पछिल्ला केही वर्षमा विश्वव्यापी रूपमा सामाजिक सञ्जालले मनोरञ्जन, सञ्चार र प्रतिभा प्रदर्शनको स्वरूपलाई पूर्णरूपमा परिवर्तन गरिदिएको छ।
नेपालमा पनि यस्तै परिवर्तनको प्रमुख माध्यमको रूपमा लोकप्रिय बनेको छ, टिकटक । बालबच्चादेखि युवापुस्ता र वृद्ध वृद्धालाई पनि यति बेला टिकटकमा व्यस्त भएको देख्न सकिन्छ ।
टिकटकमा छोटा भिडियोको माध्यमबाट आफ्ना प्रतिभा देखाउँदै लाखौँ दर्शकको मन जित्न सफल धेरै युवा अहिले नेपाली चलचित्र क्षेत्रमा पनि देखिन थालेका छन् ।
टिकटकले विशेष गरी अभिनय, नृत्य, हास्य तथा संवाद अभिव्यक्तिको क्षेत्रमा प्रतिभाशाली व्यक्तिलाई सार्वजनिक प्लेटफर्म दिएको छ। टिकटकमा भाइरल भएका अनुहारले चलचित्र निर्माता तथा निर्देशकको ध्यानाकर्षण गर्न थालेपछि उनीहरूलाई सिधै ठूलो पर्दामा ल्याउने प्रवृत्ति बढेको छ । पहिले मिडिया वा चलचित्र क्षेत्रमा प्रवेश गर्न अनेक संघर्ष गर्नुपर्ने परिपाटी अब क्रमशः परिवर्तन हुँदै गएको छ।
टेक्नोलोजी र डिजिटल मिडिया प्रयोग गरेर टिकटक स्टारले आफ्नो कला देखाउँदै नामसहित दाम पनि कमाइरहेका छन् । यस्ता कलाकारको सूचीमा शीर्ष स्थानमा नाम आउँछ,मिस पबि अर्थात् पवित्रा साकी ।उनी टिकटकबाट उदाएकी एक चर्चित कलाकार हुन् ।
विशेषतः उनी डोटेली भाषामा बनाइएका भाइरल सामग्रीले चर्चामा आएकी पात्र हुन् । हाल मिस पबी म्युजिक भिडियो सँगै ‘मेरी बास्सै’, ‘कमेडी दरबार’ जस्ता टेलिशृङ्खलामा व्यस्त छिन् । टिकटकबाट सुरु भएको उनको यात्रा अहिले नेपाली फिल्म उद्योगतर्फ मोडिएको छ, जसले भविष्यमा उनलाई स्थायी अभिनेत्रीको रूपमा स्थापित गराउन सक्ने सम्भावना देखिन्छ।

त्यसैगरी, अर्की अभिनेत्री हुन्, सिम्रन पन्त । उनले आफ्नो अभिनय यात्रा टिकटकबाट सुरु गरिन्, जहाँ सिम्रनले लिप–सिंक, फेसन र डान्स भिडियोमार्फत दर्शकको ध्यान आकर्षित गरिन् । उनको सहज अभिनयशैली र आत्मविश्वासका कारण छोटो समयमा नै उनी सामाजिक सञ्जालमा लोकप्रिय बनिन् ।
यसै सफलताको आधारमा सिम्रनले चलचित्र ‘होस्टेल ३’ बाट डेब्यू गरेकी छन् । यस फिल्ममार्फत उनले औपचारिक रूपमा फिल्म क्षेत्रमा पाइला टेकेकी हुन् । त्यसपछि सिम्रनलाई अर्को फिल्म ‘राजमहल’ मा पनि अभिनयका लागि छनोट गरिएको छ ।
यस्तै, टिकटबाट उदाएर फिल्ममा देखिएका अर्का पात्र हुन्, पारस बम ठकुरी अर्थात् कुल ब्वाई । उनी टिकटक र युट्युबबाट नेपाली मनोरञ्जनमा उदाएका नवप्रतिभाशाली कलाकार हुन् ।
पारसले प्रारम्भमा टिकटकमा छोटो, आकर्षक र हास्य प्रधान भिडियो बनाएर लोकप्रियता प्राप्त गरे । यस बेलासम्म उनी टिकटकमा सयौँ भिडियो अपलोड गरेर लाखौँ लाइक र फलोअर्स बटुलेका छन् ।
उनले टिकटकबाट पाएको लोकप्रियतालाई उपयोग गरेर अभिनय क्षेत्रमा पाइला टेके । पारसले ‘होस्टेल ३’ बाट चलचित्र क्षेत्रमा डेब्यू गरेका हुन्।
टिकटक हुँदै चलचित्र सम्म पुग्ने सूचीमा अभिनेत्री गरिमा शर्मा पनि रहेकी छन् । चितवनकी गरिमाले २०१८ पछि टिकटकमा आफ्नो प्रस्तुति सुरु गरिन्, जहाँ उनले फेसन, नृत्य र लिप–सिंक भिडियो बनाएर दर्शकको ध्यान खिचिन्। यस माध्यमबाट नै थुप्रै म्युजिक भिडियोमा अभिनय र नृत्य गरेकी गरिमालाई पछिल्लो समय ठूलो पर्दामा पनि देख्न सकिन्छ ।
टिकटकको माध्यमबाट बढ्दो लोकप्रियताले उनले तीन वटा नेपाली फिल्ममा अभिनयको अवसरसमेत पाएकी छिन् । गरिमाको डेब्यू फिल्म ‘लन्डन टु पेरिस’ हो । दोस्रो फिल्म ‘ह्रस्व दीर्घ’ बाट पनि उनले सकारात्मक प्रतिक्रिया पाएकी छन् ।
गरिमाले अभिनय गरेको तेस्रो फिल्म ‘जन्ते बाख्रो’ हलमा प्रदर्शनरत छ ।
सन् २०१७ देखि टिकटकको यात्रा सुरु गरेकी रेश्मा घिमिरे पनि अहिलेकी चर्चित अभिनेत्री हुन् । टिकटक भिडियोबाट अभिनय क्षमता र भावनात्मक अभिव्यक्ति प्रशंसा प्राप्त गरेकी उनले चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाएकी थिइन् ।
घिमिरेले ‘अन्तिम संस्कार’ बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन् ।
सामाजिक सञ्जालको उत्थानसँगै नेपाली सिनेमामा नयाँ स्वाद र स्वर ल्याउने अनुहार भित्रिन थालेका छन् । विशेष गरी टिकटकजस्ता प्लेटफर्मबाट उदाएका केही कलाकारले म्युजिक भिडियोदेखि चलचित्रसम्म आफ्नो उपस्थिति जमाउन थालेका छन् ।
यसले टिकटकलाई केवल मनोरञ्जनको साधनमा सीमित नराखी नयाँ पुस्ताका सम्भावनाशील कलाकारको उद्गम थलोका रूपमा पनि उभ्याएको छ। तर, छिटो लोकप्रियता कमाउने र त्यत्तिकै छिटो ओझेलमा पर्ने प्रवृत्ति पनि यति नै तीव्र गतिमा देखिन थालेको छ। स्थायित्व, परिपक्वता र कला निरन्तरताको प्रश्न भने अझै उस्तै छ, उनीहरूले यस अस्थायी चमकलाई कसरी दीर्घकालीन यात्रामा रूपान्तरण गर्छन् भन्ने कुरा आगामी समयले देखाउनेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।