२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

देश झन्-झन् परनिर्भर, सरकारलाई भने नाराकै रहर
सरकारको आर्थिक दृष्टि: आयातमा प्रेम, उत्पादनमा उपेक्षा

‘नेपालमा सियो पनि बन्दैन’ भन्ने भनाइ केवल एक कटाक्ष होइन, देशको आर्थिक यथार्थको सार पनि हो । अपार सम्भावना बोकेको मुलुक भए पनि नेपाल आजसम्म साना–साना वस्तु उत्पादनमा समेत आत्मनिर्भर बन्न सकेको छैन । नुनदेखि सुनजस्तो विलासी उपभोग्य वस्तुसम्मका लागि समेत नेपाल अझै विदेशी बजारमा निर्भर रहनु परेको छ । 


दसौँ वर्षदेखि सरकारको मुखमा ‘आयात प्रतिस्थापन’को नारा सुनिँदै आएको छ । तर, त्यो नारा व्यवहारमा लागू गर्ने राजनीतिक इच्छाशक्ति र नीतिगत प्रतिबद्धताको अभावले नागरिक आज पनि आयातमुखी अर्थतन्त्रको चक्रव्यूहमै अल्झिएका छन् । 



भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको जेठसम्ममा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १३.१५ प्रतिशत माथि हो । गत आर्थिक वर्षमा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

पछिल्लो एक महिनामा मात्र १ खर्ब ७० अर्ब रुपैयाँ हाराहारीको आयात भएको छ । विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा आयात भएका वस्तुमध्ये सबैभन्दा धेरै मूल्यको डिजेल आयात भएको छ । सो अवधिमा एक खर्ब १५ अर्ब ५५ करोड एक लाख ७१ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको हो ।



सो अवधिमा दोस्रो धेरै आयात हुने वस्तुमा सोयाबिन तेलको कच्चा पदार्थ रहेको छ । जुन ९५ अर्ब ७२ करोड ६१ लाख ५२ हजार रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै, तेस्रोमा पेट्रोल रहेको छ भने  ग्यास चौथोमा रहेको छ । नेपालमा उत्पादन सम्भव नहुने वस्तु आयात गर्नु स्वाभाविक हो । तर, नेपालमै उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भइरहेको छ । 

परनिर्भरताको विडम्बना यति गहिरो छ कि कृषिप्रधान मुलुक भनिने नेपालमा समेत दैनिक उपभोग्य सामग्रीजस्तै चामल, दाल, गहुँ, मकै, फापर, कोदो, तोरी, खाने तेल जस्ता वस्तुहरूमा समेत भारतलगायतका मुलुकहरूमा भर पर्नु परिरहेको छ । यसले मुलुकले बेहोरिरहेको बढ्दो व्यापार घाटाको आँकडा देखाएको मात्र छैन, सरकारको अक्षमता पनि उदाङ्गो पारेको छ ।

यसो भनिरहँदा आयात आफैंमा गलत होइन, तर आत्मनिर्भर बन्न सक्ने क्षमता हुँदाहुँदै त्यसलाई विकास गर्न नसक्नु समस्या हो । सरकारले आयात प्रतिस्थापन, स्वदेशी उत्पादन प्रवर्द्धनको घोषणामा कुनै कसर बाँकी राखेको छैन । तर, ती घोषणा कागजमै सीमित छन् ।

पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्र राम्रो देखिए पनि आन्तरिक अर्थतन्त्रमा भने खासै सुधार हुन सकेको छैन । बाह्य अर्थतन्त्र सकारात्मक देखिँदा समग्र देशको अर्थतन्त्र राम्रो हुन्छ भन्ने होइन । दिगो, भरपर्दो र आत्मनिर्भर हुनका लागि आन्तरिक अर्थतन्त्र नै बलियो हुनु पर्छ ।



आन्तरिक अर्थतन्त्र बलियो बनाउनका लागि आन्तरिक उत्पादन वृद्धि गरेर निर्यात बढाउनु पर्छ । यस्तो गर्न सकियो भने मात्र अर्थतन्त्र चलायमान हुन सक्छ । अन्यथा अर्थतन्त्र सधैँ सङ्कटोन्मुख हुन्छ । नीति निर्माताहरूले नै आयातमुखी नीति बनाउँदै लगेका कारण परिणाम देश आयातमा निर्भर हुँदै गएको बताउँछन्, अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी । 

‘राज्यले आयातमुखी अर्थतन्त्र निर्माणमा भूमिका खेल्नुपर्नेमा आयातमुखी नीति बनाउँदा समस्या उत्पन्न भइरहेको छ,’ उनी भन्छन्, ‘आन्तरिक उत्पादन बढाउन सकियो भने स्वतः आयातमा कमी हुन जान्छ । नेपालको अर्थतन्त्रलाई बलियो पार्न कृषि, उर्जा र उद्योगको संरक्षण र प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्छ ।’

न्यून मात्रामा आयात गरिने र पर्याप्त मात्रामा उत्पादन र निर्यात गर्न सके मात्र आर्थिकरूपले देश बलियो बन्ने उनी बताउँछन् ।  ‘बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि देश सबै वस्तुमा आत्मनिर्भर हुन सक्दैन,’ अर्थशास्त्री अधिकारी स्पष्ट पार्छन्, ‘स्वदेशमा उत्पादन हुन नसक्ने कतिपय वस्तु छन् । नेपालको हकमा पेट्रोल, डिजेल जस्ता वस्तु अहिले नै उत्पादन सम्भव छैन । यस्ता वस्तु विदेशबाट आयात गर्नै पर्दछ । कुनै कुनै त्यस्ता वस्तु छन्, जुन नेपालले उत्पादन गरि निर्यात गरेर ठूलो विदेशी मुद्रा भित्र्याउन सक्छ । सरकारले त्यस्तो वस्तुको पहिचान गरेर उत्पादन र निर्यातमा ध्यान दिनुपर्छ ।’ 

देशको अर्थतन्त्र सुदृढ बनाउनु भनेको नै आन्तरिक उत्पादनमा वृद्धि गर्नु भएको उनी बताउँछन् । नेपालले कृषिबाट आर्थिक समृद्धि हासिल गर्न सक्ने अर्थशास्त्री अधिकारी बताउँछन् । ‘नेपाल कृषिप्रधान देश भए पनि कृषिमा आत्मनिर्भर हुन सकेको छैन,’ उनी भन्छन्, ‘खाद्यान्न, दाल, चामल, फलफूल, तरकारी, तेल जस्ता वस्तु हामी आयात गर्छौँ । कृषिप्रधान मुलुक भनिए पनि कृषि आयात प्रधान देश बन्न पुगेको छ । कृषि उत्पादनमा वृद्धि ल्याउन नसकिएकाले देशको अर्थतन्त्र आयातमा निर्भर हुँदै छ ।’

यस्तै, आन्तरिक उत्पादन बढाएर देशको अर्थतन्त्र धान्ने अर्को क्षेत्र भनेको औद्योगिक उत्पादन हो । अहिले औद्योगिक क्षेत्र पनि धर्मराएको अवस्था छ । सरकारले उद्योगहरूको पुनरउत्थानको वातावरण बनाउनु पर्ने अर्थशास्त्री अधिकारी बताउँछन् । यस्तै, उर्जा, पर्यटन क्षेत्रलाई पनि विशेष जोड दिनुपर्ने उनको सुझाव छ । 

आयातको असन्तुलित विस्तारले विदेशी मुद्रा सञ्चितिमा दबावमात्र पारेको छैन, मूल्यवृद्धि र व्यापार घाटालाई समेत तीव्र बनाएको छ । आत्मनिर्भर अर्थतन्त्रको सपना अझै पनि नारामा सीमित छ, व्यवहारमा परनिर्भरता झनझन् गहिरिँदै गएको छ । यो उल्टो यात्रा गम्भीर चिन्ताको विषय हो, किनभने विकासको मेरुदण्ड हुने उत्पादन र रोजगार सधैँ विदेशकै भर पर्नुपर्ने अवस्था दीर्घकालीनरूपमा कुनै पनि देशको लागि घातक हुन्छ ।

अब ढिला गर्ने समय छैन । नीति, लगानी र उत्पादन क्षमतामा आमूल सुधार गरेर नेपालले साँच्चिकै आत्मनिर्भर बन्ने बाटो समात्नुपर्छ । स्वदेशी उद्योगको संरक्षण, कृषिमा आधुनिकता, ऊर्जा र प्रविधिमा आत्मनिर्भरता, अनि समुचित आयात नियन्त्रणमार्फत मात्रै ‘सपनाको आत्मनिर्भर नेपाल’ वास्तविकतामा रुपान्तरण हुन सक्छ ।

  • प्रकाशित मिति : ८ असार, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया