२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

ज्योतिबहादुरलाई कम्बोडियाबाट समातेर कठघरामा उभ्याइयो, कहाँ लुके जिबी ?

ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरी फरार रहेका मुख्य आरोपी ज्योतिबहादुर भण्डारीलाई प्रहरीले बुधबार राति काठमाडौं ल्यायो । नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत खटिएको टोलीले उनलाई कम्बोडियाबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।


अहिले उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । हालसम्म सहकारीको १४ करोडभन्दा बढी रकम ठगी गरेको अभियोग उनीमाथि छ । मितेरी सहकारी ठगीमा बर्दिया बाँसगढीका ४२ वर्षीय भण्डारीको भूमिका प्रमुख देखेपछि प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको थियो ।



रेड कर्नर नोटिस जारी भएपछि उनी कम्बोडियामा रहेको ठाउँ पत्ता लागेको थियो । त्यहाँको प्रहरीले पक्राउ गरेपछि नेपालबाट एसपीको नेतृत्वमा प्रहरीको टोली कम्बोडिया पुगेर भण्डारीलाई नेपाल झिकाएको हो । यो घटना बाट पुष्टि हुन्छ, नेपाल प्रहरीले चाहेमा संसारको जुनसुकै देशमा लुकेका अभियुक्तलाई पनि पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सक्छ ।

तर, कयौँ सहकारीबाट अरबौँ ठगी मात्रै होइन, नेपालमा सहकारी घोटालाको हंगामा नै मच्चाउने गितेन्द्रबाबु राई उर्फ जिबी राईको सन्दर्भमा भने यो उदाहरण लागू हुन सकिरहेको छैन । जिबी ती व्यक्ति हुन्, जसमाथि सूर्य दर्शनलगायतका  सहकारीको अरर्बौं रकम हिनामिना गरेको गम्भीर आरोप लागेको छ । सहकारी बचतकर्ताहरूले आफ्नो करिब सवा अर्ब रुपैयाँ हिनामिना गरेको भन्दै ठगी मुद्दामा उजुरी दिएपछि सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई हाल फरार सूचीमा छन् । बचतकर्ताको उजुरीपछि प्रहरीले २४ भदौ २०८१ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यति बेला उनलाई पक्राउ गर्न ‘रेड नोटिस’ समेत जारी भइसकेको थियो । तर, उनी हालसम्म पनि पक्राउ पर्न सकेका छैनन् । 



उनीमाथि सूर्य दर्शन सहकारीको मात्रै करिब सवा अर्ब रुपैयाँ हिनामिना गरेको गम्भीर आरोप लागेको भए पनि राजनीतिक संरक्षणकै कारण उनलाई पक्राउ नगरिएको आशङ्का जनस्तरबाटै व्यापक उठिरहेको छ । डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा ‘लोकेट’ भइसकेका छन् । उनले सहकारीको रकमले मलेसियाको २०१९ मै अपार्टमेन्ट खरिद गरेको खुलेको छ । राईले मलेसियाका प्रहरीलाई समेत प्रभावमा पारेको आशंका गरिएको छ ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेले पनि जिबी मलेसियामै रहेको पुष्टि गर्दै उनलाई नेपाल फर्काउने पहल थालिएको बताएका थिए । तर, लुकेर बसेको ठेगाना पत्ता लागिसक्दा पनि हालसम्म उनलाई नेपाल झिकाउन सकिएको छैन । जसले सरकार र प्रहरीको नियतप्रति नै गम्भीर प्रश्न चिन्ह खडा भएको छ । 

तर, केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरे भने जिबीलाई जुनसुकै देशमा भए पनि नेपाल ल्याउने प्रयास भइरहेको बताउँछन् । ‘जिबीलाई पक्राउ गर्न हाम्रो पुरै संयन्त्र लागिरहेको छ,’ उनी भन्छन्, ‘हाम्रोतर्फबाट हामीले काम गरिरहेका छौँ । विदेशतिर भइसकेपछि खोजी गर्ने काम अलिक जटिल नै हुन्छ ।’



जिबीलाई जुनसुकै देशमा भए पनि नेपाल ल्याउने प्रयास भइरहेको उनी बताउँछन् । सूर्य दर्शन सहकारीका बचतकर्ताको रकम अपचलनसम्बन्धी मुद्दामा लामो अनुसन्धानपछि प्रहरीले १६ असोजमा प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । त्यसको तीन दिनपछि १९ असोजमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो । 

सो मुद्दामा सूर्य दर्शन सहकारीका पदाधिकारीहरूले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको दाबी गरिएको छ । उनीहरूमाथि सहकारी ऐनअनुसार बिगो बराबर जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजायको माग गरिएको छ । प्रहरीले बुझाएको प्रतिवेदनमा जिबी राई समूहले नक्कली सेयर सदस्यहरू सिर्जना गरी, विभिन्न कम्पनीमार्फत रकम निकालेर अपचलन गरेको स्पष्ट उल्लेख गरिएको छ ।

सूर्य दर्शन बचत तथा ऋण सहकारी ‘स्क्याम’ मा रविको नाम पनि जोडिँदै आएको छ । सहकारीकै मुद्दामा रवि हिरासतमा छन् । लामिछानेका कानुन व्यवसायीले सहकारीको रकम अपचलन मुद्दाको जड गोर्खा मिडिया नेटवर्ककका अध्यक्ष जिबी नै भएको तर्क गरिरहेका छन् । 

जिबीले ठगी गरेका घटना सूर्य दर्शन बचत तथा ऋण सहकारीमा मात्र सीमित छैनन् । काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी, रुपन्देहीको सुप्रिम र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारीमा समेत उनले अर्बौँ रुपैयाँ ठगी गरेको पुष्टि भइसकेको छ । यति ठूलो परिमाणमा जनताको पसिना र आशा बोकेको धन लुटिँदा पनि सरकार भने मौन छ ।

सरकारी तहबाट आवश्यक दबाब, अनुसन्धान र कानुनी प्रक्रिया अघि नबढाइएको प्रस्ट देखिन्छ । बरु उल्टै, जिबी विदेशी कुनै ठाउँमा खुलमखुला, आरामदायी जीवन बिताइरहेका छन्, जुन तथ्य आफैँमा राजनीतिक संरक्षणको प्रमाण हो । 

  • प्रकाशित मिति : ८ असार, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया