने दृश्य रजालीका खेतमा सजिलै देख्न सकिन्छ । एकातिर पुरुष कोदाली र हलो लिएर गोरु डोर्याउँदै जमिन जोत्न तल्लीन छन्, अर्कातिर महिला हरियो धानको बेर्ना निकाल्दै, भिजेको छेउमा लाइन मिलाएर रोप्दै छन् ।

रजालीकी महिला किसान रोपाइँको चटारोमा यसरी व्यस्त छन् कि खाना खाने समेत फुर्सद छैन । खेतमा भिज्दै, हाँस्दै काम गरिरहने दैनिकी बनिरहेको छ । खेतमा हात चलाउँदै गला चलाउने उनीहरूको रोपाइँका भाकाले खेत गुन्जिरहेको छ । खेतका दुई छेउबाट महिलाले दोहोरी गर्दै रोपाइँलाई थप रमाइलो बनाएका छन् ।
बाजुराको बढिमालिका नगरपालिका–३ का किसान धन वहादुर रावल भन्छन्, ‘जेठ सुरु हुनासाथ असारको निम्तो आएको जस्तो लाग्छ । असारभर हामी खेत जोत्न, खन्न र कोदो सार्ने काम गर्छौँ । आकाशबाट पानी झर्नासाथ खेतबारीको तयारीमा जुट्छौँ । अरूले त पानी पर्यो भने ओभानो खोज्लान्, तर हामी भने हत्तपत्त खेततर्फ लाग्छौँ । यही समय हो– धान रोप्ने, खेत जोत्न र मिहिनेत गर्ने ।’
बढिमालिका नगरपालिका–३ रजालीकी जानुका रावल भन्छिन्, ‘रोपाइँ हाम्रो संस्कृति र परम्परा हो । यो मौकामा हामी भाका हाल्छौँ, गीत गाउँछौँ र महिला दिदीबहिनीको भेटघाट पनि यतिबेला नै हुन्छ ।’

बुढीनन्दा नगरपालिकाका बलबहादुर रावत भन्छन्, ‘किसानको दिन भनेको खेतमै बित्ने दिन हो । हामी पुरुषहरू ‘हली’ बनेर जोत्न र खन्ने गर्छौँ भने महिलाहरूलाई ‘राप्नेरी’ भन्छौँ । रोपाइँमा साली–भेनाझैँ हाँसो–मजाक चल्छ । वरपर हिलो छ्यापाछ्याप गरेर रमाउने परम्परा छ, कामसँगै रमाइलो गर्ने हाम्रो शैली हो ।’
वर्षामा हिलोमा भिज्दै, गीत गाउँदै, हाँसखेलका साथ काम गर्ने किसानको यो जीवनशैली साँच्चिकै प्रेरणादायक छ । जहाँ श्रम मात्र होइन, उत्सव पनि सँगसँगै पाइन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।