राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा संलग्न रहेको आशंकामा १४ जना पूर्व र वर्तमान गृहमन्त्रीमाथि छानबिन गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलादेखि हालका गृहमन्त्री रमेश लेखकसम्मका नेताहरूलाई छानबिनको दायरामा ल्याउनुपर्ने तर्क गरे ।
उनका अनुसार भिजिट भिसा प्रकरण कुनै एक दलको मुद्दा नभई राष्ट्रिय सरोकारको विषय हो, जसमा सबै दल मिलेर निष्पक्ष छानबिन सुनिश्चित गर्नुपर्ने आवश्यकता छ ।
‘यो कुनै पार्टीको मुद्दा होइन, राष्ट्रको इज्जतसँग जोडिएको विषय हो,’ शाहीले भने, ‘यसमा निष्पक्ष छानबिन नभएसम्म हाम्रो विरोध कायमै रहनेछ ।’
शाहीले संसद अवरुद्ध भइरहे पनि सरकारले चासो नदेखाएको भन्दै आपत्ति जनाए । ‘हामी विरोध गरिरहँदा पनि सदन चलाउने प्रयास गरिनु दुर्भाग्यपूर्ण छ,’ उनले भने, ‘सभामुखमाथि दबाब सिर्जना गरेर जबर्जस्ती संसद् चलाउने काम लोकतान्त्रिक मर्यादाविपरीत हो ।’
उनको वक्तव्यपछि रास्वपाका सांसदहरूले संसद भवनको बेल घेराउ गर्दै नाराबाजी गरेका थिए भने राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।