२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

दैलेखमा ५० वर्षलाई पुग्ने प्राकृतिक ग्यास भण्डार : व्यावसायिक उत्पादन कहिले ?
अन्वेषण रणनीतिमा सुधार आवश्यक

नेपालमा पेट्रोलियम पदार्थको खानी रहेको चर्चा पहिलैबाट चल्दै आएको छ । देशभित्रै पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासका खानी फेला पर्दा र बेलाबखत भएका प्रारम्भिक अध्ययनबाट आशा जगाउने प्रशस्तै ठाउँ भेटिएका छन् ।


सरकार पनि हरेकजसो बजेटमा पेट्रोलियम पदार्थको अन्वेषण र उत्खननको घोषणा गर्दै आएको छ, यसले जनतामा नेपालमै इन्धन उत्पादन हुने आशा पलाएको देखिन्छ । 



हालसम्म विभिन्न चरणमा भएका अध्ययन अनुसन्धानमा अलि बढी काम भएको भनेको दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा पेट्रोलियम भण्डार रहेको पुष्टि हुनु हो । कयौँपटक पेट्रोलियम खानी खोज्ने प्रयास गरिएको थियो । तर, पर्याप्त अन्वेषण हुन नसक्दा नेपालमा उत्खनन गर्न सकिने गरी पेट्रोलियम पदार्थ भए/नभएको टुङ्गो लाग्न सकिरहेको थिएन । तर, दैलेखमा पेट्रोलियम भण्डार रहेको पुष्टि हुनुले अब छिट्टै त्यसको उत्पादन हुने आशा गरिएको छ । 

सोहीअनुसार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा  दैलेखको पेट्रोलियम अन्वेषण कार्य सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गर्ने प्रतिवद्धता जनाएका छन् ।



‘भौगर्भिक अध्ययन भई पहिचान गरिएका पेट्रोलियम, तामा, फलाम, म्याग्नेसियम, फोस्फराइट, क्वार्ज र किमती पत्थर लगायतका खानीजन्य वस्तुको इन्भेन्ट्री तयार गरिनेछ । दैलेखको पेट्रोलियम अन्वेषण कार्य सम्पन्न गरी नमुना परीक्षण प्रतिवेदनका आधारमा व्यावसायिक उत्पादन सुरु गरिनेछ । पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिनेछ । अन्तर्राष्ट्रिय जगतबाट सक्षम अनुसन्धानकर्ता छनौट गरी रियर अर्थ मेटल्सको सम्भाव्यता अध्ययन गरिनेछ,’ बजेटमा भनिएको छ । 

दैलेखमा लामो समयदेखि पेट्रोलियम खानी रहेको चर्चा हुँदै आएको थियो । तर, ठोस अनुसन्धानको काम भने अघि बढ्न सकेको थिएन । २८ वैशाख २०८१ बाट पेट्रोलियम खानीको विषयमा दोस्रो चरणको अनुसन्धान सुरु भयो । सोही अनुसन्धानमा दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा पेट्रोलियम भण्डार रहेको पुष्टि भयो । 

त्यतिबेला जमिनमुनिबाट ग्याँसको गन्ध आएको थियो । तर, ग्याँसको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमूना संकलन गरी चीन लगिएको थियो । त्यसको उद्देश्य दैलेखको ग्याँस व्यापारिक दृष्टिकोणले उपयुक्त छ कि छैन भन्ने पनि पत्ता लगाउनु थियो । उक्त रिपोर्टअनुसार दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिकरूपमा पत्ता लागेको छ । 

चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको भन्दै सरकारी अधिकारी उत्साहित देखिएका छन् । प्रारम्भिक रिपोर्टकै आधारमा बाँकी काम अघि बढिसकेको बताउँछन्, खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेल ।



‘अहिले हामीले प्रारम्भिक रिपोर्ट मात्रै प्राप्त गरेका छौं । जुन रिपोर्टमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस छ भन्ने पुष्टि भएको छ,’ उनी भन्छन्, ‘फाइनल रिपोर्ट आउन अझै समय लाग्छ । प्रारम्भिक रिपोर्टकै आधारमा हामीले काम अघि बढाएका छौं ।’

उनका अनुसार यो मिथेन ग्यास हो । मिथेन ग्याँस पेट्रोल–डिजेलको विकल्पमा स्वच्छ इन्धन मानिन्छ । मिथेन ग्याँसबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न र घरायसी प्रयोजनमा बत्ती बाल्न पनि सकिन्छ । साथै मिथेन ग्याँसबाट हाइड्रोजन छुट्याएर अमोनिया ग्याँस निकालेर मल कारखानामा पनि प्रयोग गर्न सकिन्छ ।

अब नेपालकै पेट्रोल कहिलेदेखि प्रयोग गर्न सकिएला भन्ने कौतुहलता छ । अहिले नै यो विषयमा केही भन्न नसकिने तर्क गर्छन्, पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी लुइँटेल ।

‘पेट्रोलियम पदार्थ प्रयोगमा ल्याउनलाई अझै धेरै समय कुर्नु पर्छ । यो आजको भोलि हुने कुरा होइन,’ उनी भन्छन्, ‘यदि आजैबाट काम सुरु गर्ने भने भने पनि नेपाली बजारमा नेपालकै पेट्रोल उपलब्ध गराउनका पेट्रोलियम चक्रका प्रत्येक खुड्किलालाई १ वर्ष समय दिँदासमेत कम्तीमा ७ वर्ष लाग्ने देखिन्छ । त्यो पनि छिटो छरितो कुनै रोक रोक बिना काम गर्दा हो । तर, हाम्रोजस्तो देशमा यो सम्भव छैन । त्यसैले अहिले नै यति वर्ष लाग्छ भनेर भन्न सकिँदैन ।’

सरकारले पेट्रोलियम पदार्थमा पटक पटक अध्ययन अनुसन्धान गर्दै आएको छ । खानी तथा भूगर्भ विभागले वर्ल्ड बैंकलगायत दातृ निकायको सहयोगमा सन् १९८० को दशकमा पेट्रोलियम पदार्थको सर्भे गरेको थियो । उक्त सर्भेले नेपालको धनगढी, कर्णाली, लुम्बिनी, वीरगन्ज, मलंगवा, नेपालगन्ज, चितवन, जनकपुर, राजविराज र विराटनगरमा गरी १० वटा ब्लकमा पेट्रोलियम पदार्थ रहेको देखाएको थियो ।

त्यसपछि २०४५ सालमा सरकारले गरेको अन्तर्राष्ट्रिय बोलपत्रमार्फत एउटा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा अन्वेषण गरेको थियो । सेल्टाइट्रन नामक कम्पनीले साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको थियो । तर, त्यति गहिराइसम्म पुग्दा पनि तेल नभेटिएपछि कम्पनी अन्वेषणबाट पछि हट्यो । 

खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन परियोजनाले हालसम्म गरेका र गराएका भौगर्भिक, भूभौतिक अध्ययन तथा अन्वेषणको परिणामले नेपालको दक्षिणमा रहेको तराई, भित्री मधेस र चुरे पर्वतमाला क्षेत्र पेट्रोलियम पदार्थ हुनसक्ने क्षेत्रको रूपमा देखाएको छ । तर, नेपालको कुन कुन क्षेत्रमा कति ठूलो परिमाणको भण्डार रहेको छ भनेर अहिले भन्न सकिने अवस्था भने नरहेको लुइँटेलको तर्क छ । 

नेपाल पेट्रोलियम पदार्थमा पूर्णतः परनिर्भर छ । नेपालले ठूलो मात्रामा विदेशी मुद्रा खर्च गरेर पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ र हरेक वर्ष यस्तो आयातको परिमाण बढ्दै गइरहेको छ ।

यदि नेपालमा पेट्रोलियम पदार्थको उत्खनन गरी व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकियो भने देशको आर्थिक विकासमा ठूलो फड्को मार्न सकिन्छ ।

  • प्रकाशित मिति : ५ असार, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया