३० पुस, २०८२ बुधबार
Jan. 14, 2026

फोर्दोमाथिको अमेरिकी आक्रमणले विश्व राजनीतिमा तरंग, इरानको जवाफ कस्तो आउला ?
फाइल तस्बिर

संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनामा गरेको हवाई आक्रमणले विश्व राजनीतिमा नयाँ तरंग ल्याएको छ । यस आक्रमणपछि दुई मुख्य प्रश्न उठिरहेका छन्– पहिलो आक्रमणले कति प्रभाव पारेको हो ? र दोस्रो इरान अब कुन बाटो अँगाल्न सक्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणपछि सार्वजनिकरूपमा यसलाई ‘पूर्णरूपमा सफल’ भन्दै इरानका मुख्य आणविक पूर्वाधार ‘सम्पूर्णरूपमा नष्ट’ गरिएको दाबी गरेक छन् । उनले यसलाई ‘उल्लेखनीय सैन्य उपलब्धि’ का रूपमा प्रस्तुत गरेका हुन् । तर, विज्ञहरू भने यस दाबीप्रति सावधानीपूर्ण दृष्टिकोण अपनाइरहेका छन् । उनीहरूले पूर्ण मूल्याङ्कन नहुञ्जेल निष्कर्षमा पुग्न नहुने सुझाव दिइरहेका छन् ।



प्रमुख केन्द्रलक्षित कारबाही

अमेरिकी रक्षा अधिकारीका अनुसार आक्रमण विशेषगरी तीन मुख्य आणविक केन्द्रहरूमा केन्द्रित थियो, जसमा भूमिगत प्रशोधन केन्द्र फोर्दो पनि पर्दछ । यो केन्द्र झण्डै ९० मिटर गहिराइमा अवस्थित छ र विगतमा संवर्धित युरेनियम प्रशोधनको प्रमुख स्थलको रूपमा चिनिँदै आएको छ ।



अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यस आक्रमणबाट इरानको आणविक कार्यक्रममा ‘गम्भीर क्षति पुगेको’ बताएका छन् । तर, उपग्रह चित्र तथा अन्य स्वतन्त्र स्रोतले यसको यथार्थ मूल्याङ्कन गर्न केही समय लाग्ने देखिएको छ ।

फ्रान्सस्थित अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाकी विज्ञ हेलेओइज फायेका अनुसार फोर्दो वरिपरि देखिएको गतिविधिले संवर्धित युरेनियम अन्यत्र सारिएको संकेत गर्न सक्छ । यसले अब अन्तर्राष्ट्रिय निरीक्षण संस्थाका लागि चुनौती उत्पन्न गर्नेछ ।

‘प्रविधि नष्ट हुँदैन, पूर्वाधार मात्र क्षतिग्रस्त हुन्छ’

धेरै विज्ञहरूले औंल्याएअनुसार, भौतिक संरचनाहरू नष्ट भए पनि इरानले दशकमै संचित गरेको प्राविधिक ज्ञान कायम रहनेछ । हजारौं वैज्ञानिक र प्राविधिक कर्मचारीका अनुभव र सीप सहजै समाप्त हुँदैनन् ।



लण्डनस्थित किङ्स कलेजका प्राध्यापक आन्द्रेयस क्रिगले यो कारबाहीलाई ‘उच्च जोखिमयुक्त र अनिश्चित परिणाम दिने’ बताएका छन् । उनका अनुसार फोर्दोजस्तो गहिरो भूमिगत केन्द्रमाथिको आक्रमणले तत्काल ठोस परिणाम दिन्छ भन्ने ठोकुवा गर्न सकिँदैन ।

तेहरानको प्रतिक्रिया : सावधानीपूर्वक तर सशक्त हुने सम्भावना

इरानको तर्फबाट तत्काल ठोस जवाफ नआए पनि परराष्ट्र मन्त्री अब्बास आरागचीले यस आक्रमणलाई ‘एक गम्भीर सीमारेखा पार गरेको’ भन्दै टिप्पणी गरेका छन् । भूराजनीतिक विश्लेषकहरूका अनुसार इरानले आफ्नो प्रतिक्रिया सावधानीपूर्वक तर स्पष्ट सन्देश दिने गरी प्रस्तुत गर्ने सम्भावना छ । यसले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो आवाज पु¥याउने प्रयास गर्नेछ, तर ठूलो सैन्य टकरावबाट बच्ने प्रयत्न पनि गर्न सक्छ ।

विश्लेषक माइकल होरोविट्जका अनुसार सम्भावित विकल्पहरूमा अमेरिकी सैन्य सम्पत्तिहरूमाथि सीमित कारबाही, होरमुजको जलडमरूका बन्द गर्ने वा खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गर्ने कदम हुन सक्छन् । तर, यी विकल्प सबै गम्भीर जोखिम बोकेका छन् ।

दीर्घकालीन समाधानतर्फ संकेत ?

च्याथम हाउसका अनुसन्धानकर्ता रेनाड मन्सूरले इरान अहिले ‘आफ्नो अस्तित्वको रक्षा गर्ने अवस्थामा’ रहेको बताउनुहुन्छ । उहाँका अनुसार अल्पकालीनरूपमा तनाव बढ्न सक्ने भए पनि दीर्घकालमा वार्ताको बाटो खुल्ने सम्भावना रहन्छ ।

अन्य विश्लेषकहरूले इरानले सायद अमेरिकी सम्पत्तिमाथि प्रत्यक्ष आक्रमण नगरी इजरायली स्वार्थलाई लक्ष्य गर्न सक्ने बताएका छन्, जसले अमेरिका सिधै युद्धमा तानिने जोखिमलाई कम गर्नेछ ।

राष्ट्रपति ट्रम्पले सैन्य दृष्टिले यसलाई सफलता मानेका छन् । तर, केही विश्लेषक भन्छन्– यदि इरानले दीर्घकालीन रणनीति अपनायो भने उसले कूटनीतिक र राजनीतिकरूपमा अमेरिकी प्रशासनलाई अप्ठ्यारोमा पार्न सक्छ ।

यस घटनाले न केवल इरान–अमेरिका सम्बन्धमा तनाव बढाएको छ, तर सम्पूर्ण क्षेत्रीय सुरक्षा सन्तुलनमा पनि नयाँ चुनौती थपेको छ । 

  • प्रकाशित मिति : ८ असार, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया