२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

टी-२० सिरिजमा नेपालको संघर्ष : पिच कमजोर कि ब्याटर ?

स्कटल्याण्डमा अहिले त्रिकोणात्मक टी–२० आई सिरिज चलिरहेको छ । त्यहाँको शीतल मौसममा क्रिकेट माहोललाई तताउन भिडिरहेका छन्– नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्ड । उनीहरू टी–२० आई सिरिजमा प्रतिस्पर्धा गरिरहेका हुन् । 


टी–२० फर्म्याट आफैंमा जोशले भरिएको हुन्छ । र, समर्थकको चाहना हुन्छ, चौका/छक्काको वर्षा हेर्ने । तर, प्रतिस्पर्धा चलिरहेको मैदानमा टेस्ट क्रिकेटको शैलीमा ब्याटिङ देख्न पाइएको छ । 



आइसिसी विश्वकप लिग–२ सिरिजमा प्रभावशाली प्रदर्शन गरेर आत्मविश्वासमा रहेका नेपाल र स्कटल्याण्डबीचको मंगलबारको प्रदर्शनले टेस्ट क्रिकेटको झल्को दियो । ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको घरेलु टिम स्कटल्याण्ड ९७ रनमै अलआउट भयो । ९८ रनको लक्ष्य पछ्याएको नेपालका लागि पनि रन बनाउन निकै कठिन भयो । 



उक्त झिनो लक्ष्य पछ्याउन नेपालले १९.५ ओभर खेल्नुपर्‍यो । यस खेलमा कुनै पनि ब्याटरले अर्धशतकीय पारी खेल्न सकेनन् । जारी सिरिजको प्रारम्भिक दुई खेलको नतिजा हेर्दा नेपालले अपेक्षित लय पक्रन सकेको छैन । फलस्वरूपः स्कोरबोर्डले आत्मविश्वास दिने खालको आँकडा देखाउन सकेको छैन । सिरिजको पहिलो खेलमा नेपालले १ सय ५३ रनको लक्ष्य पाएको थियो ।

केही दिनअघि ओडिआई सिरिजमा उत्कृष्ट ब्याटिङ गरेको नेपालका लागि यो स्कोर खासै चुनौतीपूर्ण थिएन । तर, अपेक्षाविपरीत नेपालले सो खेललाई सहज जिततिर होइन, तेस्रो सुपर ओभरसम्म तान्न पुग्यो । अन्ततः नेदरल्याण्ड्ससँगको प्रतिस्पर्धामा नेपालले महत्वपूर्ण दुई अंक गुमायो, जसले टोलीको लयमा प्रश्न उठायो । दोस्रो खेलमा त नेपालको ब्याटिङ झन् फिक्का देखियो । 

नेपालले मात्र होइन जारी श्रृंखलामा एसोसियट क्रिकेटमा बलियो मानिने स्कटल्याण्ड र नेदरल्याण्ड्स पनि रन बनाउन संघर्ष गरिरहेका छन् । श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याउनेक्रममा डच टिमम १८.१ ओभरमा १ सय २१ रनमै समेटियो । दोस्रो खेलमा पनि १६० रनको आँकडा पार हुन सकेन । 



तेस्रो म्याचमा त ब्याटिङ झन् निराशाजनक रह्यो । घरेलु टोली स्कटल्याण्डले १९.४  ओभर खेल्दा पनि १ सय रन कटाउन सकेन । जबकि त्यही मैदान उसले पटकपटक प्रयोग गरिसकेको छ । यी सबै नतिजाले एउटै संकेत गरिरहेको छ– समस्या ब्याटरको लयमा मात्र होइन, मैदानको पिचमा पनि देखिएको छ । 

बलरमैत्री पिचका कारण लगातार ‘लो स्कोरिङ’ म्याच भइरहेका छन्, जसको असर ब्याटरको आत्मविश्वास र आक्रामक शैलीमा पनि परेको देखिन्छ । पिचको स्वभाव र उछालअनुसार रणनीति नबनाउँदा सबै टिमको ब्याटिङ गडबडिएको छ ।

लगातार ‘लो स्कोरिङ’ म्याचपछि समर्थकको प्रश्न छ– के स्कटल्याण्डको चिसो हावासँगै जमेको पिचले ब्याटिङको लय बिगारिरहेको हो ? कि तीनै टिमका ब्याटर कमजोर लयमा छन् ? ब्याटर रन बनाउन संघर्ष गरिरहेका बेला स्कटल्याण्डको पिच स्पिन बलरका लागि भने वरदानझैँ साबित हुँदैछ । नेपाली टिमका स्टार लेग स्पिनर सन्दीप लामिछाने त्यसैको उदाहरण बनेका छन् । 

जारी त्रिकोणात्मक टी–२० श्रृंखलामा उनी निरन्तर जादुमयी प्रदर्शन गरिरहेका छन् । सन्दीपले पहिलो खेलमा उनले चार ओभरमा १८ रन दिएर तीन विकेट लिए । दोस्रो खेलमा स्कटल्याण्डजस्तो अनुभवी टिमविरुद्ध उनले एक मेडन ओभरसहित ११ रन खर्चिएर ४ विकेट झारे । 

ती दुवै प्रदर्शनले सन्दीपको पुनरागमन मात्रै होइन, स्कटल्याण्डको पिच स्पिन बलिङका लागि कति अनुकूल छ भन्ने संकेत पनि दिएको छ । उनी मात्र होइन अन्य टिमका स्पिनरले पनि जारी श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

  • प्रकाशित मिति : ५ असार, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया