२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

इजरायलद्वारा तेहरानमा शक्तिशाली आक्रमण : इरानी सुरक्षा निकाय र इभिन जेल निशानामा
फाइल तस्बिर

इजरायलले सोमबार इरानको राजधानी तेहरानमा स्थित इरानी सेनाको संरचना र प्रसिद्ध इभिन जेलमाथि हवाई प्रहार गरेको छ । 

इजरायलका अनुसार यो आक्रमण हालसम्मकै सबैभन्दा शक्तिशाली रहेको बताइएको छ । युद्धको ११औँ दिनमा इजरायलले तीव्र बलप्रयोगका साथ इरानी ‘शासनका लक्षित संरचना’ हरूमा कारबाही गरेको जानकारी दिएको छ । 



इजरायली रक्षा मन्त्री इस्राएल कात्जले उक्त कारबाहीलाई ‘अभूतपूर्व बल प्रयोगसहित शासनको नियन्त्रण संरचनामाथिको प्रहार’ भनी वर्णन गरे । उनका अनुसार आक्रमणका लक्ष्यहरूमा इभिन जेल, घरेलु बासिज मिलिसियाको कमान्ड केन्द्र र इरानी सेनाको संरचना समावेश थिए । इभिन जेल राजनीतिक बन्दी र शासन विरोधीलाई राख्ने ठाउँका रूपमा चिनिन्छ ।

इजरायली सेनाले एक वक्तव्यमार्फत आक्रमणको उद्देश्य ती संरचना निस्तेज पार्नु रहेको जनाएको छ, जुन इरानमा आन्तरिक सुरक्षाको निगरानी तथा शासनको स्थायित्व सुनिश्चित गर्ने काममा संलग्न थिए । साथै, तेहरान दक्षिणतर्फको पर्वतीय क्षेत्रमा अवस्थित महत्वपूर्ण फोर्डो युरेनियम समृद्धिकरण केन्द्र पनि निशानामा परेको थियो ।



इजरायली सेनाले भने अनुसार फोर्डो केन्द्रको ‘पहुँच मार्गलाई अवरुद्ध गर्न’ सोमबार आक्रमण गरिएको हो । उक्त स्थानमा अघिल्लो दिन संयुक्त राज्य अमेरिकाले ‘बंकर बस्टर’ बम प्रयोग गरी आक्रमण गरिसकेको थियो । अमेरिका तथा इजरायलले इरानको आणविक कार्यक्रमलाई सम्भावित खतराको रूपमा लिएका छन् ।

इरानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट अहिलेसम्म ४ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उता इरानका आक्रमणहरूले इजरायलमा २४ जनाको ज्यान गएको पुष्टि गरिएको छ ।

तेहरानमा आक्रमणपछि विद्युत् आपूर्ति प्रणालीमा असर परेको र केही समयका लागि विद्युत् अवरोध भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । उता इजरायलको राष्ट्रिय विद्युत् कम्पनीले पनि देशको दक्षिणी भागमा रहेको ‘रणनीतिक संरचना’ नजिक क्षति पुगेको जनाएको छ, यद्यपि स्थान र कारण खुलाइएको छैन ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो दिन इरानी आणविक संरचनामाथि गरिएको अमेरिकी आक्रमणले ‘पूर्णरूपमा नष्ट’ गरेको दाबी गरे । यद्यपि केही अधिकारीहरूका अनुसार त्यसको वास्तविक असर मूल्यांकन गर्न अझै समय लाग्नेछ ।



संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठकमा बोल्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले फोर्डो स्थलमा क्षतिको देखिने प्रमाण भए पनि भूमिगत क्षति मूल्याङ्कन गर्न सकिएको छैन बताए । उनले आणविक संरचनामाथिको हतियारयुक्त आक्रमण कुनै पनि अवस्थामा हुनु नहुने कुरामा जोड दिए ।  

  • प्रकाशित मिति : ९ असार, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया