एनआइसी एसिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरू, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी पोर्टलबाटै दिन थालेको छ।
बैंकले यससम्बन्धी सबै जानकारी अक्सन असिस्टेन्स डट एनआईसी एसियाबैंक डटकममा सबैका लागि उपलब्ध गराएको हो । बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरुसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको बैंकले उल्लेख गरेको छ।
यसको लागि ग्राहकहरूले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

ग्राहकहरूले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिबारे थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेजसमेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्रीसम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जानकारी दिए ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।