नेपाली महिला फुटबल टोली अर्को ऐतिहासिक उपलब्धिको सँघारमा छ । नेपाली टिम आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेल एएफसी महिला एसियन कप छनोटमा लाओसविरुद्ध खेल्दै नयाँ उपलब्धि हासिल गर्न लागेको हो ।
चार दशक लामो यात्रामा संघर्ष, समर्पण र निरन्तरता झल्काउने यो उपलब्धि नेपाली महिला फुटबलको लागि एक महत्वपूर्ण कोशेढुंगा बन्नेछ । कयौँ उतारचढाव र चुनौतीका बीच अघि बढेको नेपालको यो यात्रा कठिन र प्रेरणादायी मात्र छैन, रोमाञ्चक पनि छ ।

नेपाली महिला टिमको अन्तर्राष्ट्रिय यात्राको सुरुवात १४ डिसेम्बर सन् १९८६ मा भयो । तत्कालीन कप्तान रमा सिंहको नेतृत्वमा नेपालले हङकङविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्यो ।
ऐतिहासिक खेलमा १–० को हार बेहोरे पनि त्यो नतिजा नेपाली महिला फुटबल अघि बढ्ने आधार बन्यो । पुरुषप्रधान मानसिकता र संरचनागत असहजता बीचबाट उठ्दै महिला खेलाडीले आफ्नो पहिचान बनाउने कोसिस जारी राखे । कयौँ कठिनाइका बाबजुद नेपाली टोलीले साफ च्याम्पियनसिप, एसियन कप, ओलम्पिक छनोट र थुप्रै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा निरन्तर उपस्थिति जनाउँदै आएको छ ।
यसक्रममा नेपाली महिला फुटबलरले विदेशको व्यावसायिक प्रतियोगितामा समेत आफ्नो पहुँच बनाएका छन् । केही खेलाडीले त युरोपेली लिगसम्म खेलेको अनुभव हासिल गरिसकेका छन्, जसले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुगेको छ । तर, दुर्भाग्य हालसम्म नेपाली महिला टिमले कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । नेपालले हालसम्म खेलेका १२ फाइनलमध्ये सबैमा पराजय बेहोरेको छ ।

नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलको सुरुवात एसियन कपबाट गरेको थियो । सन् १९८६, १९८९ र १९९९ मा नेपालले सिधै एसियन कप खेल्ने मौका पायो । त्यो समयमा नेपाली महिला फुटबलले दक्षिण एसियामा आफ्नो उपस्थिति बलियो बनाइसकेको थियो । त्यसपछिको केही वर्ष भने नेपाली महिला फुटबल चलायनमान भएन । तर, सन् २०१० बाट महिला फुटबल पुनः सक्रिय बन्दै गयो ।
यही वर्षबाट सुरु भएको साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी भएपछि नेपालले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट पुनरागमन गर्यो । नेपालले हालसम्म सातपटक साफ च्याम्पियनसिप र तीनपटक सागमा प्रतिस्पर्धा गरिसकेको छ ।
त्यसबाहेक महिला टोलीले ओलम्पिक छनोट, एसियन कप, एशियन गेम्स, हिरो गोल्डकप, नादेज्दा कप, वाफ च्याम्पियनसिपलगायत प्रतियोगितामा सहभागिता जनाइसकेको छ । नेपालले अहिलेसम्म ९९ अन्तर्राष्ट्रिय म्याच खेल्दा ४६ मा जित र ३७ खेलमा हार बेहोरेको छ ।
यस्तै, महिला टिमले १६ म्याच बराबरी खेलेको इतिहास छ । यो आँकडाले नेपाली टोलीको निरन्तर प्रगति र प्रतिस्पर्धात्मक क्षमता देखाउँछ । सीमित स्रोतसाधनका बीच पनि नेपालले अन्तर्राष्ट्रिय मैदानमा आफ्नो उपस्थिति मजबुत बनाउँदै आएको छ । नेपाल अब एसियन कप छनोटमा पनि उच्चस्तरको प्रदर्शन गर्दै फेरि इतिहास रच्ने योजनामा छ ।

यो प्रतियोगिता नेपाली महिला टिमको लागि विशेष अर्थ राख्छ, किनभने लाओसविरुद्धको खेल टोलीको १००औँ अन्तर्राष्ट्रिय खेल हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालले २९ जुनमा लाओस, दुई जुलाईमा श्रीलंका तथा ५ जुलाईमा घरेलु टिम उज्बेकिस्तानको सामना गर्ने तालिका छ ।
छनोट चरणमा समूह विजेता बन्न सके नेपालले सन् २०२६ मा अस्ट्रेलियामा आयोजना हुने एसियन कपमा स्थान पाउनेछ । छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शुक्रबार २३ सदस्यीय टोलीसमेत घोषणा गरेका छन् ।
उनले टिममा एक खेलाडी परिवर्तन गरेका छन् । थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल खेलेकी सुष्मा तामाङको स्थानमा एपिएफ क्लबकी युवा डिफेन्डर प्रतीक्षा चौधरीले पहिलोपटक सिनियर टोलीमा स्थान बनाएकी छन् ।

एसियन छनोटका लागि नेपालको टोली : अञ्जिला तुम्बापो सुब्बा, अञ्जनाराना मगर, उषा नाथ, गीता राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी, विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरू लिम्बू, सबिता राना मगर, सरस्वती हमाल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।