१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

एसियन कप छनोटमा नेपालका तीन प्रतिद्वन्द्वी : को कति बलियो ?

महिला एसियन कप २०२६ को छनोट प्रतियोगितामा नेपाल टिम उज्वेकिस्तानमा इतिहास रच्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्न लागेको छ । समूह ‘एफ’ मा रहेको नेपालले घरेलु टोली उज्वेकिस्तानसँगै दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंका र लाओससँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा खेलाइने छ, जहाँ समूहको विजेता मात्र आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपको टिकट पाउनेछ । पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय अनुभवले समृद्ध बनेको नेपाली महिला टोलीसामु उज्वेकिस्तानमा इतिहास रच्ने दुर्लभ मौका छ ।



समूह चरणमा नेपालले २९ जुनमा लाओस, २ जुलाईमा श्रीलंका तथा ५ जुलाईमा उज्वेकिस्तानको सामना गर्नेछ ।



नेपालका प्रतिद्वन्द्वी कति बलियो ?

उज्वेकिस्तान

समूह चरणमा नेपालको सर्वाधिक बलियो प्रतिद्वन्द्वी हो, उज्वेकिस्तान । फिफा वरियतामा नेपालभन्दा ४९ स्थानमाथि रहेको उज्वेकिस्तान समूह विजेताको प्रमुख दाबेदार हो ।

यद्यपि पछिल्लो समय उसले अपेक्षाकृत नतिजा निकाल्न सकेको छ । पछिल्लो डेढ वर्षको अवधिमा उज्वेकिस्तानले १४ म्याच खेल्दा सातमा हार, पाँचमा जित र दुई खेल बराबरमा टुंग्यायो । तीमध्ये उज्वेकिस्तानले दुई खेलमा वरीयतामा आफूभन्दा तल्लो स्थानमा रहेका बेलारुस र जाम्बियासँग पराजय बेहोरेको हो ।



यद्यपि उसले गत मे र जुनमा खेलिएको भारतविरुद्धको दुई खेलमा लगातार जित निकाल्दै लयमा फर्किएको संकेत देखाएको छ । अन्तर्राष्ट्रिय महिला फुटबलमा हालसम्म नेपाल र उज्वेकिस्तान एकपटक मात्र आमनेसामने भएका छन् । यी दुई टिमले पहिलोपटक सन् १९९९ मा फिलिपिन्समा आयोजित एएफसी च्याम्पियनसिपमा एकअर्काको सामना गरेका थिए ।

उक्त म्याचमा नै नेपालले पहिलो अन्तर्राष्ट्रिय गोल गरेको थियो । नेपाली महिला टिमका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान पेमा डोल्मा लामाको नाममा छ । उज्वेकिस्तानसँगको २६ वर्षअघिको त्यो भेटमा नेपाल ६–१ ले पराजित भयो । यसपटक नेपालसामु त्यो फराकिलो हारको बदला लिँदै इतिहास रच्ने मौका छ । 

श्रीलंका

एसियन कप छनोटमा नेपालको अर्को प्रतिस्पर्धी हो, श्रीलंका । उसलाई समूह ‘एफ’ मा सर्वाधिक कमजोर टिमको रूपमा हेरिएको छ । श्रीलंका पहिलोपटक एसियन कप छनोट खेल्न लागेको हो । उसले पछिल्लो एक वर्षमा जम्मा चारवटा मात्र अन्तर्राष्ट्रिय म्याच खेलेको छ ।

गत वर्ष काठमाडौंमा सम्पन्न सातौं साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले तीन खेल खेलेको थियो । माल्दिभ्सलाई १–० ले हराउँदै प्रतियोगिता सुरु गरेको श्रीलंकाले दोस्रो खेलमा भुटानसँग ४–१ को हार बेहोर्‍यो । समूह चरणको अन्तिम खेलमा श्रीलंकन टिम आयोजक नेपालसँग ६–० ले पराजित भयो ।

हालसम्म नेपाल र श्रीलंकाले सात खेलमा एकअर्काको सामना गरेको इतिहास छ, जसमा नेपालले शतप्रतिशत जित निकालेको छ । नेपाली टिम पनि यसपालि इतिहास दोहोर्याउँदै श्रीलंकाविरुद्ध सहज जित निकाल्ने लक्ष्यमा छ ।

लाओस

एसियन कप छनोटमा नेपालको अर्को प्रतिद्वन्द्वी हो, लाओस । फिफा वरियतामा नेपालभन्दा सात स्थानले तल रहेको लाओस नेपाली महिला फुटबल टोलीका लागि नयाँ प्रतिद्वन्द्वी हो । हालसम्म यी दुईबीच टिमबीच महिला फुटबलमा प्रतिस्पर्धा भएको छैन ।

लाओस महिला टोलीले सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । तीन वर्षअघि भारतमा एसियन कप छनोट खेल्दै महादेशीय मञ्चमा प्रवेश गरेको ऊ यसपटक उज्बेकिस्तानमा दोस्रोपटक उत्रिन लागेको हो ।

सन् २०२५ मा लाओसले एक खेल पनि खेलेको छैन । गत वर्ष चार खेल खेले पनि उसले जित निकाल्न सकेन । तर, कमजोर आँकडाले लाओसलाई नजरअन्दाज गर्न सकिँदैन ।

नेपाल र लाओस दुवै आफ्नो पहिलो भेटमा जित निकाल्दै इतिहास रच्ने योजनामा छन् ।

  • प्रकाशित मिति : ९ असार, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया