२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

अन्नपूर्णमा पर्यटक आगमनले स्थानीयवासी उत्साहित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा पर्यटकीय चहलपहल बढेको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय चहलपहल बढेको हो । 


नेपालको पर्वतारोहण इतिहासमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण  गरेका थिए । हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा समेत अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्ग गुमनाम भएपछि नारच्याङबासीहरुको अग्रसरतामा यो पदमार्गको पहिचान र प्रवर्द्धन अभियान थालिएको छ । 



अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले समेत पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनको लागि अभियान नै सञ्चालन गर्न थालेका छन् ।  हार्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको नेतृत्वमा यस पदमार्ग पहिचान गरिएको थियो । नारच्याङदेखि आधार शिविर जोड्ने यस पदमार्गलाई ‘मौरिस हर्जोग पदमार्ग’ नामकरण गरिएको छ ।

पदमार्गको पहिचान गरी पदमार्ग, आश्रय स्थल, टिसप, होटल लगायतका पूर्वाधार बनेर प्रचार प्रसार हुन थालेपछि अहिले यस पदमार्गमा पर्यटकको आगमन बढेको पदमार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताए । उनका अनुसार, गत वर्ष मात्रै अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकहरूले भ्रमण गरेका थिए । 



यस वर्ष समेत पर्यटकहरू आउने क्रम बढ्दो छ । हिमाल चढ्न आउने पर्यटकहरू विगतका वर्षमा सबैजसो हेलिकोप्टरबाट आधार शिविर पुग्ने गरेकोमा यस वर्षभने धेरै जसो पदमार्ग हुँदै आधार शिविर पुगेका थिए । अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्ग अन्तर्गत हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्च कुण्ड ताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएको छ । 

यहाँका होटलमा ४० देखि ८० जनासम्म सजिलै खाना र बास बस्न मिल्ने अस्थायी प्रकृतिको वासस्थान बनेपछि आन्तरिक पर्यटक धेरै आउन थालेका छन् । यही सिजनमा मात्र ६ हजार हाराहारी आन्तरिक पर्यटक आएका छन्। विगतका वर्षमा खाना र बस्नको लागि आफै बन्दोबस्तीको सामान बोकेर जानुपर्ने बाध्यता होटलहरू सञ्चालनमा आएसँगै हटेको सन्धीखर्कमा होटल सञ्चालन गरेका माइकल परियारले बताए । 

दुई दिनको यात्रामा पुग्न सकिने यस पदमार्ग अन्तरगत पोखरेबगरदेखि हुमखोला सम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग बनाइएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न भने सबैभन्दा सहज बनेपछि अहिले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढ्दो छ । 

पदमार्गको प्रवेश विन्दु नारच्याङ गाउँमा होमस्टेको सुविधा छ भने त्यहाँदेखि माथि हरेक २/२ घण्टामा होटलको सुविधा पुगेपछि पर्यटकहरूका लागि खाना र बसोबासको समस्या हटेको छ । पर्यटकहरूको समस्या र सास्ती घटाउन र स्थानीयवासी पर्यटन व्यवसाय मार्फत आयआर्जनमा जोडिने उद्देश्यले सामूहिक रूपमा लगानी गरेर टोल सञ्चालन गरिएको आधार शिविरमा पञ्च कुण्ड ताल परिसरमा होटल सञ्चालन गरेका अजित सेञ्चुरीले बताए । 



पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्न अभियान सार्थक बन्दै गएको  छ  ।  हिमालको खाकैमा रहेको विशाल पञ्च कुण्ड ताल, दर्जनौँ झरना र रमणीय हिमाली भू वनोट यस पदमार्गका मुख्य आकर्षण हुन् । पर्यटकीय सम्भावना भएर पनि ओझेलामा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रचार प्रसार, पूर्वाधार निर्माण र होटल सुविधाको कारण पछिल्लो समय यो क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ भने स्थानीयवासी उत्साहित बनेका छन् । 

  • प्रकाशित मिति : ९ असार, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया