२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

क्रिकेटको तीनवटै ढाँचामा नयाँ नियम : कसलाई फाइदा ?
टेस्टमा नयाँ नियम आजदेखि लागू

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले क्रिकेटका केही महत्वपूर्ण नियम परिवर्तन गरेको छ । आइसिसीले तीनवटै फर्म्याटमा चारवटा नियम परिवर्तन गरेको हो ।


आइसिसीले पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय खेलको दुई बलको नियम र सबै ढाँचामा लागू हुने कन्कसन–सब्स्टिच्युटसम्बन्धी नियममा प्रस्तावित परिवर्तनलाई अनुमोदन गरिसकेको छ ।



आइसिसीको पुरुष क्रिकेट समितिले सिफारिस गरेका र प्रमुख कार्यकारी समितिले पारित गरेका यी नयाँ नियम टेस्टमा १७ जुन, एकदिवसीयमा २ जुलाईमा तथा  टी–२० आईमा १०​जुलाईदेखि लागू हुने छन् । 



अहिलेसम्म एकदिवसीय खेलको हरेक इनिङमा दुईवटा नयाँ बल प्रयोग हुँदै आएको थियो, जसमा दुवै छेउबाट बलिङ गरिन्थ्यो । अब भने यो नियम संशोधन गरिएको छ । नयाँ नियमअनुसार ५० ओभरको इनिङमा पहिलो ३४ ओभरसम्म मात्र दुई बल प्रयोग गर्न पाइन हुनेछ । त्यसपछि बाँकी १६ ओभरका लागि बलिङ टोलीले तीमध्ये एउटा मात्र बल रोजेर दुवै छेउबाट प्रयोग गर्नुपर्नेछ ।

यदि खेल सुरु हुनुअघि नै प्रतिसाइड २५ ओभर वा त्योभन्दा कममा घटाइएको छ भने भने सुरुदेखि अन्त्यसम्म एउटै नयाँ बल मात्र प्रयोग गरिनेछ । आइसिसीले यो परिवर्तन ‘ब्याट र बलबीच सन्तुलन कायम गर्न’ गरिएको बताएको छ ।

यस्तै, कन्कसन सब्स्टिच्युटसम्बन्धी नयाँ नियमअनुसार अब खेल सुरु हुनुअगावै प्रत्येक टोलीले म्याच रेफ्रीलाई सम्भावित प्रतिस्थापनका लागि पाँच भूमिकामा खेलाडीको नाम बुझाउनु पर्नेछ ।



ती भूमिकामा एक विकेटकिपर, एक ब्याटर, एक फास्ट बलर, एक स्पिन बलर र एक अलराउन्डर समावेश हुने छन् । यस नियमले खेलको बीचमा चोटग्रस्त खेलाडीको सट्टा असम्बन्धित भूमिकामा खेलाडी उतार्ने प्रवृत्ति नियन्त्रण गर्नेछ र सब्स्टिच्युट चयनमा पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ ।

गत जनवरीमा भारत र इंग्ल्यान्डबीच भएको टी–२० सिरिजको चौथो खेलमा कन्कसन सब्स्टिच्युटसम्बन्धी निर्णय विवादित बनेको थियो । सो खेलमा भारतले ब्याटिङ अलराउन्डर शिवम दुबे घाइते भएपछि बलिङ अलराउन्डर हर्षित रानालाई प्रतिस्थापनका रूपमा मैदानमा उतारेको थियो । रानाले त्यो खेलमा ३३ रन दिएर तीन विकेट लिँदा धेरैले उनलाई ‘लाइक–फर–लाइक’ सब्स्टिच्युट नभएको भन्दै म्याच रेफ्रीको निर्णयमाथि प्रश्न उठाएका थिए ।

त्यसैलाई ध्यानमा राख्दै अब टोलीहरूले विभिन्न भूमिकाअनुसार प्रतिस्थापन खेलाडीको नाम पहिले नै टुंग्याउनुपर्नेछ ।  यस्तै, क्याचसम्बन्धी नियममा पनि आंशिक तर महत्वपूर्ण परिवर्तन गरिएको छ ।

मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले अब बाउन्ड्री लाइन बाहिर गएर हावामा ‘बनी हप’ शैलीमा गरिएको क्याचलाई अमान्य ठहर गर्ने निर्णय गरेको छ । यसअन्तर्गत यदि कुनै फिल्डरले बाउन्ड्रीबाहिरबाट हावामा उफ्रेर बल छुँदै फेरि भित्र आएर क्याच लिन्छ भने त्यसलाई अब वैध मानिने छैन । यस परिवर्तनले क्याचको स्पष्टता र निष्पक्षता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

आइसिसीले ल्याएका नयाँ नियमले आधुनिक क्रिकेटमा देखिएको असन्तुलन, विवाद र अस्पष्टतालाई व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।

एकदिवसीय खेलमा दुई बलको प्रयोगलाई सीमित गर्दा मिडल ओभरमा स्विङ र रिभर्स स्विङजस्ता बलरको हतियार फेरि खेलमा फर्किने सम्भावना बढ्छ, जसले ब्याटिङ–बलिङ सन्तुलन कायम गर्न सहयोग पुर्‍याउनेछ ।

कन्कसन सब्स्टिच्युटमा भूमिका निर्धारणसहितको सूची अनिवार्य हुँदा प्रतिस्थापनको निर्णयमा पारदर्शिता र निष्पक्षता सुनिश्चित हुनेछ, जसले भविष्यमा हुने विवादलाई न्यून पार्नेछ ।

त्यस्तै, बाउन्ड्री बाहिरबाट गरिने क्याचलाई अमान्य ठहर गर्ने निर्णयले अस्वाभाविक प्रयासको अन्त्य गर्दै खेलको नैतिकता र स्पष्टता बलियो बनाउने देखिन्छ ।  

  • प्रकाशित मिति : ३ असार, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया