इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानका प्रमुख आणविक केन्द्रहरूमा अमेरिकाले आक्रमण गरेको ४८ घण्टापछि सोमबार प्रमुख सहयोगी भ्लादिमिर पुटिनसँग ‘महत्वपूर्ण’ भेटवार्ता गर्ने भएका छन् ।
मस्को तेहरानको एक महत्वपूर्ण समर्थक हो । तर, इजरायलले १३ जुनमा आक्रमणको श्रृङ्खला सुरु गरेदेखि मस्कोले देखिने गरी कुनै सहयोग वा यसका लागि आश्वासन दिएको देखिँदैन । तर, इरानमा भएका आक्रमणप्रति असहमति र आलोचना जनाउँदै आएको छ ।
रुसले इजरायली र अमेरिकी आक्रमणको निन्दा गरे पनि उसले सैन्य सहयोगको प्रस्ताव गरेको छैन र केही महिनाअघि तेहरानसँग भएको रणनीतिक साझेदारी सम्झौताअन्तर्गत आफ्नो दायित्वलाई बेवास्ता गरेको छ ।
‘यो नयाँ खतरनाक परिस्थितिमा रुससँग हाम्रो परामर्श निश्चित रूपमा ठूलो महत्वको हुन सक्छ,’ मस्कोमा अवतरण पछि रुसी सरकारी मिडियाले अराघचीलाई उद्धृत गर्दै भनेको छ ।
इरानविरुद्ध संयुक्त राज्य अमेरिका र यहुदी शासनको सैन्य आक्रमणपछि क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमका बारेमा अराघचीले रुसका राष्ट्रपति र अन्य वरिष्ठ अधिकारीहरूसँग परामर्श गर्ने इरानी सरकारी समाचार संस्था आइआरएनए (इरना) ले आइतबार जनाएको छ ।
पुटिनले सुरुमा आफूलाई इरान र इजरायलबीचको सम्भावित मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरेका थिए । तर, शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेमलिन नेताको भूमिकाको विरोध गरेपछि उनले ‘सुझावहरू दिइरहेको’ मात्र बताएका थिए ।
सेन्ट पिटर्सबर्गमा आयोजित एक आर्थिक मञ्चमा पुटिनले भने, ‘हामी कुनै पनि रूपमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न खोजिरहेका छैनौँ । यदि उनीहरू दुवै पक्षका लागि आकर्षक भए भने हामी खुसी मात्र हुनेछौँ ।’
रुसको विदेश मन्त्रालयले शनिबार अमेरिकी आक्रमणलाई ‘गैरजिम्मेवार’ भन्दै निन्दा गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।