विप्लव पार्टीका पोलिटब्यूरो सदस्यलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने– सन्तानले घर छोडेर गए भने दिनभरी उनीहरूकै चिन्ता हुन्छ

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घर छाडेर गएका आफ्ना सन्तान बेलुकी टुप्लुक्क घर आइपुग्दा अभिभावकलाई खुसी लाग्ने बताएका छन् । विप्लव समूहका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पदम राईलाई आइतबार पार्टी प्रवेश गराउने प्रसङ्गमा प्रचण्डले उक्त कुरा बताएका हुन् । 

प्रचण्डले भने, ‘अभिभावकलाई आफ्ना छोराछोरी या पात्रहरू रिसाएर, झगडा गरेर घर छोडेर गए भने दिनभरी उनीहरूकै चिन्ता लागिरहेको हुन्छ । के खायो होला, के लगायो होला, दुःख पायो होला । किनभने आफैंले हुर्काएको आफैंले पढाएको, आफैंले सम्हालेर यहाँसम्म ल्याँएको मान्छे, सधैं घरमा राखेर खुवाएको मान्छे गए पछि चिन्ता हुन्छ । बेलुका टुपुक्क आइपुगेपछि असाध्यै खुसी लाग्ने हुन्छ अभिभावकलाई । हाम्रो स्थिति त्यस्तै छ । पदम राई फेरि आएपछि हामी असाध्यै खुसी छौं ।  

प्रचण्डले कुनै आग्रह पूर्वाग्रह नराखी मूल राजनीतिक प्रक्रियामा समाहित हुन नेपालका सबै कम्युनिस्टहरूलाई अपिल पनि गरेका छन् । 

उनले भने, ‘अरू कम्युनिस्ट समूह भनेर साथीहरूले जो चलाइरहनु भएको छ आउनुहोस् ! बसेर छलफल गरौं । संवाद गरौं । इतिहास, वर्तमान, राष्ट्रको, अन्तर्राष्ट्रिय परीस्थितिको समीक्षा गरौं । विश्लेषण गरौं । र, एउटा बलियो केन्द्र मार्फत् जनताका चाहना पूरा गरौं ।’

उनले समाजवादी आन्दोलनको नयाँ मोडेलको सन्देश विश्वलाई दिनुपर्ने बताए । प्रचण्डले नेपालमा एउटै बलियो कम्युनिस्ट पार्टी बनाउनुपर्ने बताउँदै त्यसको नेतृत्वमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना पूरा गराउनुपर्ने बताए ।  

पार्टी प्रवेश कार्यक्रममा सचिवालय सदस्यहरू रामबहादुर थापा 'वादल' र विष्णु पौडेल  पनि  सहभागी थिए । 





  • प्रकाशित मिति : जेठ १९, २०७६ आइतबार ११:२९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया