२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

नेदरल्याण्ड्सविरुद्ध नेपालको सानदार जित, तालिकाको शीर्ष स्थानमा उक्लियो
कुशल भुर्तेलको उत्कृष्ट इनिङ

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा  नेपालले दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित निकाल्नेक्रममा नेपालले बिहीबार नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो । 


सिरिजको तेस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्यो । नेदरल्याण्ड्सले दिएको १ सय ७५ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । 



नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ६ चौकासहित ६५ रनको महत्वपूर्ण पारी खेलेका हुन् । टी–२० आईमा उनको यो ११औँ अर्धशतक हो ।



त्यस्तै, आरिफ शेखले २३ बलमा तीन चौका र दुई छक्कासहित ३९ रन बनाए । यस्तै, नेपालको जितमा यही खेलमा डेब्यू गरेका तेस्रो नम्बरका ब्याटर भीम सार्कीको योगदान पनि महत्वपूर्ण रह्यो । उनले १६ बलमा दुई चौका र एक छक्कासहित २७ रन जोडे ।

यस्तै, लोकेश बमले चार बलमा दुई छक्कासहित अविजित १२ रनको योगदान दिए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले १२ बलमा नटआउट १६ रन जोडे ।  

नेदरल्याण्ड्सका लागि बेन फ्लेचर, आर्यन दत्त, ज्याक लायन-क्याचेट र रोएलफ भ्यान डेर मेर्वेले एक/एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनायो ।

उसका लागि ओपनर माइकल लेभिटले आक्रामक पारी खेले । उनले ५३ बलमा ६ चौका र ५ छक्कासहित ८६ रनको पारी खेलेका हुन् । लेभिटले बुधबार पनि सानदार ब्याटिङ गरेका थिए । उक्त खेलमा उनले ५७ बलमा ९० रनको पारी खेलेका थिए । 



यस्तै, बिहीबार नेपालविरुद्ध अविजित रहेका रोएलफ भ्यान डेर मेर्वेले ३६ र आर्यन दत्तले १७ रन बनाए । यस्तै, साकिब जुल्फिकारले १४ रन जोडे । 

नेपालका लागि करण केसीले दुई, दीपेन्द्र सिंह ऐरी, ललितनारायण राजवंशी, रुपेश सिंह र सन्दीप लामिछानेले एक/एक विकेट लिए । 

यो जितसँगै नेपाल सिरिजको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । नेपालले तीन म्याच खेल्दा दुईमा जित र एक खेलमा मात्र हार बेहोरेको छ ।

नेपालसँगको हारपछि नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा झरेको छ । र, सिरिज जित्ने उसको सम्भावना समाप्त भएको छ ।

नेपालले अब सिरिजको चौथो तथा अन्तिम खेलमा शुक्रबार आयोजक स्कटल्याण्डको सामना गर्नेछ । उक्त खेलमा विजयी हुने टिमले नै सिरिज जित्नेछ । 

  • प्रकाशित मिति : ५ असार, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया