काठमाडौं– निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको पर्खाल नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता तथा केही स्थानीयले भत्काइदिएपछि धुर्मुस सुन्तली फाउन्डेसनका सीताराम कट्टेल धुर्मुस चितवन पुगे । भत्किएको तारबार अगाडि उभिएर उनले भने– मैले गलत सोचेको रहेछु भने यही मैदानमा झुन्डिएर मर्छु ।
केही अघि संसदीय समितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि आफूमाथि भ्रष्टाचारको आरोप लागेपछि भने, ‘मैले भ्रष्टाचार गरेको रहेछु भने झुन्डिएर मर्न तयार छु ।’
घिसिङ र धुर्मुस नेपाली समाजका सेलेब्रिटी हुन् । उनीहरु कयौँ नेपालीका आइडल बनिसकेका छन् । लामो समय लोडसेडिङको अन्धकारमा बस्न बाध्य नेपालीलाई घिसिङले अन्धकारबाट बाहिर निकाले, विभिन्न ठाउँमा नमूना बस्ती बनाएर छाना नहुनेहरुलाई धुर्मुसले बस्ने बास बनाइदिए । दुवै जनाले नेपाली समाजलाई आश्वस्त पारेका छन्, उनीहरु समाजका लागि केही गर्न खोजिरहेका छन् ।
तर, जब एउटा आरोप उनीहरुमाथि लाग्छ, उनीहरु फ्याट्ट भनिदिन्छन्– म झुन्डिन तयार छु ।
यो समाजका आइडल बनेका उनीहरुले के बोल्दा आफ्ना अभिव्यक्तिबारे ध्यान दिनु पर्दैन ? के कुनै आरोप लाग्ने वित्तिकै म झुन्डिएर मर्छु भन्नु समाधान हो ? यसले समाजमा कस्तो असर गर्ला ?
‘उहाँहरुले खासमा अपराध नै गरिरहनु भएको छ,’ मनोविद् गोपाल ढकाल भन्छन्, ‘काम त राम्रो गर्नु भएको छ तर आफैंलाई आत्महत्या गर्न तयार छु भनेर त्यता धकेल्नु चाहिँ अपराध नै हो ।’
यस्तो अभिव्यक्ति त धार्मिक हिसाबमा पनि ठिक नभएको ढकालको बुझाइ छ । ‘यो त पाप नै हो नि,’ उनले भने ।
अर्का मनोविश्लेषक डा. वासु आचार्य पनि यो कुरासँग सहमत छन् । उनी भन्छन्, ‘यो उनीहरुले भावनामात्र प्रस्तुत गरेका हुन्, त्यस्ता शब्द प्रयोग गर्नु कुनै पनि अर्थमा ठिक होइन ।’
यस्तो अभिव्यक्तिको आफ्नै विकल्प भएको पनि डा. वासु आचार्यलाई लाग्छ । ‘बरु कानुनी कठघरामा उभिन्छु भन्नु, जस्तोसुकै सजाय भोग्न तयार छु भन्नु पर्ने हो,’ उनले भने, ‘नेपाली समाज भावनामा बग्छ, मान्छेहरु छिटो भावनामा बहकिन्छन् भनेर उनीहरुले त्यसो भनेका होलान् ।’
धुर्मुस र घिसिङ दुवैलाई आफूले राम्रो गर्न खोज्दा पनि आक्षेप लागेकाले चित्त दुखेको हुनसक्छ । त्यस्तो चित्त दुख्दा मानिस आवेशमा आउने र रिसमा जे मन लाग्छ, त्यही भन्ने बानी हुने डा. वासु आचार्य बताउँछन् । ‘यो स्वाभाविक पनि हो,’ उनले भने, ‘तर, यसले ठिक चाहिँ गर्दैन, उहाँहरुले झुन्डिएर मर्छु भन्नुभन्दा दोषी प्रमाणित भए जस्तोसुकै जटिल सजाय पनि भोग्न तयार छु भन्नुपर्छ ।’
डा. आचार्य त यस्तो भाषामाथि नै समस्या देख्छन् ।
समाजमा नाम चलिसकेका, नाम कमाइसकेका व्यक्तिले सार्वजनिक रुपमा यस्ता अभिव्यक्ति दिँदा समाजमा अत्यन्त नराम्रो असर पर्ने पनि मनोविद् ढकालको बुझाइ छ । ‘नेपाली समाजमा निराशा बढ्दो छ,’ उनले भने, ‘आत्महत्या गर्नेहरुको संख्या पनि बढ्दो छ, यस्तो समयमा सयौँले आफ्नो आइडल मानेका उनीहरुले यस्तो अभिव्यक्ति दिँदा समाज झन् विद्रुप हुँदै जान्छ ।’
त्यति मात्र होइन, यस्ता अभिव्यक्तिले समाजमा आशाभन्दा निराशा बढी हुने उनी बताउँछन् ।
हुन पनि नेपाली समाजमा उनीहरुबाट आश गरेकाहरु धेरै छन् । उनीहरुका यस्ता कुरा सुन्दा समाजमा सकारात्मक भन्दा नकारात्मक भावना बढ्नु स्वभाविक मान्न सकिन्छ ।
‘समाजलाई सकारात्मक बनाउने भनेकै अगुवाहरुबाट हो,’ ढकालले भने, ‘यस्ता अभिव्यक्ति त यो समाजका सेलेब्रिटीहरुले दिनु नै हुँदैन ।’
अर्का एक समाजशास्त्री भने सेलेब्रिटीहरुले यस्तो अभिव्यक्ति आफूलाई स्वच्छ र निर्दोष प्रमाणित गर्न प्रयोग गर्ने तर यसले समाजलाई झन् विखण्डित गर्ने बताउँछन् ।
‘उनीहरुले सुरुमा वाहवाह त पाउँछन्, भावनामा मान्छेले उनीहरुको समर्थन गर्छन्,’ उनले भने, ‘तर, यसले उनीहरुको इमेजमा पनि नकारात्मक असर गरिरहेको हुन्छ ।’
अर्कोतिर, पछिल्लो समय नेपाली समाजमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएकाले कुनै एक सदस्यले आत्महत्या गरेको परिवारमा यसले ठूलो आघात पुर्याउँछ ।
‘यहाँ त ससाना कुरामा आत्महत्या गर्नेहरु पनि छन्,’ ती समाजशास्त्री बताउँछन्, ‘त्यस्ता परिवारमा यस्ता अभिव्यक्तिले झन् ठूलो समस्या पार्छ । उनीहरु झन् बढी तनावमा हुन्छन् ।’
यतिमात्र होइन, ससाना बालबालिकाको दिमाग पनि यस्ता अभिव्यक्तिले नराम्रो छाप छाड्ने ती समाजशास्त्रीको तर्क छ ।
अर्कोतिर यस्ता अभिव्यक्तिलाई प्रपोगान्डाको संज्ञा दिन्छन्, मनोविद् ढकाल । उनी भन्छन्, ‘यो केही होइन, उनीहरुले प्रपोगान्डा गरेका हुन्, यस्ता प्रपोगान्डाको पछाडि उनीहरु नलागिदिएको भए हुन्थ्यो ।’
तर, सीताराम कट्टेल धुर्मुस चाहिँ यो अभिव्यक्ति कुनै बनिबनाउँ नभएर मनको भित्री कुनाबाट आएको मान्छन् । ‘अन्तरमनको आवाज हो त्यो, मनैदेखि आएको हो,’ उनले छोटो प्रतिक्रिया दिए, ‘त्यति बेला मैले समाजलाई कस्तो असर गर्छ भन्ने केही सोचिनँ, अरु केही पनि सोचिनँ ।’
अहिले आफू पनि ‘मानसिक टर्चर’मा भएकाले यसबारे आफूले धेरै नबोल्ने सीतारामले बताए । ‘अब त्यो घटनासँग अहिले खासै बोल्न मन छैन,’ उनले भने, ‘यत्ति हो कि त्यो अभिव्यक्ति अन्तरमन देखि आएको थियो, मैले बनाएको होइन, त्यसले कस्तो असर गर्छ भन्ने पनि सोचिनँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।