धनुषाको सवैला नगरपालिका–१०, खरिहानीका प्रेमकिशोर साहको मृत्यु भएको दुई वर्ष बितिसक्दा पनि उनका परिवारजन अझै न्यायका लागि भौतारिइरहेका छन् ।
दुई वर्ष अघि ११ हजार भोल्टेजमा झुण्डिएको सुविसु इन्टरनेटको तारमा टाँस्सिएर अकालमै ज्यान गुमाएका प्रेमकिशोरकी पत्नी मनिता साहले न्यायको गुहार लगाउँदै भौतारिरहेकी छन् ।
०८० असार २२ गते, प्रेमकिशोर साह खरिहानी बजारमा रहेको आफ्नै हार्डवेयर पसल बन्द गरी साँझ घर फर्किरहेका थिए । घर नजिकै सडकमा अलपत्र झुण्डिरहेको इन्टरनेटको तार साहको शरीरमा छुने वित्तिकै उनको तत्कालै मृत्यु भयो ।
पीडित परिवारका अुनसार घटनास्थलमा करेन्ट प्रवाह भइरहेको ११ हजार भोल्टेजको तार सुविसु इन्टरनेट कम्पनीको रहेको पुष्टि भए पनि, अहिलेसम्म न त कुनै छानबिन अघि बढाइएको छ, न क्षतिपूर्ति उपलब्ध गराइएको छ ।
जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मनिता साहले भनिन्, ‘मेरो पति, मेरो दुई सन्तान (१० र ८ वर्ष) र मेरा सासु–ससुराको आश्रय थिए । उहाँको मृत्युले हाम्रो जीवन नै संकटमा परेको छ । दुई वर्षदेखि इलाका प्रहरी कार्यालयदेखि लिएर जिल्ला प्रशासन कार्यालयसम्म धाइरहेकी छु, तर न्याय आश्वासनमै सीमित छ ।’
उनका अनुसार, सुविसु इन्टरनेट कम्पनीको लापरवाहीकै कारण तार झुण्डिरहँदा पनि समयमै मर्मत नगरेकाले दुर्घटना भएको हो । ‘यदि तार बाँधिएको हुन्थ्यो भने आज मेरो पति जीवित हुन्थे,’ उनको गुनासो थियो ।
मृतकका पिता मुंजेश्वर साहका अनुसार, घटना भएपछि स्थानीय टोलबासी र व्यवसायीहरूले संयुक्तरूपमा प्रशासनलाई दवाब दिएका थिए । जनकपुरधामसम्म आएर आन्दोलन पनि गरेका थिए । ‘तर दुःखको कुरा, प्रहरी प्रशासनले फाइल दर्ता त गर्यो तर आजको दिनसम्म कुनै निष्कर्ष निकाल्न सकेन,’ उनले भने ।
उनका अनुसार, सवैला इलाका प्रहरी कार्यालयमा तीनजना इन्सपेक्टर परिवर्तन भइसकेका छन्, तर कोही पनि मुद्दालाई निष्कर्षमा पुर्याउने प्रयासमा लागेनन् ।मनिता साहले क्षतिपूर्ति नपाएसम्म संघर्ष जारी राख्ने बताउँदै भनिन्, ‘मेरा सन्तानहरू अझै साना छन्, पढाइ कसरी गराउने, जीवन कसरी चलाउने ? सबैले बुझिदिनुपर्छ ।’
इलाका प्रहरी कार्यालय सबैलाले सुविसुका प्रतिनिधिलाई सोधपुछका लागि बोलाएका थिए । सुविसुले इन्टरनेटको तार (फाइबर)मा कुनै विद्युत प्रवाह नहुने बताए । कुनै ठूलो सवारी साधनको लापरबाहीले उक्त तार टुटेको हुनसक्ने सुविसुले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सबैलाले थप अनुसन्धान भइरहेको र चाँडै निष्कर्षमा पुगी पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउने जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।