अमेरिकाले आइतबार इरानमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय समुदायले युद्ध फैलन सक्ने चेतावनी दिँदै कूटनीतिक समाधानको आग्रह गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली अभियानमा संलग्न हुने निर्णय लिने बताएका थिए । इरानले अमेरिकाको संलग्नता भए प्रतिकार गर्ने चेतावनी दिएको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सैन्य कदमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कूटनीतिक बाटो अपनाउन आग्रह गरेका छन् । ‘यो द्वन्द्व नियन्त्रणबाहिर जान सक्ने खतरा छ,’ उनले भने ।
लेबनानका प्रधानमन्त्री नवाफ सलामले देशलाई युद्धको प्रभावबाट जोगाउन राष्ट्रिय हित पालना गर्नुपर्ने बताएका छन् । न्यूजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्सले यो संकट ‘सबैभन्दा गम्भीर’ भएको भन्दै वार्ताबाट समाधान खोज्न आग्रह गरे ।
चीनको सरकारी मिडियाले अमेरिका इराकको गल्ती दोहोर्याउनेतर्फ उन्मुख भएको टिप्पणी गरेको छ । हमास र हुथी विद्रोहीले अमेरिकी आक्रमणको निन्दा गर्दै इरानलाई समर्थन जनाएका छन् । मुस्लिम मुलुकहरूलाई प्रतिरोधमा उभिन आह्वान गरेका छन् ।
दक्षिण कोरिया र जापानले राष्ट्रिय सुरक्षा बैठक गरी सम्भावित असरबारे छलफल गरेका छन् । अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्दै तनाव कम गर्न आग्रह गरेको छ ।
इजरायली प्रधानमन्त्री नेतन्याहूले अमेरिकी आक्रमणको स्वागत गर्दै ट्रम्पको ‘साहसी निर्णय’ को प्रशंसा गरेका छन् । कूटनीतिक समाधानभन्दा बाहिर नजाने चेतावनीसहित विश्व नेताहरूले युद्धको सम्भावित भयावह असरप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।