७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

इरानमाथि अमेरिकी आक्रमण : ट्रम्पको ‘जुवा’ र जोखिम

अमेरिकाले इरानस्थित परमाणु केन्द्रलक्षित आक्रमण गरेलगत्तै शक्ति राष्ट्रबीचको राजनीतिक सन्तुलन, क्षेत्रीय सुरक्षा र आर्थिक पक्ष तनावग्रस्त छ । इजरायलले इरानी परमाणु केन्द्रमा जारी राखेको मिसाइल आक्रमण निष्प्रभावी भएको मौकामा अमेरिकाले इरानमाथि एकाएक आक्रमण गरेको हो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान-इजरायलको द्वन्द्वमा अमेरिकाको संलग्नता नरहेको र द्वन्द्वरत देशहरूलाई भारत–पाकिस्तानबीच युद्धविरुद्ध गराएजस्तै तत्काल समाधान गरिदिने घोषणा गरेका थिए । इरान–इजरायलबीचको द्वन्द्व सुल्झाए पनि त्यसको जस आफूले नपाउने तर विश्व शान्तिका  लागि काम सम्पन्न गरेर देखाउने दाबी ट्रम्पको थियो । तर, द्वन्द्वरत देशको समस्या सुल्झाउनेभन्दा झनै जटिल बनाउन अग्रसर भए । इरानी परमाणु केन्द्र ध्वस्त पार्न अमेरिकाले शक्तिशाली मिसाइल आक्रमण गर्‍यो । यसलगत्तै उनको बोली फेरियो, पहिला शक्ति त्यसपछि शान्ति ।



दोस्रोपटक सत्तामा पुग्नासाथ विश्वमा शान्ति कायम गर्न आफू दृढ रहेको कुरा बारम्बार दोहोर्याए । रुस–युक्रेन युद्धबाट व्यापारिक स्वार्थमा प्रयोग गर्ने  चाल होस् वा विश्वभर करको दायरा बढाएर अर्थराजनीतिमा प्रभुत्व जमाउने नियत । दुवैमा सफल हुन सकेका छैनन् । विश्वको ध्यान अन्यत्र मोड्न ट्रम्पले इरानलाई परमाणु हतियार नबनाउने सर्तमा मान्नेमा इरानमाथि लगाइँदै आएको आर्थिक नाकाबन्दी केही खुकुलो पार्न सकिने र तत्काल वार्तामा नबस्नेमा कुनै पनि किसिमको कारबाही भोग्न तयार रहन पत्र पठाए । 

इरानी सर्वोच्च नेता खोमेनीले अमेरिकी धम्कीका अगाडि नझुक्ने जवाफ दिए । इरानको जवाफबाट क्रुद्ध बनेका ट्रम्पले इरानमाथि इजरायली हमला गराउने रणनीति अपनाए । पछिल्ला परिघटनाको पृष्ठभूमि हुन् । इरान-इजरायलबीचको द्वन्द्व इरानमा अमेरिकी आक्रमणले युद्धमा परिणत गरिसकेको इरानले घोषणा गरिसक्यो ।



इरानको परमाणु केन्द्रमाथि अमेरिकाले गरेको आक्रमणपछि तेहरानले कडा प्रतिक्रिया दिएको छ । इरानी नेतृत्वले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई 'युद्धको जुवाडे'को संज्ञा दिँदै यस्ता उत्तेजक कारबाहीले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको छ ।

इरानले अमेरिकालाई यस कदमको महँगो मूल्य चुकाउनुपर्ने बताएको छ । उसका अनुसार मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरू, दूतावासहरू र रणनीतिक संरचनाहरू इरानको सम्भावित जवाफी कारबाहीको निशानामा पर्न सक्छन् । अमेरिका र इरानबीच पहिले देखिनै तनावपूर्ण रहँदै आएको सम्बन्ध पछिल्लो घटनाले झनै चर्किने देखिन्छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी निर्देशक राफेल ग्रोसीले अमेरिकाले इरानस्थित फोर्डो भूमिगत परमाणु केन्द्रमा गरेको कारबाहीको क्षति मूल्यांकन गर्न सम्भव नभएको जानकारी गराएका थिए । निर्देशक ग्रोसीले आणविक सुविधाहरूमा सशस्त्र आक्रमणले कुनै देशको सीमा भित्र र बाहिर गम्भीर परिणामसहित रेडियोधर्मी रिलिज हुन सक्ने खतरा रहेको बताएका छन् ।   

इरानले इजरायलमाथि लगातार मिसाइल आक्रमण जारी राखेको छ भने इजरायलले त्यसलाई निष्क्रिय पार्नेक्रम तीव्र छ । इजरायलले इरानी हतियार उत्पादन केन्द्रलक्षित आक्रमण बढाएको छ । अर्कोतर्फ अमेरिकाले इरानका तीन आणविक केन्द्रमा गरेको आक्रमणको बदलामा इरानको संसदले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव पारित गरेको छ । यसले विश्व तेल बजारमा असामान्य वृद्धि हुनेछ । यो जलमार्ग प्रयोग गरेर इरानले प्रति महिना साढे तीन अर्ब डलरभन्दा धेरैको तेल निर्यात गर्छ ।



जलमार्ग बन्द गरियो भने भाउ बढ्दै गयो भने त्यसले अमेरिकी र संसारकै मुख्य अर्थतन्त्रमा आर्थिक शिथिलता ल्याउन सक्छ । संसारको सबैभन्दा शक्तिशाली अर्थतन्त्र अमेरिकाले त्यसो होस् भन्ने चाहँदैन । यसैले अमेरिकाले  हर्मुज जलमार्ग बन्द नगराउन इरानको सबैभन्दा हितैषी राष्ट्र चीनसँग हारगुहार गरिरहेको छ ।

यसैबीच इरानको आणविक केन्द्रमा अमेरिकी आक्रमणका बारेमा छलफल गर्न बसेको संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकले तीनवटै देशलाई संयम रहन र वार्तामा बस्न आग्रह गरेको छ । रुस, चीन र पाकिस्तानले मध्य पूर्वमा तत्काल र बिना सर्त युद्धविरामको लागि आह्वान गर्ने १५ सदस्यीय निकायले प्रस्ताव पारित गरेको छ । बैठकले त्रिपक्षीय आक्रमण प्रत्याक्रमण तत्काल रोक्न आग्रह गरेको छ ।  

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी निर्देशक राफेल ग्रोसीले अमेरिकाले इरानस्थित फोर्डो भूमिगत परमाणु केन्द्रमा गरेको कारबाहीको क्षति मूल्यांकन गर्न सम्भव नभएको जानकारी गराएका थिए । निर्देशक ग्रोसीले आणविक सुविधाहरूमा सशस्त्र आक्रमणले कुनै देशको सीमा भित्र र बाहिर गम्भीर परिणामसहित रेडियोधर्मी रिलिज हुन सक्ने खतरा रहेको बताएका छन् ।   

इरान–अमेरिका आणविक वार्तामा मध्यस्थता गरिरहेका संयुक्त अरब इमिरेट्स, कतार र ओमानले अमेरिकी आक्रमणको आलोचना गर्दै तनाव कम गर्न आह्वान गरेका छन् । फ्रान्स, जर्मनी र बेलायतले तेहरानलाई क्षेत्रलाई अस्थिर बनाउन सक्ने कुनै पनि थप कार्य नगर्न अपील गरेका छन् । आफ्नै आणविक हतियारको बारेमा वासिङ्टनसँग पनि असहमत रहेको उत्तर कोरियाले अमेरिकी आक्रमणको निन्दा गरेको छ ।  

  • प्रकाशित मिति : ९ असार, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया