पाकिस्तानले इरानमाथि बमबारी गरेकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निन्दा गरेको छ । भारतसँगको हालैको सङ्कट समाधान गरेकामा ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार भएको बताएको २४ घण्टाभन्दा कम समयमा पाकिस्तानको उक्त टिप्पणी आएको हो ।
अप्रिलमा भारत नियन्त्रित काश्मीरमा पर्यटकहरूको नरसंहारपछि दुई दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानबीचको सम्बन्धमा गिरावट आएको थियो ।
त्यसपछिका हप्ताहरूमा अमेरिकाको नेतृत्वमा गहन कूटनीतिक प्रयासहरूले युद्धविराम नल्याएसम्म आणविक–सशस्त्र यी दुई प्रतिद्वन्द्वी मुलुक युद्धको नजिक पुगे र एकअर्कामाथि आक्रमण गरे । युद्धविरामको श्रेय ट्रम्पले लिए ।
यही ‘निर्णायक कूटनीतिक हस्तक्षेप र महत्त्वपूर्ण नेतृत्व’ का लागि पाकिस्तानले शनिबार राति एक्स प्लेटफर्ममा उत्साहजनक सन्देशमा प्रशंसा गर्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्राप्त गर्नका लागि आफ्नो औपचारिक सिफारिसको घोषणा गर्यो ।
यद्यपि २४ घण्टाभन्दा पनि कम समयपछि पाकिस्तानले इरानमाथि आक्रमण गरेकामा अमेरिकाको निन्दा गर्दै उक्त आक्रमणले ‘अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को विधानको गम्भीर उल्लङ्घन गरेको’ बताएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आइतबार इरानी राष्ट्रपति मसुद पेजेस्कियनसँग फोनमा कुराकानी गर्दै बम विष्फोटले आइएइएको सुरक्षामा रहेका सुविधाहरूलाई लक्षित गरेकामा चिन्ता व्यक्त गरेका छन् ।
पाकिस्तानको इरानसँग घनिष्ठ सम्बन्ध छ र उसले आत्मरक्षाको अधिकार रहेको भन्दै इजरायलमाथि गरेको आक्रमणलाई समर्थन गर्दछ ।
सेनाका शक्तिशाली प्रमुख असिम मुनीर र ट्रम्पबीच उच्च प्रोफाइल ह्वाइट हाउस लञ्च बैठकपछि ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार भएको भनी आएको सिफारिसका बारेमा सोमबार इस्लामाबादबाट तत्काल कुनै टिप्पणी आएन ।
दुई घण्टाभन्दा बढी चलेको बिहीबारको बैठकमा विदेशमन्त्री मार्को रुबियो र मध्यपूर्व मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टिभ विटकफ पनि उपस्थित थिए ।
पाकिस्तानी सैन्य वक्तव्य अनुसार इरान र इजरायलबीचको विद्यमान तनावमा विस्तृत विचार आदानप्रदान भयो र दुवै नेताले द्वन्द्वको समाधानको महत्त्वमा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।